© २०२३
चन्द्रौटा (कपिलवस्तु), १८ साउन ।
“हामीले गाउँमा जाने बाटो नदीले काटी सकेको छ । जोतभोग गर्दै आएको हजारौँ बिगहा जमिन समेत नदीले बगाएको छ । हामी गाउँबासी असुरक्षित भएका छौँ । कुन दिन गाउँमा नदीको बाढी पसेर गाउँ नै बगाउने हो भन्ने त्रासले राम–राम भन्दै बस्न परेको छ ।” स्थानीय बब्बु भरले भने ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–३ रामनगर डिहवा गाउँका बासिन्दा नदी कटानको उच्च जोखिममा परेका छन् । वर्षायाममा सुरही नदीमा आएको बाढीले वर्षेनी नदी कटानले उनीहरू जोेखिममा पर्दै गएका छन् । सुरही नदीको बाढीले गाउँमा जाने बाटोसमेत बगाएपछि रामनगर डिहवाबासी त्रसित भएका छन् । नदीमा आएको अत्याधिक बाढीले गाउँमा समेत पस्ने गरेपछि असुरक्षित भएको गाउँका स्थानीय बताउँछन् । १५ घर नदी कटानको उच्च जोखिममा रहेका छन् ।
नदीको मूलधारको पानीले गाउँतर्फ कटान गर्दै बग्न थालेपछि वर्षातको समयमा आवतजावतमा समस्या सिर्जना भएको बताए । तत्कालै नदी किनारमा तटबन्ध निर्माण नभए गाउँमै नदीको बाढी पस्ने उच्च जोखिममा रहेको उनको भनाई छ । यस्तै कबुत्रा केवटले नदीमा बाढी आउँदा जहिल्यै पनि गाउँमा बाढी पसेको भन्दै दुख पोखिन । गाउँ नै जोखिममा परेपछि जीउधनको जोखिम बढेको बताउँदै उनले सबैलाई बाढीको डर, त्रास रहेको बताउँछिन् । जोखिम नियन्त्रण गर्नका लागि सम्बन्धित निकाय र सरोकारवालालाई यस बिषयमा ध्यान पु¥याउन उनले आग्रह समेत गरिन् ।
बर्षातको बेला नदीको बाढीले निरन्तर किनार कटान गर्दै आएको सरेश पासवानले बताए । उनका अनुसार अब गाउँसम्म नदीले कटान हुन करिब एक सय पचास मिटर मात्र बाँकी रहेको छ । बर्षेनी निरन्तर सुरही नदीमा आउने बाढीले १० हजार बिगहा जमिन भन्दा बढी कटान गरिसकेको छ । जसमा स्थानीयले आठ नम्बरी २ हजार बिगहा जति जग्गा जोतभोग गरेका खेतीयोग्य जमिनसमेत कटान भएको छ । नदीले ४ सय मिटरको क्षेत्रमा कटान गर्दै गाउँतिर पस्दै आई रहेको छ ।
यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष हृदय विकास चौधरीले अहिले नदीले बाटो काटेपछि झन् गाउँबासी नै समस्यामा परेको बताए । नदी कटानको जोखिममा परेका गाउँसबासीहरू अति गरिब भएकोले अन्यन्त्र गएर घर बनाउन सक्ने अवस्था समेत नरहेको उनले जनाए । समयमै उनीहरूको सुरक्षाका लागि तत्कालै तटबन्धको आवश्यकता देखिएको वडाध्यक्ष चौधरीले बताए ।
यता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पालिकाभित्र हुने बाढी, नदी कटानको उच्च जोखिममा रहेको क्षेत्रको अवलोकन गरि प्रदेश, संघ सरकारसँग बजेट माग गरेको बताए । तटबन्ध निर्माणका लागि करोडौको बजेट आवश्यक पर्ने बताउँदै उच्च जोखिममा रहेका क्षेत्रको नियन्त्रणका लागि पालिकाको प्रयास निरन्तर जारी रहेको उनले बताए । पालिकाको सिमित स्रोतले तटबन्ध निर्माणका लागि बजेट नपुग्ने भएकोले पटकपटक प्रदेश र केन्द्र सरकारसँग पहल गर्दै आएको उनको भनाई छ ।