© २०२३
दाङ, १३ साउन । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले ५९ औँ रक्त संचार सेवा स्थापना दिवस मनाईएको छ । कार्यक्रमको उद्घाटन गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले रक्त सञ्चार केन्द्रले खेल्दै आएको भुमिकाका कारण अहिले हजारौँ बिरामीले नयाँ जीवन पाएको बताए । रगतका कारण अकालमा जानबाट जोगाउन रक्त सञ्चार केन्द्रको स्वास्थ्य क्षेत्रमा खेल्दै आएको भुमिका महत्वपूर्ण रहेको बताए । ‘रगत आवश्यक पर्ने धेरै बिरामीको स्वास्थ्य उपचार पनि सहज भएको छ ।’—उनले भने ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले नगरबासीलाई निशुल्क रगतको ब्यवस्था गरिएको बताईन । रक्त सञ्चार केन्द्रसँग समन्वय गरेर नगरमा बसोबासी बिरामीलाई निशुल्क रगत आपूर्तिबाट लाभ लिईरहेको भन्दै आगामी दिनमा थप स्वस्थ्य क्षेत्रमा रचनात्मक काम गर्ने प्रतिवद्धता जनाईन ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका निवर्तमान सभापति नारायण आचार्य, ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरी, वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामप्रसाद पाण्डे, नागरिक समाजका हरिप्रसाद पाण्डेयले नागरिकको जीउज्यानको सुरक्षामा रेडक्रसको परोपकारी काम गर्दै आएको भन्दै यसलाई थप परिस्कृत गर्दै जानुपर्ने सुझाव दिए ।
२०५९ सालमा तत्कालिन महेन्द्र अस्पतालको हाताभित्र नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले अस्पताल विकास समिति, नगरपालिका, जिल्ला विकास समिति, स्थानीय संघसंस्था, स्थानीय व्यक्ति, रक्तदाताहरुको सहयोगमा घोराहीमा रक्तसंचार सेवा केन्द्र संचालन गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले हाल आएर लमही र तुलसीपुरबाट पनि रक्तसंचार सेवा विस्तार गरि सेवा दिइरहेको शाखा सभापति मदन गौतमले बताए । हाल दाङ शाखाले ३ वटा रक्तसंचार सेवा केन्द्र स्थापना गरि सेवा दिइरहेको छ । आफ्नै भवनबाट नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले रक्तसंचार सेवा संचालन गरि सेवा दिदै आइरहेको संस्थाले जनाएको छ । जहाँ विपद त्यहाँ रेडक्रस भन्ने नारालाई वास्तवमै सही रुपमा कार्यान्वयन गर्दै आएको उनले दाबी गरे ।
दाङ जिल्ला भरि पछिल्लो एक वर्षमा करिव ५ हजार ७५१ यूनिट रगत संकलन भएको र करिव ६ हजार २९ यूनिट रगत खपत भएको तथ्यांक छ । संकलन भएको रगत मध्ये करिव ९२ प्रतिशत स्वयंसेवी रक्तदाताहरुबाट संकलन भएको र ८ प्रतिशत सोध भर्नाबाट खपत भएको बताईएको छ । रगत दिने दाताहरु ७८ प्रतिशत पुरुष र २२ प्रतिशत महिला रहेका रक्त सञ्चार केन्द्र दाङका प्रमुख दीलिप न्यौपानेले बताए । पछिल्लो एक वर्षमा मात्रै रगत लिने महिला ३ हजार ७ सय ७७ यूनिट रहेका छन भने पुरुषको २ हजार २ सय ५२ यूनिट रहेको उनले बताए ।