Butwal Today

असार लागेपछि ह्वात्तै बढ्यो कर्णाली सरकारको खर्च

२१ असार २०८१, शुक्रबार
अ+
अ-

सुर्खेत, २१ असार ।

अघिल्ला वर्षहरुमा झै यसवर्ष पनि कर्णालीमा असार लागेसँगै ह्वात्तै खर्च बढेको छ । जेठ महिनासम्म सुस्त गतिमा रहेको खर्च असार लागेपछि भने बढेको देखिन्छ । आर्थिक वर्षको अन्तिम महिना असारमा बजेट खर्च गर्ने प्रवृत्ति भने पुरानै हो ।

जेठ महिनासम्म बजेट खर्चमा ध्यान नदिएको सरकारले असार लागेसँगै भुक्तानीलाई तीव्रता दिएको छ । सरकारले असारमा मात्र करिब तीन अर्ब रकम भुक्तानी गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार असार महिनामा मात्र तीन अर्ब बढी रुपैयाँ खर्च भएको छ । जेठसम्म सरकारले मुस्किलले मासिक ३–४ प्रतिशतसम्म मात्रै बजेट खर्च गर्ने गरेको थियो । जेठ मसान्त सम्म सरकारले १२ अर्ब ६६ करोड ४२ लाख ४२ हजार ५७४.८१ रुपैयाँ खर्च गरेको थियो । सरकारले चालु आर्थिक वर्षको लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको वार्षिक बजेट ल्याएको थियो । हाल सम्म कुल बजेटको ४८.११ प्रतिशत अर्थात् १६ अर्ब ७ करोड तीनलाख ८६ हजार रुपैयाँ खर्च भएको छ ।

जसमध्ये पुँजीगत तर्फ ३७.८७ प्रतिशत अर्थात सात अर्ब ६० करोड ३७ लाख २२ हजार र चालुतर्फ ६१.१९ प्रतिशत अर्थात आठ अर्ब ४६ करोड ६६ लाख ६३ हजार रुपियाँ खर्च भएको छ ।

प्रदेश सरकारको खातामा अझै १७ अर्ब बढी रुपैयाँ मौज्दात छ । लेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी ललित थापाका अनुसार यो वर्ष बढीमा ५५ प्रतिशत सम्म बजेट कार्यान्वयन जाने अनुमान छ । गएको आर्थिक वर्षमा भन्दा पनि कम बजेट कार्यान्वयन हुने अनुमान गरिएको छ ।

बजेट कार्यान्वयन नहुनुको मुख्य कारण पटक पटक सरकार परिवर्तन भैरहनु हो । त्यसैगरी टुक्रे योजना कार्यान्वयन नहुनु पनि रहेको देखिन्छ । ‘बजेट कार्यान्वयन कम मात्र हुनु यो देशभरीकै समस्या नै देखिएको छ । यहाँको सन्दर्भमा १५ लाख मुनिका टुक्रे योजना कार्यान्वयन नहुनु हो’ सूचना अधिकारी थापाले भने, ‘बढी कार्यान्वयन हुने भनेको टुक्रे योजनाहरु हुन् त्यही नै कार्यान्वयन हुन नपाएपछि विगतका वर्षहरुमा भन्दा खर्चमा कमी देखिएको छ ।’ यस वर्ष पाँच सय ७४ वटा टुक्रे योजना कार्यान्वयनमा गएनन् ।