© २०२३
नेपालमा उद्यम, व्यवसायमा भविष्य छैन भन्दै शिक्षित युवाले विदेश नै ताक्ने प्रवृत्तिका माझ स्नातक गरेका मोहनले भने स्वदेशमै परम्परागत हजाम पेशालाई आधुनिक तरिकाले व्यवसायिक सैलुनमा बदलेर स्वदेशमै केही नयां गर्न सकिन्छ भन्ने प्रमाणित गरी उदाहरणीय उद्यमी बनेका छन् । सैलुनका ५ वटा शाखा र तालिम दिने एकेडेमीमा गरी समृद्धिमा ५० जना भन्दा बढी युवा युवतीले रोजगारी पाएका छन् ।
बुटवल, १३ जेठ । रुपन्देहीको देवदहमा निम्न वर्गीय परिवारमा जन्मिएका मोहन ठाकुर (३६) को पुख्र्यौली पेशा ‘बालीघरे हजाम’ हो । अर्थात मोहनका हजुरबा गोली ठाकुर र बुबा रामविनोद गाउंमा स्थानीयको घर–घर पुगेर दाह्री र कपाल काटिदिने र वर्षभरिको ज्याला वापत एकमुष्ट अन्नबाली लिएर परिवारको गुजारा गर्थे ।
मोहन पनि सानैदेखि बुबा रामविनोदसंग घर घरमा पुगेर स्थानीयको दाह्री,कपाल काट्ने काम गरेर बुबालाई सघाउंथे । पछि देवदहको शितलनगरचोकमा मोहनका बुबाले पहिलोपटक टंकी (काठको सानो घर) मा पसल खोले । त्यहां पनि मोहनले बुबासंगै ग्राहकको दाह्री,कपाल काट्न थाले । यो क्रम मोहनले १२ कक्षा उत्तिर्ण गर्दासम्म चल्यो ।
दिउंसो बुटवलको अक्सफोर्ड कलेजमा पढ्न जाने मोहनले बिहान र सांझ टंकीमै बसेर काम गर्थे । बुबा रामविनोदले मोहनलाई आफू बालिघरे हजाम पेशा गर्दा हेपिनुपरेको र गुजारा भन्दा बढी कमाई नहुने भएकाले अरु नै पेशा वा सरकारी जागिर खानुपर्छ, हजाम पेशाबाट भविष्य छैन, गर्न हुन्न भनेर बारम्बार सम्झाउंथे ।
मोहन बुटवल वहुमुखी क्याम्पसमा मानविकी संकायमा स्नातक तह पढ्न थाले । पढाईसंगै उनले एउटा गैर सरकारी संस्थामा स्वास्थ्य सम्बन्धी परियोजना सहायक भएर काम गर्न थाले । बीए पास गरेपछि मोहनले अर्को अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा झण्डै २ वर्षभन्दा बढी काम गरे । उनले काम गरेका संस्थाको कार्यक्रम सिपलाई रोजगारसँग जोड्ने खालका थिए । काम गर्दै जाँदा मोहनले परम्परागत सिपलाई रुपान्तरण गरेर नयाँपनका साथ फरकढंगले काम गरेमा सफल हुन सकिने आत्मविश्वास र अनुभव संगाले ।
जागिरका क्रममा मोहनको मनमा एउटा प्रश्न सधैं खड्किरह्यो–बुबाले हजाम पेशा गरेरै आफूलाई बीएसम्म पढाउनुभयो, राम्रै जागिर खानेसम्म बनाउनुभयो भने बुबाले गर्दै आएको पुख्र्यौली पेशालाई अपग्रेड गरेर आधुनिक किन नबनाउने ? किनकी मोहनले विदेशमा सैलुन व्यवसायबाट धेरै राम्रो आम्दानी हुने जानकारी राखेका थिए । विदेशमा हुन्छ भने नेपालमा किन नहुने भन्ने निचोडमा मोहन पुगे र अधिकृत स्तरको जागिर छाडे ।
सैलुन व्यवसाय गर्ने निर्णय गरी जागिर छाडेको कुरा घरमा जानकारी गराएपछि बुबा रामविनोद लगायत परिवारका सबैजसो मोहनसंग रुष्ट भए । केही समय बोलचाल नै बन्द भयो । ‘कपाल काट्ने काम नै गर्नु नै थियो भने किन बीएसम्म पढ्ेको ? कसले यसरी मति भ्रष्ट बनायो भन्दै बुबा बेस्सरी रिसाउनुभयो’–मोहनले विगत सम्झिंदै भने–‘व्यवसाय शुरु गर्न बुबाको नाममा रहेको जग्गा धितो राखेर बैंकबाट कर्जा लिनुपर्ला भन्ने सोंचेको थिएं त्यो पनि दिनुभएन,घरबाट केही सहयोग भएन ।’
मोहन भने बुटवलको राम्रो ठाउंमा अरुको भन्दा फरक र स्तरीय सैलुन खोलेरै छाड्ने तयारीमै रहे । आधुनिक सैलुनका लागि गुगल सर्च गर्नेदेखि काठमाडौं, दिल्ली हुँदै बैंककसम्म पुगेर हेयर स्टाइलका विभिन्न एड्भान्स कोर्स गरेर आफै पूर्ण दक्ष बने ।
घरबाट पैसा र साथ नपाए पनि साथीभाइसंग सापट मागेर २०७३ सालमा बुटवल अमरपथको सिंह कम्प्लेक्समा ३६५ वर्गफुट क्षेत्रफल भाडामा लिएर १० लाख लगानीमा सैलुन सञ्चालन गरे ।
मोहनले त्यो बेलाको चर्चित ब्राण्ड नील डेभिडको फ्रेन्चाइजी लिएर २ जना कर्मचारी र आफू समेत तीन जनाले युनिसेक्स सैलुन चलाए । त्यो बेला बुटवल र आसपासका क्षेत्रमा वातानुकूलित (एसी) कोठामा आधुनिक र सुविधासम्पन्न अनि एकैथलोमा पुरुष र महिलाको कपाल काट्ने सैलुन खुलेका थिएनन् ।
सानो टिनको बाकसमा कैंची र ब्लेड बोकेर ढुंगा वा काठको मुढामा बसेर दाह्री कपाल काट्ने गरेका हजुरबा र बुबाको पुस्ताबाट मोहनले पेशा परिमार्जित र व्यावसायिक बनाउंदै सैलुन शुरु गरेपछि एकाएक चर्चामा आयो ।
नयाँ पुस्ताले नयाँपन खोज्दै जाँदा सैलुनलाई मोहनले सुविधासम्पन्न बनाए । यद्यपि धेरैले दर रेट पनि महंगो, घर भाडा पनि महंगो भएकाले चलाउन सक्दैन र छिटै बन्द हुन्छ पनि नभनेका होइनन् । बुटवलमा अरु सामान्य सैलुनमा कपाल काटेको एक सय पचास रुपैयां दर हुंदा मोहनको सैलुनले न्युनतम ३ सय रुपैयां अर्थात दोब्बर बढी दर रेट राखेको थियो ।
तर गुणस्तरीय सेवा, ग्राहकको सन्तुष्टीलाई उच्च प्राथमिकता दिएर फरकपन दिएकाले ग्राहकले महंगो मानेनन् । सैलुनमा ग्राहकको आकर्षण बढ्दै गयो । युवा पुस्ताले गुणस्तर र नयांपन खोज्ने भएकाले आफुले त्यो चाहना पूरा गरिदिएको उनी बताउंछन् ।
‘वातानुकुलित कोठामा आरामदायी कुर्सीमा बसेर कपाल काट्न पाइने, व्यक्तित्व सुहाउंदो हेयर स्टाइलको परामर्श, औजारहरुको निर्मलीकरण, कपाल काटेपछि टाउको नुहाउन मिल्ने ठाउंको व्यवस्था, सरसफाई, हाइजिन जस्ता सुविधाले गर्दा शुरुको दिनदेखि नै पछाडि फर्केर हेर्नुपरेन’–मोहनले भने–‘६ महिनापछि महिलाको हेयर ट्रिटमेन्ट, कलरिङ, स्ट्रेटनिङ, फेसियल जस्ता सुविधा थपेपछि सैलुनप्रति बुटवल बाहिरबाट पनि ग्राहक थपिदै गए ।’
अन्य सैलुनमा कपाल काट्न गएपछि नुहाउने व्यवस्थाको अभावमा घर फर्केर नुहाएर मात्र अफिस वा आफ्नो काममा जानुपर्ने वाध्यता भएका बेला मोहनको सैलुनमा भने कपाल काटेपछि टाउको नुहाउन स्तरीय साबुन र सफा टावेल सहितको व्यवस्था भएपछि व्यस्त र कामकाजी मान्छेहरु सैलुनबाट सिधै काममा जान मिल्ने भएकाले पनि ग्राहकको रोजाई बन्न थालेको मोहनले बताए ।
बुटवल मात्र नभई भैरहवा, कपिलवस्तु, नवलपरासी,दाङ,नेपालगन्ज,धरानसम्मबाट ग्राहक आउन थालेपछि सैलुनलाई ठाउं अपुग भयो । दुई पटक सम्म ठाउं थपेर अहिले उनको सैलुन २२ सय स्क्वायर फुटमा फैलिएको छ । तीन वर्ष पछि मोहनले नील डेभिडको फ्रेन्चाइजीलाई छाडेर आफ्नै ब्राण्ड ‘समृद्धि हेयर ड्रेसिङ सैलुन’ बनाए ।
ग्राहकको रुचि र चाहना अनुसार सेवाहरु थप्दै अघि बढेका मोहनले २०७८ यता दुई वर्षको अवधिमा तिलोत्तमाको मणिग्राम, नवलपरासीको बर्दघाट, पोखरा, कपिलवस्तुको जितपुरमा गरी समृद्धिको शाखा पांचवटा पु¥याउन सफल भए ।
कपाल काट्ने तालिम दिने एकेडेमी
छोटो समयमै नयाँ ब्रान्डको रुपमा पस्केर विभिन्न जिल्लामा चेन व्यवसायको रुपमा विस्तार गर्दै अघि बढेका मोहनले गतवर्षको चैतबाट कपाल र सौन्दर्यसंग सम्बन्धित तालिमहरु दिने एकेडेमी पनि सञ्चालनमा ल्याए ।
हालसम्म सैलुन र एकेडेमीमा गरी साढे २ करोड बढी लगानी भएको मोहनले बताए । एकेडेमीमा हेयर केमिकल, स्किन, नेल, मेकअप, हाइड्रा फेसियल आदि विषयमा १५ दिनदेखि ६ महिनासम्मका तालिम सञ्चालन हुने ठाकुरले बताए ।
तालिम लिन आउनेमा महिला र पुरुष दुबैको उत्तिकै आकर्षण छ । मोहनको एकेडेमीमा तालिम लिएकाहरु बेलायत,क्यानाडा,जर्मनी लगायत थुप्रै देशमा राम्रो रोजगारी पाउन सफल भैसकेका मोहन बताउंछन् ।
सैलुनका ५ वटा शाखा र तालिम दिने एकेडेमीमा गरी समृद्धिमा ५० जना भन्दा बढी युवा युवतीले रोजगारी पाएका छन् ।
सैलुनमा काठमाडौं, धरान, विराटनगर, पोखराबाट जहाज चढेर समेत ग्राहकहरु सेवा लिन आउने गरेको मोहन बताउंछन् । ‘एक वर्षमा सरदर १३ हजार ग्राहक सेवा लिन आउने गरेकामा ८० प्रतिशत ग्राहक महिला छन्’–उनी भन्छन्–‘पहिले सौन्दर्यको परिभाषा महिला र त्यसमा पनि अनुहारमा सीमित थियो, हामीले पुरुष र कपाल पनि सौन्दर्यका अभिन्न पाटो हुन् भन्ने यो क्षेत्रमा स्थापित ग¥यौं ।’
विदेशमा महंगो हुने भएकाले वैदेशिक रोजगारीका क्रममा छुट्टीमा आएका नेपालीहरु पनि उल्लेख्य संख्यामा समृद्धिमा सेवा लिएर जाने गरेको मोहनको भनाई छ ।
‘सापटी खोजेको १० लाख रुपैयाँबाट शुरु गरेको व्यवसायमा ७ वर्षमा आइपुग्दा साढे दुई करोड बढी लगानी पुगेको छ’–मोहनले भने–‘हिंजो यो पेशा गर्न हुन्न इज्जत छैन, राम्रो कमाई पनि हुन्न भनेर रिसाएको आफ्नै परिवार अहिले सैलुनको प्रगति र आम्दानी देखेर अचम्म र दंग परेको छ ।’
निकट भविष्यमा दुबई र काठमाडौंमा शाखा विस्तार गर्ने तयारी भइरहेको मोहनले बताए ।
सैलुनका नियमित ग्राहक गुल्मीको मालिका गाउंपालिका अध्यक्ष देविराम अर्यालले स्नातक पढेको युवाले लाखौं लगानी गरेर सैलुनमा थुप्रै युवालाई रोजगारी दिनु सांच्चिकै गज्जब लागेको बताए । ‘परम्परागत कामलाई नयां तरिकाले गर्दा व्यवसायिक हिसाबले सफल र राम्रो आम्दानी पनि लिन सकिने तथ्य यो सैलुनले उदाहरण दिएको छ,यस्ता युवा र व्यवसायलाई प्रोत्साहन दिनपर्छ’–अध्यक्ष अर्यालले भने–‘अहिले पनि देशभर सैलुन व्यवसायमा भारतीय नागरिकले काम गरिरहेका छन्, सीप सिकेर नेपाली युवाले पनि यो काम गर्ने हो भने राम्रै संभावना छ ।’
सैलुनको सफलता देखेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका ठाकुर समुदायका धेरै युवाले विदेश जान छाडेर आफ्नै ठाउंमा व्यवस्थित सैलुन पसल सञ्चालन गर्न थालेको मोहन बताउंछन् । ‘हिजो यो पेशाबाट पार लाग्दैन,कमाउन विदेश नै जानपर्छ भन्ने ठाकुर समुदायका युवाहरु अहिले समृद्धिको उदाहरण दिंदै विदेश जान छाडेर आफ्नै ठाउंमा धमाधम सुविधायुक्त सैलुन खोलिरहेका छन्’–ठाकुरले भने ।
विगतमा कपाल काट्ने काम गर्छु भन्दा लाज मान्नुपर्ने अवस्था र सोंचलाई व्यवसायिक ढंगले काम गरे जुनसुकै पेशा गर्व गर्न लायक हुन सक्दो रहेछ भन्ने तथ्यलाई समृद्धि सैलुनले सावित गरिदिएको बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष महेशमान सिंह बताउंछन् । सैलुनमा साढे २ करोड लगानी, ५ वटा शाखा, ५० जना भन्दा धेरैलाई रोजगारी दिई बुटवलमा घर र झण्डै करोडको गाडी चढेर सैलुनको चेन हांक्नु बुटवलको हकमा सैलुनमा क्रान्ति भएको सिंहले बताए ।
‘सांच्चै भन्नुपर्दा काठमाडौं बाहिर सैलुनको परिभाषा र पेशालाई हेर्ने नजर बदल्न समृद्धि सैलुन सफल भएको छ’–सिंहले भने–‘सैलुनमा समृद्धिले क्रान्ति नै गरेको मान्नुपर्छ, अहिले बुटवल हेयर ड्रेसिङ र हेयर कलरिङको हब नै बनेको छ, समृद्धिलाई देखेर अरु ठूधेरै सुविधासम्पन्न सैलुन खुलेका छन् ।’
नेपालमा उद्यम, व्यवसायमा भविष्य छैन भन्ने भाष्य स्थापित गरी पढे लेखेका युवाले पनि विदेश नै ताक्ने प्रवृत्तिका माझ स्नातक गरेका मोहनले भने स्वदेशमै परम्परागत हजाम पेशालाई व्यवसायिक सैलुनमा बदलेर स्वदेशमै केही नयां गर्न सकिन्छ भन्ने प्रमाणित गरी उदाहरणीय उद्यमी बनेका छन् ।
उनको एकेडेमीबाट कपाल काट्ने तालिम लिएका युवाहरु बेलायत, स्पेन, क्यानाडा, फिनल्याण्ड लगायतका देशमा पुगेर राम्रो आयआर्जन गरिरहेका मोहन बताउंछन् ।
अहिले मोहनको एकेडेमीमा झण्डै ८० जनाले सैलुन र हेयर डे«सिङसम्बन्धी आधुनिक तरिकाको सिप सिकिरहेका छन् ।
हेयर ड्रेसिङ सिकाउने कजेज चाहिन्छ
कपाल काट्ने सीप र हेयर ड्रेसिङ सीपको स्वदेश र विदेशमा उच्च माग भएकाले यस सम्बन्धी कलेज नै खोल्न जरुरी देख्छन् मोहन ।
‘यस सम्बन्धी सिपहरुलाई पाठ्यक्रममै राखेर सिकाउन जरुरी छ । विदेशका कैयन् विश्वविद्यालय तथा कलेजहरुमा यस सम्बन्धी पढाई हुन्छ’–मोहनले भने–‘अब हामीले पनि कुनै कलेज नै सञ्चालन गरेर यस्ता विषयमा पठनपाठन गराउन जरुरी छ ।’
तालिम दिन शुरु गरेको एकेडेमीलाई सिटिइभिटीबाट सम्बन्धन लिई शैक्षिक प्रमाणपत्रसहितको सीपयुक्त दक्ष जनशक्ति उत्पादनको योजना रहेको मोहनले सुनाए । यस्तो कलेज खोलेर नेपाली युवालाई तालिम दिन सके सीमावर्ती भारतीय शहरबाट नेपालमा आएर सैलुन व्यवसाय गर्ने भारतीयलाई विस्थापित गरी नेपालीलाई नै व्यवसायी बनाउन र रोजगारी सिर्जना गर्न सकिने मोहन औंल्याउंछन् । यसो गर्न सके सैलुन व्यवसायलाई हेय भावले हेर्ने समाजको दृष्टिकोण परिवर्तन आई अरु व्यवसाय सरह सम्मानित बन्न सक्ने उनको बुझाई छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी