© २०२३
बुटवल, २३ बैशाख । नसर्ने रोगको रूपमा ‘मन्द विष’ को रूपमा बढ्दै गएको पाइएको छ । लुम्बिनी प्रदेशमा नेपाल सरकारले तोकेको नसर्ने रोगहरूको १६ वटा सूचीमा १ लाख बढि बिरामी प्रत्येक बर्ष थपिदै गएका पाइएको छ ।
प्रदेशको स्वाथ्य निर्देशनालयका अनुसार गत आर्थिक बर्ष नसर्ने रोग र मानसिक समस्या भएका व्यक्तिहरूको संख्या १ लाख ६ हजार ५ सय १ जना नयाँ विरामी फेला परेका हुन । प्रदेशका १२ वटा जिल्लामा प्रत्येक बर्ष १ लाख जना नसर्ने बिरामीहरू भेटिँदा एउटा जिल्लामा ८ हजार ३ सय ३३ भन्दा बढि बिरामीहरू भेटिन थालेका हुन ।
लुम्बिनी प्रदेशको स्वाथ्य निर्देशनालयका सूचना अधिकृत डोर बहादुर बस्नेतका अनुसार प्रत्येक बर्ष नसर्ने रोगका बिरामीहरूकोसंख्या प्रदेशमा बढ्दै गएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरी पनि यो कुरामा सहमत छन् । उनका अनुसार प्रदेशको पहाडी जिल्लाको रूपमा रहेको पाल्पामा पनि नसर्ने रोगका बिरामीहरू थपिदै गएका छन् । उनका अनुसार पहाडी जिल्लामा खानपान, स्वास्थ्य जीवनशैली, तराईका जिल्लाहरूमा भन्दा तुलानात्मक रूपमा राम्रो हुन्छ । तर पनि नसर्ने रोगका बिरामीहरू प्रत्येक बर्ष थपिदै गएका छन् । उनी भन्छन्–‘नसर्ने रोगको संख्या घटाउनको लागि अहिले सबै जिल्लाका स्वाथ्य कार्यालय प्रमुख, पालिका स्वास्थ्य शाखा प्रमुख तथा सरकारलाई समेत चुनौति थपीएको छ ।’
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. गिरीका अनुसार सुगर (मधुमेह), मृगौला, मुटुरोग लगायतका बिरामीहरूको संख्या बढ्दै गएको हो । प्रदेशका गत आर्थिक बर्ष २०७९/०८० मा उच्च रक्तचाप ४३ हजार, ३ सय ६९ जना नयाँ विरामी फेला परेका थिए । प्रदेशमा नसर्ने रोगको सूचीमा सबैभन्दा बढि उच्च रक्तचापका बिरामीहरू रहेका छन् । यस्तै नसर्ने रोगहरूको सबैभन्दा बढि रहेको सूचीमा दोस्रो नम्बरमा सुगर (डाईब्यटिज)का बिरामीहरू रहेका छन् । प्रदेशमा प्रत्येक बर्षमा २४ हजार ४ सय १५ जना सुगर (मधुमेह) का बिरामीहरू भेटिएको सरकारी तथ्यांक छ ।
यस्तै तेस्रो अंकको रूपमा क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज अर्थात् छोटकरीमा (सीओपीडी) रहेको छ । जसको संख्या प्रदेशमा १३ हजार ४ सय ५ जना रहेका छन् । जुन अघिल्लो आर्थिक बर्षको तथ्यांक हो ।
यस्तै प्रदेशम दमका विरामीहरूको संख्या पनि बढ्दै गएको छ । जसमा ९ हजार ६० जना रहेका छन् । काडीयोभास्कुलर (मुटु सम्बन्धी रोग) लागेका ७ सय ७८ जुन संख्या कम हो । नेपालको स्वास्थ्य व्यबस्थापन सूचना प्रणालीमा नसर्ने रोगहरूको अभिलेख र प्रतिवेदन गर्ने व्यबस्था आ.व.२०७९/०८० को श्रावण महिना देखि सुरु भएको हो । जस अनुसार प्रदेशले अहिले तथ्यांक राख्दै आएको छ । तर यसमा अभिलेख राख्ने र प्रतिवेदन गर्ने सुरुवाती चरण भएकोले सबै केसहरू सूचना प्रणालीमा आउन नसकेको देखिन्छ । अझ केसहरू प्रदेशमा बढि भएको हुन सक्ने अनुमान समेत गरिएको छ ।
नसर्ने रोग आधारभूत स्वास्थ्य सेवाभित्र पर्ने र यो सेवा सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट प्रदान गर्नु पर्ने कानूनी प्रावधान छ । तालिम अभाव,जनशक्ति अभाव र साधन स्रोतको समस्याले गर्दा नसर्ने रोगहरूको उपचार व्यबस्थापनमा अपेक्षित उपलब्धी हुन सकेको छैन प्रदेशको स्वाथ्य निर्देशनालयका सूचना अधिमृता डोर बहादुर बस्नेत बताउँछन् ।
आर्थिक बर्ष २०७९/८० मा लुम्बिनी प्रदेशमा नसर्ने रोगबाट पिडीत भई उपचारको लागि स्वाथ्य संस्थामा पुगेकाहरूको संख्या २ लाख ४० हजार १ सय ३६ रहेको छ । जुन संख्या देशको बागमती प्रदेश र कोसी प्रदेश पछि तेस्रो स्थानमा लुम्बिनी रहेको छ । बागमतीमा ४ लाख ५१ हजार २९ जना, कोशीमा ३ लाख ४ हजार ३६५ जना रहेका थिए । जुन नेपाल सरकारको केन्द्रीय स्वाथ्य मन्त्रालयलको तथ्यांक हो ।
स्वाथ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेका अनुसार बच्चाहरूमा ख्याटुपना, पुड्को पना पनि पछिल्लो समयमा बढ्दै गएको छ । अस्वथकर खाना, उचित स्याहार सुसारको अभावमा यो समस्या बढ्दै गएको हो । यसको अलवा नसर्ने रोग लाई प्यूठान जिल्ला अस्पतालले पनि चुनौतिको रूपमा लिएको छ । जिल्लामा क्यान्सर, मृगौला, मुटु, स्वावप्रश्वास, दम लगायतका विरामीहरूको संख्या बढ्दै छन् ।
जसको लागि प्रदेश सरकार र संघीय सरकारबाट निर्देशिष्ट अधिकारलाई प्रत्योजन गरी सोही अनुसारको कार्ययोजना निर्माण गरी नसर्ने रोगको विषयमा प्रसार प्रसार सहित जनचेतानमुलक अभियान र पालिका स्तरमा समेत काम गर्दै आएको प्रमुख पाण्डेको भनाई छ । नसर्ने रोगहरू यस्ता रोगहरू हुन् जुन लामो अवधी र साधारणतया सुस्त गतिमा प्रभाव पार्ने गर्दछन् । विश्वमा नसर्ने रोगलाई मृत्यु निम्त्याउने रोगहरूमध्ये पहिलो नम्बरमा मानिन्छ किनकि यसको कारण हरेक वर्ष करिब ३ करोड ६० लाख मानिसको मृत्यु हुने गर्दछ । सामान्यतया नसर्ने रोगहरू मुटुरोग (कोरोनरी मुटुरोग र हृदयघात), क्यान्सर, दीर्घ श्वासप्रश्वास रोगहरू (दीर्घ अवरोधात्मक श्वासप्रश्वास रोग र दम) र मधुमेह हुन् । नसर्ने रोगहरू विशेष गरी अस्वस्थकर जीवनशैली वा जोखिमपूर्ण व्यवहारहरू जस्तै सूर्तिजन्य पदार्थको प्रयोग, अस्वस्थकर खानपिन, अपर्याप्त शारीरिक सक्रियता र मदिरापानको हानिकारक प्रयोग आदिका कारण लाग्दछ । यस्ता जोखिमपूर्ण व्यवहारले विभिन्न मेटाबायटिक परिवर्तनहरू जस्तै मोटोपन, उच्च रक्तचाप, रगतमा ग्लुकोजको मात्रा बढ्ने र कोलेस्टेरोलको मात्रा बढ्ने आदि निम्त्याउँदछ ।
यदि समयमै यस्ता जोखिमपूर्ण व्यवहारलाई नियन्त्रण गरिएन भने, यसले दीर्घ नसर्ने रोगहरू निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन् । सबैभन्दा राम्रो कुरा के छ भने जोखिमपूर्ण व्यवहारहरूको रोकथाम र नियन्त्रण गरेमा धेरैजसो नसर्ने रोगहरू लाग्नबाट बच्न सकिन्छ । बाल्यावस्था तथा युवावस्थामा स्वस्थकर जीवनशैली अपनाएमा पछि वयस्क अवस्थामा गएर नसर्ने रोगहरू लाग्नबाट बच्न सकिन्छ । नसर्ने रोगहरू यदि प्रारम्भिक अवस्थामै पत्ता लगाई सोही समयमै यसको व्यवस्थापन गर्न सकेमा यसले भविष्यमा निम्त्याउने जटिलता र अकाल मृत्यु हुनबाट बच्न सकिन्छ ।
नेपाल सरकारले नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको लागि बहुक्षेत्रीय कार्ययोजना सन् २०२१–२०२५ अहिले लागू गरेको छ । यो कार्ययोजना सकिन अव एक बर्ष मात्रै बाँकी छ । तर सरकारी तथ्यांक अनुसार प्रत्येक बर्ष मानिस मृत्युको प्रमुख कारण मध्ये एक नसर्नेरोग नै हुने गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा राष्ट्रिय स्वास्थ्य लेखाको प्रतिवेदनअनुसार नसर्ने रोगहरूको स्वास्थ्य उपचारमा सबभन्दा उच्च ३८.७ अर्ब रूपैयाँ खर्च (रोगअनुसारको वर्गीकरण) भएको थियो, जुन चालू स्वास्थ्य खर्चको ३०.८ प्रतिशत थियो (राष्ट्रिय स्वास्थ्य लेखा २०७० –२०७४) । आर्थिक वर्ष २०७४/७५ मा चालू स्वास्थ्य खर्च करिब १४५.३ अर्ब रूपैयाँ अनुमान गरियो । नसर्ने रोगको लागि भएका खर्च ४३.८ अर्ब अनुमान गरियो (चालू स्वास्थ्य खर्चको ३०.२ प्रतिशत) र यो रोग / स्वास्थ्य समस्याहरूमा भएको खर्चमध्ये सबैभन्दा उच्च थियो । तथापि, यदि वर्गीकरण गर्न सकिने रोगहरूको वर्गीकरणसँग तुलना गर्ने हो भने नसर्ने रोगहरूमा भएको खर्च सबै रोगहरू /स्वास्थ्य समस्यामा भएको कुल ’खर्चको झन्डै आधा थियो ।
नसर्ने रोगहरूका लागि हुने व्यक्तिगत खर्च पनि उच्च थियो । वि.सं. २०७३ मा उपचारका लागि व्यक्तिगत खर्चबाट भएका कुल खर्चको ३०.८ प्रतिशत र वि.स. २०७४ मा २९.६ प्रतिशत नसर्ने रोगहरूमा खर्च भएको थियो । नसर्ने रोगहरूमा गरिएको कुल खर्चको अधिकतर (५६.७ प्रतिशत) हिस्सा घरपरिवारको व्यक्तिगत खर्चबाट नै थियो । २०७५ सालमा सुर्तीजन्य पदार्थको प्रयोगले नेपालमा कुल ग्राहस्र्थ उत्पादनको १.८ प्रतिशत बराबरको खर्च गराएको थियो र यसले हरेक वर्ष करिब २५ हजारको ज्यान लिने गरेको पाइएको छ ।