© २०२३
नवलपुर, ८ बैशाख ।
बुढापाकाहरुले सालको पातबाट घरको पुजाआजा या कर्मकाण्डका लागि प्रयोग गर्ने दुना, टपरी हराउँदै जान थालेको समयमा अहिले एक सिङ्गो गाउँका बासिन्दा सालको पातबाट मनग्य आम्दानी लिन सफल भएका छन् ।
पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका ९ बसन्तपुुरका स्थानीयले २५ बर्षदेखि वनमा खेर जाने सालको पातवाट राम्रो आम्दानी गर्दै आएका छन् । सालको पात टिपेर दिउँसो फुर्सदको समयमा घरमा नै वसेर दुना टपरीबाट राम्रो आम्दानी लिन थालेका स्थानीय रामकला श्रेष्ठले बताइन् ।
ब्यावसायिक रुपमा नै सालको पात जंगलमा गएर संकलन गर्ने र घरमा ल्याएर दुुना टपरी बनाउने र घरबाटै बिक्री हुन थालेपछि यहाँका स्थानीयले यो पेशालाई विकल्पको पेशाको रुपमा लिएका स्थानीय मध्यबिन्दु नगरपालिका वडा नं. ९ का वडाध्यक्ष मदन कुमालले बताए ।
यहाँका सात सय बढी महिला प्रत्यक्ष रुपमा दुना टपरी ब्यवसायमा संलग्न रहेका छन् भने उनीहरुको यो पेशाप्रतिको आकर्षणलाई वडाले समेत सहयोग गरेको वडाध्यक्ष कुमाल बताउँछन् । यसरी तयार पारेको पात घरघरै लिन आउने हुनाले पनि स्थानीयहरुले आम्दानीको स्रोत वनाएका हुन् । उनीहरुले आफ्नो घरका लागि आवश्यक सामानहरु खरिद गर्नुका साथै यसले परिवारको जोहो समेत टरेको मध्यबिन्दु ९ बसन्तपुरका स्थानीय अमृता मानन्धर बताउँछिन् ।
घर नजिकै वन रहेकाले टाढा जान नपर्ने भएकाले महिलाहरुलाई सहज भएको छ । गाउँका महिला दिदिबहिनीहरु वन खुलेको समयमा जाने र दिनभरी सालको पात पिप्ने गर्छन् । समयको सदुपयोग संगै सालको पातको आम्दानीबाट घर खर्च चलाउन सहज भएको स्थानीय गोरे कुमालले बताए ।
एक मुुठा सालको पातको एक सय वटा टपरी बन्छ । एक मुठाको १५० रुपियाँमा बिक्री भएको स्थानीयको भनाई छ । सामुदायिक वनबाट पात टिपेर जीविकोपार्जन गर्न सहज भएको र यहाँबट बाहिर बिक्री भैरहेको र पात बिक्रीबाट सानोतिनो खर्च धान्न स्थानीयबासी सफल भएका जनप्रतिभा सामुदायिक वनका अध्यक्ष लोक बहादुर कुमालले बताए ।
हिन्दु धर्म संस्कृतिमा दुना, टपरीको प्रयोग महत्वपूर्ण मानिन्छ । विभिन्न पुजाआजा, विवाह व्रतवन्ध जस्ता शुभ कार्यमा शुद्ध मानिने भएकाले यसको माग वढ्दो छ । यहाँका महिलाले बनाएका दुना टपरी नारायणगढ, पोखरा, काठमाडौं, वुटवललगायत देशैभर पुग्ने गरेको पाइन्छ । जिल्लाको मध्यबिन्दु, हुप्सेकोट कावासोती आसपासका क्षेत्रमा हजारौ महिलाहरुका लागि यो राम्रो आम्दानीसँगै रोजगारीको अवसर बन्दै गएको छ ।