© २०२३
बुटवल, ३० चैत ।
बुटवलमा सुविधा सम्पन्न पशुबधालाका लागि तत्कालीन नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय, बुटवल उपमहानरपालिकाको लगानीमा वि.सं. २०६५ सालमा भवन निर्माण सुरुवात भयो ।
तत्कालीन समयमा गोर्खा कन्स्ट्रक्सनले निर्माण गर्ने भनिएको बधशाला भवन निर्माण २०६६ साल भित्र संरचना निर्माण पूरा गर्ने सम्झौता पनि थियो । तर त्यो समयमा पूरा भएन ।
बुटवल–१२ रामनगरमा रहेको बुटवल औद्योगिक क्षेत्रको जग्गामा वि.सं. २०६८ सालमा एउटा टहरोको रुपमा संरचना बन्यो । तर उक्त संरचनामा पशुबधशाला सञ्चालन गर्ने आधारभूत मापदण्ड नै थिएन । डेढ करोड लागतमा निर्माण गरिएको उक्त ‘टहरो संरचनामा’ बुटवल उपमहानरपालिकाले तत्काल ६० लाख लगानी समेत गरेको थियो ।
तत्कालीन अवस्थामा बधशाला सञ्चालन गर्न सक्ने अवस्था नभएपछि वि.सं. २०७१ सालमा पुनः बुटवल उपमहानगरपालिकाले पुनः डिपिआर बनाएर अगाडि बढाउने भन्दै सूचना समेत प्रकाशन गरेको थियो ।
संघीय पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय वधशालाको भित्रि डेकोरेशन लगायतको उपकरणका लागि बुटवल उपमहानगरपालिकालाई संरक्षकको भूमिका दिई दोस्रो चरणको ठेक्का लगाएपछि बधशाला निर्माण भएको थियो ।
उपमहानगरपालिकाले ०७१ जेठ २० गते अरनिको एन्ड भीम कन्स्ट्रक्सनसँग सम्झौता गरी ०७१ असोज ३० सम्म निर्माण पूरा गर्न भन्दै ठेक्का दिएको थियो । उक्त कम्पनीले पनि ढिला भवन निर्माण गरी २०७२ असार महिनामा मात्र बुटवल उपमहानगर पालिकालाई हस्तान्तरण गरेको थियो । जुन पुरानो भवन हो । जसलाई ‘टहरो’ मात्रै भनिएको छ ।
एक करोड एक लाख ८५ हजार ६ सय ३६ रुपैयाँ लागत इस्टिमेट गरे पनि निर्माण कम्पनीले ९१ लाख ४३ हजार तीन सय १० रुपैयाँमा ठेक्का लिएको थियो । पशुसेवा विभाग पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय हरिहर भवन ललितपुरबाट ५० लाख र बाँकी रकम बुटवल उपमहानगरपालिकाले ५२ लाख ४२ हजार आठ सय १८ रुपैयाँमा सो बधशाला निर्माण गरिएको थियो । यद्यपि त्यो बधशाला सञ्चालन हुन सकेन । यो बेला सम्ममा उक्त बधशालामा २ करोड ४१ लाख ३ हजार ३ सय रुपैयाँ लगानी भएको थियो । एउटा मात्रै भवन बन्यो, केही उपकरण पनि किनिए । तर बधशाला सञ्चालनमा आउन सकेन ।
पुनः बुटवल उपमहानगरपालिका लुम्बिनी प्रदेश सरकारको लागतमा बुटवलमा अहिले पशु बधशाला सञ्चालनमा आउने तयारीमा छ ।
दोस्रो चरणको डिपिआर सहितको भवन निर्माणको लागि प्रदेशको कृषि तथा भूमि व्यवस्था, मन्त्रालयको ७ करोड, बुटवल उपमहानगरपालिकाको तीन करोड गरी आर्थिक वर्ष २०७६÷७७ मा जम्मा १० करोड रुपैयाँ विनियोजन भएको थियो ।
परियोजनाका लागि तय गरिएको बजेटबाट साइट निर्माणमा एक करोड २२ लाख, भवन निर्माण तथा सिभिलवर्कमा ६ करोड ७० लाख, मुख्य प्लान्ट तथा उपकरणमा ६ करोड ६२ लाख, अन्य उपकरण तथा औजार तीन करोड ५७ लाख, संचालन पूर्वखर्च तथा कन्टिजेन्सी २ करोड ९० लाख खर्च अनुमान गरिएको थियो । सोही अनुसार अहिले नयाँ सञ्चालनको तयारीमा रहेको बधशालामा २२ करोड भन्दा बढी लगानी भैसकेको छ ।
सञ्चालनको अन्तिम तयारीमा
बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आउने अन्तिम तयारी गरिएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबिच गत असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको थियो । तर यो विषयमा किसान, मासु व्यवसायीहरुको विचमा सहमति नभएपछि हाल सम्म सञ्चालनमा आउन सकेको छैन ।
मुक्तिनाथ कृषि कमम्पनीका लुम्बिनी प्रदेश प्रमुख निर्मल भुषालले अवको केही समयमा नै पूर्ण क्षमतामा पशु बधशाला सञ्चालनको तयारी गरिएको जानकारी दिए ।
यो विषयमा बुटवलमा रहेका मासु व्यवसायीहरुको बिचमा बैठक बसेर मासुको दर रेट कायम गरेरपछि सञ्चालनको तयारी गरिएको उनको भनाई रहेको छ । उनी भन्छन्–‘यो विषयमा मासु व्यवसायीहरुको बिचमा छलफलको अन्तिम तयारीमा छौ, हामी उहाँहरुसंगको बैठकपछि छिट्टै नै सञ्चालन गर्ने छौ ।’
बुटवल उपमहानगरपालिकाका मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेड बिचमा गत असोज १ गते सम्झौता भएको थियो । सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा बधशाला सञ्चालनमा ल्याउने उल्लेख थियो । सम्झौता भएको ६ महिना सम्म पनि बधशाला सञ्चालनमा आउन सकेको छैन ।
बुटवल १० रामनगरमा २ बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि यसअघि सहमति भएपनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः टेण्डर आह्वान गरेको थियो ।
मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ । ५ वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हँुदै जाने छ । पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता गरिएको थियो ।
खुल्ला मासु बिक्री गरे कारबाही
बुटवल उपमहानगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यावसायिक रुपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही गर्ने समेत जनाएको छ । यो विषयमा बुटवल उपमहानगरपालिकाबाट सूचना नै जारी गरिएको छ । यद्यपि यसको कार्यान्वयन भने हुन अझै सकेको छैन । बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणिकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई व्यवस्थित र आधुनिक सहरका रुपमा स्थापित गर्नका लागि बधशालाले थप मद्दत पु¥याउने बताउँदै बधशाला सञ्चालनपछि यस क्षेत्रका किसान र व्यवसायीलाई समेत लाभ पुग्ने बताउँछन् । बधशाला सञ्चालनपछि बुटवल स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रुपमा स्थापित हुने र यसले बुटवलबाहिरका शहरमा समेत मासु बिक्री गर्न सक्ने प्रमुख पाण्डेयले बताए ।
झण्डै २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ । यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ ।
बधशालामा दैनिक एक हजार खशीबोका बध गर्नसक्ने क्षमता रहेको छ । बधशालालाई छिटै नै सञ्चालनमा ल्याउने गरी तयारी अगाडि बढाउने र यस क्षेत्रका किसान र व्यवसायीलाई जोडेर व्यवस्थित तरिकाले बधशाला सञ्चालन गर्ने जनाइएको छ ।
यता समुदायिक स्तरमा पब्लिक कम्पनी निर्माण गरेर बधशाला सञ्चालन गर्ने योजना बनाएका बुटवल मासु प्रशोधन प्रालि र त्यसमा आवद्ध किसान तथा व्यवसायीहरुले भने बुटवलको बधशालामा नगरपालिकाले पुर्व सम्झौता अनुसार आफुहरुलाई सञ्चालनको लागि जिम्मा नदिएको भन्दै विरोध समेत गरेका छन् । उनीहरुले पटक पटक यो विषयमा नरपालिकामा छलफल गरेको भएपनि ठोस निर्णय नभएको भन्दै बधशालामा सहभागी नहुने समेत जनाएका हुन् । उक्त पब्लिक कम्पनीमा रुपन्देहीमा मासु व्यवसायी, महिला समाजिक उद्यमी समूह लगायतको लगानी रहेको छ । बधशाला सञ्चालनको लागि पुनः डिजाईन सहितको प्राविधिक सहयोग हेफर ईन्टरनेशनल नेपालले समेत सहयोग गरेको थियो ।