© २०२३
काठमाडौं, २६ चैत। हेटौंडा–१२ घलेगाउँमा रहेको कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले व्यवसायिक रूपमा अर्गानिक गुन्द्रुक उत्पादनको अनुमति पाएको छ । लघु उद्यमी उद्योगलाई हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक उत्पादन, बिक्री वितरण, सञ्चय वा प्रशोधन अनुमति दिएको हो । हेटौडा उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तर मान्यता प्राप्त गरेको जनाइएको छ ।
अनुज्ञापत्र प्राप्त गरेसँगै जिल्लाभित्र र बाहिरी सहरमा बिक्रीका लागि बाटो खुलेको छ । करिब चार महिना लामो परीक्षण र निगरानीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञापत्र दिएको उपमहानगरपालिका उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए । उपमहानगरपालिकाको १ लाख रूपैयाँबाट थालेको अर्गानिक साग उत्पादन गरी बनाइएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृति पाउँदा आफूहरू निकै खुसी भएको उद्यमी समूह अध्यक्ष चिनीमाया गुरुङले बताइन् ।
गाउँमा आयआर्जनका लागि केही काम नभई बसेका आफूहरूलाई उपमहानगरले कामका लागि दिएको हौसलाले अहिलेको अवस्था आएको उनले बताइन् । ‘यसै बसेका थियौं, काम गर्न लगानी गरिदिने भनेर नगर प्रमुखले भनेपछि गुन्द्रुकको काम थालेका हौं,’ अध्यक्ष गुरुङले भनिन् । नगरको पैसा र सहकारीको ८० हजार रूपैयाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाइ गुन्द्रुक उत्पादनमा लागेको उनले बताइन् । उनका अनुसार अनुज्ञापत्र नहुँदा बजार लैजान नपाएर गाउँमै करिब ३ लाख रूपैयाँ बराबरको गुन्द्रुक थन्किएको छ । यसले बजारीकरणको बाटो खुलेको छ र उपमहानगरले सहयोग गरे समूहमा रहेका १२ जनाले गरेको कामले सार्थकता पाउने छ । गत असोजमा कामका लागि सम्झौता गरेसँगै समूहले मंसिरबाट गुन्द्रुक उत्पादन थालेका थिए । उपमहानगरको उद्योग शाखाको तथ्यांक अनुसार उपमहानगरले ८ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिए पनि अहिले २ सय ६८ जना उद्यममा जोडिएको जनाएको छ ।