© २०२३
बुटवल, ६ चैत । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएकी एक जना बिरामीको लागि चिकित्सकले लेखेको सिफारिस (प्रेसक्रिब) मा बिरामीको लागि जम्मा ७१ रूपैयाँको लागि मात्रै औषधी थियो त्यससँगै थियो सप्लीमेन्ट्री लगायतका कुल ११७५ रूपैयाँको औषधी ।
बिरामीले मात्रै ७१ रूपैयाँको औषधी खाएर निको हुने भएपनि चिकित्सकले १ हजार १ सय ४ रूपैयाँ बढिको अन्य बस्तु किन्न लगाएका थिए । नाम नबताउने सर्तमा एक स्वास्थ्यकर्मीले बुटवल टुडे संग भने औषधी भन्दा बढि अन्य सामान किन्न लगाएको छ । सामान्य धनी वर्गको लागि १ हजारका सामान सामान्य भएपनि गरिब, पहाडी जिल्लाबाट ऋणधन गरेर आएका बिरामीहरूको लागि यो बोझ हो । उनी थप्छन्,–‘डाक्टरबाट नै बिरामी पीडित छन्, पढेलेखेका हुँदैन्न जानकारी नहुँदा बिरामी नै समस्यामा छन् ।’
यो एउटा उदाहरण मात्रै हो । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल मात्रै होईन, यो धेरै निजी अस्पाताल तथा क्लिनिकहरूमा सेवा दिने अधिकांस चिकित्सकहरूले औषधी भन्दा बढि सप्लीमेन्ट्री लगायतका बस्तु बिरामीलाई ‘थोपार्ने ’ गरेको पाइएको छ । जुन काम गैरकानूनी हो । यसरी चिकित्सकहरूले बिरामीलाई अनावश्यक भन्दा अन्य धेरै फार्मस्युटिकल बनावटका खाद्यपुरक नाममा औषधीपुरक न्युट्रास्युटिकल ट्याबलेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रशासनका सामग्रीहरू औषधीको रूपमा दिँदै आएको पाइएको हो ।
यसरी मेडिकलमा औषधी विभागमा दर्ता नै नभएको, अनुज्ञा पत्र नै नलिएका बस्तुहरू बिक्री वितरण भएको जानकारी पाएपछि नेपाल सरकारको औषधि व्यवस्था विभाग गत फागुन २२ गते सूचना नै प्रकाशन गरी खाद्यपुरक बस्तु बिक्री वितरणमा रोक समेत लगाएको छ । विभागले जारी गरेको सूचना अनुसार औषधि ऐन, २०३५ को दफा १०(क) बमोजिम सोही ऐनको दफा १० बमोजिम औषधि बिक्री–वितरण गर्न प्रमाणपत्र लिएको व्यक्तिले ऐनको दफा ८ (क) बमोजिम विभागमा दर्ता रहेको औषधि मात्र बिक्री–वितरण गर्नुपर्ने कानूनी व्यवस्था रहेकोमा विभागबाट बजार अनुगमन तथा निरीक्षण गर्दा विभागमा दर्ता नभएका फर्मास्युटिकल बनावटका खाद्यपुरकका नाममा औषधिपुरक न्युट्रास्युटिकल ट्याब्लेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रशाधन सामग्रीका नाममा औषधि मिश्रित आइन्मेंट, क्रिम आदि औषधिहरू थोक तथा खुद्रा औषधि पसलहरूबाट बिक्री–वितरण गरेको भेटिएको हुँदा यस्ता उत्पादनहरूको बिक्री–वितरण गर्ने उपर विभागले कारवाही गरेको जानएको हो ।
निरीक्षणको क्रममा अझै पनि यस्ता उत्पादनहरू बिक्री वितरण भइरहेको पाइएकोले यस्ता औषधिहरूको बिक्री–वितरण अविलम्ब रोक्न विभागले सूचना समेत जारी गरेको थियो । यसरी यस्तो नभएका फर्मास्युटिकल बनावटका खाद्यपुरकका नाममा औषधिपुरक न्युट्रास्युटिकल ट्याब्लेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रशाधन सामग्री र औषधि मिश्रित आइन्मेंट, क्रिम बिक्री भएको पाइएमा कारबाही हुने समेत विभागले जनाएको छ । यद्यपी बुटवल लगायतका क्षेत्रका यसको पूर्ण कार्यान्वन्वय भएको पाइएको छैन । विभागले कुनै पनि समयमा बिक्री–वितरण गरेको पाइएमा कानून अनुसार जफत तथा कारबाही समेत गर्ने जनाएको छ ।
यो विषयमा रूपन्देही लगायतका विभिन्न स्थानमा विभागको जतिबेला पनि अनुगमन हुन सक्ने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान “राष्ट्रिय ट्रमा सेन्टर’ गत फागुन १६ गते खाद्यपूरक सामाग्रीहरू (न्यूट्रास्यूटिकल) सिफारिस नगर्ने परिपत्र नै जारी गरेको छ । देशभरका सबै चिकित्सक र स्वास्थ्यकर्मी, सबै विभाग/युनिटलाई पत्राचार गरी औषधी व्यवस्था विभागवाट ‘डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल गैरकानुनी रूपमा आयात गरी औषधी पसलवाट फर्मास्युटिकल वनावट ( ट्याबलेट/क्याब्सुल / सिरप) गैरकानुनी रूपमा विक्री वितरण भएकोले यस्ता औषधी पैठारी, बिक्री वितरण, सञ्चय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न गरेको परिपत्र अनुसार सूचना जारी गरी ट्रमा सेन्टरले औषधी व्यवस्था विभागमा दर्ता/स्वीकृत भएका अत्यावश्यक वाहेक कुनै पनि खाद्यपूरक सामाग्रीहरू (न्यूट्रास्युटिकल) सिफारिस नगर्नु/नगराउनु हुन भन्दै परिपत्र जारी गरेको हो । सेन्टरका प्रमुख मेडिकल सुपेरिन्डेन्ट डा. बद्रि रिजालले परिपत्र जारी गर्दै यो विषयमा रिफारिस भएको पाइएमा काराही समेत गरिने जानकारी समेत दिएका थिए ।
विभागको परिपत्र पछि कोशी अस्पताल बिराटनगर लगायतका अस्पतालहरूले यसको बिक्री वितरणमा रोक लगाउन, चिकित्सकलाई न्युट्राईटिस को सिफारिस नगर्नको लागि आग्रह गरेको हो । यद्यपी बुटवलको लुम्बिनी प्रादेशिक अस्पताले भने यो हिम्मत गर्न सकेको छैन ।