© २०२३
नेपालमा धेरै पहिलेदेखि बहसको बिषय बन्दै आएको चुरे संरक्षणको कुरा अहिलेपनि चर्चाको शिखरमै छ । अर्थात चुरे संरक्षणको कुरा जहाँबाट बिषय उठान भएको थियो, त्यसको प्रगति पनि उहीँ छ । चुरे संरक्षण वातावरणबीदहरूका लागि मात्रै चासो र चिन्ताको बिषय जस्तै भएको छ । तराई मधेसको माथिलो तटीय क्षेत्र हो– चुरे । जसको भू–बनोट, ढुंगाको कडापनको हिसाबले कमलो भएकोले मानवीय तथा भौगोलिक कारणले पनि चुरेमा भू—क्षय तथा पहिरो जाने गर्दछ । यो क्षेत्र अति जोखिममा छ । चुरे संरक्षणका लागि धेरै पहिलेदेखि प्रयास हुँदै आएको भनिएपनि सरकारले समेत यो बिषयमा खासै चासोसाथ संरक्षणको पहल नगरेको यथार्थ हो । सरकारले चुरेबाट निस्कने धेरै नदी प्रणालीहरूको एकीकृत व्यवस्थापन योजना लागू गर्ने गराउने योजना लिएको छ । चुरे संरक्षण तथा व्यवस्थापन गुरुयोजनाको लक्ष्य चुरेको माटो चुरेलाई र सफा पानी सबैलाई भन्ने छ । तर, चुरे संरक्षण तथा व्यवस्थापन गुरुयोजनाको मर्म अनुसार कार्यक्रम सञ्चालनमा सरकारले प्राथमिकता दिएको छैन । चुरेमा अथाह खानी छ । चुरेबाट आम्दानी लिन जान्ने हो भने यो नेपालका लागि अथाह श्रोत हो तर यसको न संरक्षण गरियो न त आम्दानीको माध्यम नै बनाइयो । चुरे कमजोर पहाड हो । यो पहाड तराईको समथल भागसंग जोडिएको छ । यसको कमजोर अवस्थालाई स्थायीरूपमै नियन्त्रण गर्ने हो भने यसको दोहनभन्दा पनि आम्दानीको माध्यम बनाउन सकिन्छ तर चुरे दोहनमा मात्रै ध्यान भयो, संरक्षणको पहल खासै भएन । यसतर्फ ढिलो भएपनि अव सम्वन्धित निकायको ध्यान जानुपर्दछ ।
अहिलेसम्मको अवस्था हेर्ने हो भने चुरेबाट नदीजन्य ढुंगा, गिट्टी र बालुवामात्रै निकाल्ने काम भएको छ । यसको संरक्षणमा खासै चासो र चिन्ता न सरकार, न प्रदेश सरकार र न त स्थानीय सरकार कसैको पनि ध्यान नजानु चिन्ताको बिषय हो । चुरे संरक्षण गर्दै वातावरणीय ह्रास नहुने गरी त्यस्ता खनिज वस्तुको उत्पादन र निर्यातको व्यावसायिक सम्भावना खोजी गर्ने हो भने नेपालको विकासमा चुरेले कायापलट गरिदिन सक्छ । किनभने चुरेबाट सुरक्षित तरिकाले खनिज पदार्थ निकाल्न सक्ने हो भने बर्षौसम्म आम्दानीको माध्यम बन्न सक्छ र चुरे संरक्षणमा पनि मद्दत पुग्छ । चुरेमा रहेको ढुंगाखानीहरूको संरक्षण, प्रवद्र्धन, व्यावसायिक उत्खनन तथा निकासीका माध्यमबाट आय र रोजगारी सिर्जना हुने निश्चित देखिन्छ । चुरेबाट ढुंगा गिट्टी निकासीबारे वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएको स्थानबाट ढुंगा, गिट्टी निकासी गर्न सकिने छ । यसको सदुपयोग गर्न सक्ने हो भने नेपाललाई सिंगापुर बनाउन सकिन्छ । होइन दोहन नै गर्ने हो भने चुरे तराईका लागि अभिषाप पनि हुनसक्छ । तसर्थ चुरेको संरक्षण गरेर यसबाट लाभ लिनेतर्फ अव ध्यान दिनु सवैभन्दा श्रेयष्कर हुन्छ । चुरेको उचित व्यवस्थापन नहुँदा हरेक बर्ष तराईमा बिपद्को अवस्था सिर्जना भइरहेको छ । अतः मापदण्ड बनाएर चुरेबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गरेर आम्दानी लिन सकिने अवस्थाको अव खोजी जरुरी छ । चुरेलाई उपयोग गर्न सके बरदान हुनेछ, होइन भने चुरे अभिषाप । तसर्थ चुरे दोहनमात्र होइन, उपयोग गर्नेतर्फ ध्यान दिउँ ।