© २०२३
नवलपरासी, २८ फागुन । निर्माण सामग्रीको अभाव देखाउँदै हुलाकी सडक निर्माण आयोजनामा ढिलाई भएको निर्माण ब्यवसायीले बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको आग्रहमा जिल्ला प्रशासन कार्यालयले बोलाएको आयोजना प्रमुख, निर्माण कम्पनीका प्रतिनिधि तथा जिसस र स्थानीय तहका जनप्रतिनिधिहरूको भेलामा निर्माण ब्यवसायीले निर्माण सामग्री आपूर्तिमा समस्या हुँदा आयोजना निर्माणमा ढिलाई भइरहेको बताएका हुन् ।
तीन खण्डमा कुल ३७ किलोमिटर हुलाकी सडकको निर्माण जिल्ला भित्र भइरहेको छ तर हुलाकी सडक निर्माण कार्य थालिएको अहिले आठांै बर्षमा प्रवेश गर्दैछ, तर कुनै खण्ड पुरा हुन नसक्दा सांसद चौधरी लगायत सबै जनप्रतिनिधि माथि स्थानीयले चासो नलिएको आरोप लगाउँदै आएका छन् । विगतका साँसद र जनप्रतिनिधिले काम गर्न नसक्दा अहिलेको जनप्रतिनिधि निर्वाचित भएर आउँदा ठूलो चुरीफुरी थियो, अहिलेको जनप्रतिनिधि दोश्रो बर्षको कार्यकाल विताउँदै छन् । त्यसले आयोजनाको ढिलासुस्तीमा कुनै फरक नपाएपछि स्थानीयबासी ‘जुन गोरु आए कानै चिरेका’ भन्ने उखान चरितार्थ हँुदै गईरहेको छ । सो आरोप लगाउन थालेपछि साँसद विनोद चौधरी चुनावमा गरेको प्रतिवद्धता माथि पनि प्रश्न उठ्न थाले पनि उनी बेला बेलामा हुलाकी, गण्डक तथा डुबान कटानबारे सरोकारवालासँग छलफल गराउँदै आएका छन् ।
तर छलफलमा कुरा उठ्ने तर ब्यवहारमा कुनै सुधार नपाए पछि चौधरीको बैठक पनि कर्मकाण्डी मात्रै देखिन थालेको छ । चौधरीको आग्रहमा बोलाइएको बैठकमा निर्माण कम्पनीका प्रतिनिधिहरूले निर्माण सामग्री नै नपाएको भनि प्रश्न उठाएपछि स्थानीय जनप्रतिनिधि लगायत प्रशासनिक कर्मचारीलाई पनि सहजीकरण माथि प्रश्न उठ्न थालेको छ । हुलाकी आयोजना बेलामै सम्पन्न गर्नका लागि आयोजना प्रमुख, प्रशासन, स्थानीय जनप्रतिनिधि तथा निर्माण कम्पनीका प्रतिनिधिलाई आग्रह गरेका थिए । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै उनले विकास आयोजना निर्माण कार्यमा विलम्ब नगर्न भनेका थिए । त्यसका लागि सरोकारवाला सबैलाई आयोजना सफल बनाउनमा सहयोग गर्न पनि आग्रह गरेका थिए ।
जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति एवं समस्या समाधानका लागि नै छलफल गर्न बोलाइएको भन्दै साँसद चौधरीले भने, ‘विकास परियोजना सम्पन्न गर्न सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणमा हामीले निरन्तर समन्वय गर्दै आएका छौँ । स्थानीय तह होस् वा प्रदेश सरकार, त्यहाँ पनि हाम्रा तर्फबाट निरन्तर समन्वयको काम भइरहेको छ । तर के कारणले आयोजनाहरूको काम अपेक्षाकृत हुन सकेको छैन । यसमा गम्भीर बन्न जरुरी छ ।’ त्यसै गरि सांसद चौधरीले नारायणगढ बुटवल सडकखण्ड र हुलाकी राजमार्गको कामलाई तिब्रता दिन जोड दिएका थिए । ‘हाम्रोतर्फबाट कहाँ कहाँ सहजीकरण गर्नुपर्छ, म तयार छु तर अब विभिन्न वाहानामा काम ढिलासुस्ती गर्ने छुट कसैलाई छैन’, उनले निर्देशन दिँदै भने, परियोजना सम्पन्न गर्ने मिति नै निश्चित गरेर काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुपर्ने र त्यसका लागि सबैले सहजीकरण गर्न पनि उनले आग्रह गरेका थिए ।
‘हुलाकी सडकको काम वर्षाैंदेखि धिमा गतिमा भइरहेको छ । बुटवल नारायणगढ सडक खण्डको काम पनि उस्तै छ’, सांसद चौधरीले भने, ‘अब एकले अर्कालाई आरोप लगाएर हुँदैन । सबैले जिम्मेवारीवोध गरेर अगाडि बढौं ।’ बुटवल नारायणगढ सडकखण्डको काम पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकादेखि सुनवल नगरपालिकासम्म करिव ४७ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । हुलाकी सडक आयोजना होस वा पूर्वपश्चिम राजमार्ग निर्माण आयोजना दुबैलाई निर्माण सामग्रीकै समस्या बेला बेलामा देखिदै आएको छ । यसबारे पटकपटक कुरा पनि उठ्ने गरेको छ, तर चुरो कुरा के होला ? भन्ने निष्कर्ष निस्कन नसक्दा समस्या हुने गरेको उतm छलफलका एक सहभागिले सुनाए ।
उनका अनुसार जति पटक छलफल गरिए पनि निष्कर्षमा पुग्न नसक्नु भनेको सबै पक्ष दोषी रहेको र सो कुरा खुलेर गर्न चाहेनन् । निर्माण ब्यवसायी जेभि अर्थात ज्वान्ट भेन्चरमा ठेक्का सकार गरेका छन् । आफ्ना अचल सम्पतिको अधिक्तम मूल्याँकन गराई बैंकको तोकिएको शुल्क तिरेर सो अचल सम्पतिको धितो राख्ने र बैंक ग्यारेन्टी बनाउने गरेका छन् । तर तरल पुँजि खासै हुदैन् । रनिगँ बिलको भरमा आयोजना सम्पन्न गर्ने सोच निर्माण कम्पनीमा छ । निर्माण ब्यवसायिलाई स्थानिय स्तरमा निर्माण समाग्रि खरिद गर्ने तरल पैसा नहुने र उधारो सामाग्रि पनि कसैले दिन नचाहने समस्या पनि छ । यसको फाईदा आयोजनाको इन्जिनियरहरूले पनि उठाउने गर्छन् ।
रनिगँ बिलको लागि प्राविधिक देखी लेखासम्म नजराना नचढाई बिल स्वीकृत हुदैन् । खोला नजिकै रहेका केही खोला तस्करहरूले चोरेर राखेका समाग्रि ति आयोजनाका ठेकेदारले खरिद गरिदिउँन भन्ने चाहना पनि हुन्छ । आयोजनाको ठेकेदारले सस्तो पाउँनका लागि खोलाबाटै प्रत्यक्ष खोलाजन्य समाग्रि उठाउने प्रयासमा हुन्छ । जस्मा स्वार्थका कारण स्थानियको अवरोध निरन्तर भई नै रहन्छ । स्थानिय जनप्रतिनिधिलाई पनि ति आयोजनामा आफ्ना मान्छेले काम पाउँन, केही खर्चबर्च पनि चलोस,कार्यकर्ताको चन्दा सहयोग पनि भई रहोस भन्ने चाहना हुन्छ । यसरी स्वार्थैैस्वार्थले एक आपसमा बल्झिदा आयोजना सम्पन्नमा ढिलाई हुने गर्छ । जसको मार सवैसाधारण जनताले सहनु परेको छ । जनतालाई सुख देला भनेर ल्याइएको आयोजना स्वार्थीहरूको चंगुलमा पर्दा त्यही आयोजना जनताका लागि अभिषाप जस्तै बन्ने गरेको उनको भनाई थियो ।