© २०२३
बुटवल, १२ फागुन । झमसरा छन्त्याल ६४ वर्षकी भईन । लामो समय बाख्रापालनमा रमाएकी छन्त्याललाई यहि व्यवसायले नै पालेको छ । सन्तानको रहर, घरायसी खर्चको व्यवस्थापन उनले बाख्रा पालेर नै पुयाएकी छिन् । गाउँमा उनी र बाख्रा पर्यावाचीको रूपमा चिनिन्छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिकाकी झमसरामा यति धेरै बाख्रा र पाठापाठी मायाले हुर्काउन सक्ने खुबी छ ।
उनी भन्छिन्–‘जीवनलाई आर्थिक रूपमा माथि उठाउनको लागि यो व्यवसाय नै फलदायी बन्यो । शुरुमा महिला बहुउद्देशीय सहकारी संस्थाबाट २ हजार रुपियाँ ऋण लिएर बाख्रा पाल्न शुरु गरेकी हुँ, यो २०५७ सालको कुरा हो । त्यससबेला उन्नत जातको भनेर एउटा बाख्रालाई १८ सय रुपियाँमा किनेकी थिए । त्यसलाई संरक्षण गर्दै हुर्काउदै गरे, त्यो बाख्रो नै आर्थिक जोहोको माध्यम बन्यो । त्यसमा मेरो श्रीमानको सहयोग धेरै थियो, उहाँले पनि काम गर्न हौसला दिनुभयो । त्यहाँबाट पाल्न शुरु गरेको बाख्रा अहिलेसम्म मलाई पछाडी फर्किन परेको छैन । बिस्तारै बाख्रा बढ्न थाले, हुर्किएका पाठाहरू बेचेर आम्दानी हुन थाल्यो । अहिले पुराना दिन सम्झदा सपना जस्तो लाग्छ । देख्दा के होला जस्तो छ तर आम्दानी राम्रो हुन्छ ।
छन्त्याल भन्छिन्–‘बाख्रा भनेर हँुदैन यिनीहरूलाई असाध्यै माया र स्नेहले हुकाउनुपर्छ जसरी हाम्रा बाल बच्चाको स्यार सुसार गर्छाैं हामी । यसो गर्न नजान्दा नै हो धेरैले यो व्यवसाय गर्न चाहेर पनि सफल हुन सक्दैनन् । यिनीहरूको खानेकुरा स्याहार गर्ने तरिका सिक्न जरुरी छ । उनीहरूले के खाँदा स्वास्थ्य हुन्छन् भन्ने हेक्का राख्नुपर्छ । अनि मात्र बाख्राका साना पाठापाठी हुर्काउन सकिन्छ ।
पहिले पहिले त मैले पनि जानेर धेरै नोक्सान भएको छ । कहिले काँही व्यवसाय नै छोडु जस्तो पनि भएको थियो । तर पछि सिक्ने अवसर आयो । पहिले गाउँ विकास समितिले दिने तालिमहरू लिन पाए । सहकारीले पनि मलाई व्यवसायमूलक तालिम दियो । कतिपय अवस्थामा आर्थिक सहयोग पनि भयो त्यसैको सहाराले आजसम्म आई पुगे । अहिलेसम्म आई पुग्दा त कति बाख्रा पाठापाठी बेचे भन्ने हिसाब राखेर साध्य पनि भएन । आफ्नो घर खर्च यहिबाट पुग्यो जग्गा जमिन केहि थिएन जोडियो । घर बन्यो, छोरा छोरीको विहेदान भयो । यो सबै यहि बाख्राबाट जोडेको मेरो जीवनको सम्पत्ति हो ।
तर यहाँ सम्म आईपुग्न मसँगै मेरो परिवारले धेरै संर्घष गर्नु परेको छ । बाख्रा जसका लागि विहानै उठ्ने दाना पानी तयार गर्नु , उनीहरूलाई खोर सफा गर्नेदेखि घाँस तयार गर्ने चरनका लागि लैजाने दैनिकी हो । यसमा सबैको बराबर मिहनेत त छदैछ । त्यसमाथि म आफैले विभिन्न समयमा लिएको तालिमले सहज बनाएको हो । तालिम लिएपछि पशु बिरामी परेको थाहा पाउने देखि सामान्य उपचार पनि आफैले गर्ने हुदा सहज भएको हो । शुरुमा त यस्तो विषयमा जानकारी नहुँदा खानपान बिग्रेर एउटा माउ बाख्रा मरेको थियो । त्यसबेला मलाई ज्ञान कमी भएको थियो ।
छन्त्याल बाख्रा फर्ममा अहिले साना ठूला गरेर ४५ वटा बाख्रा छन् । त्यस मध्ये २० वटा माउ छन् । बेच्नका लागि तयार हुदै गरेका १२ वटा र अरू साना छन् भने केही जन्मने प्रक्रियामा रहेको छन् । उनको खोरमा अहिलेसम्म २ वर्ष पालेको बोका ६५ किलोसम्म भएको छ । अरू बाकी १ वर्षमा १८ किलो, २२ किलो, ३०, ३५ किलो हुने बित्तिकै बुटवल बजारबाट व्यापारी आएर किन्ने गरेका छन् । उनी भन्छिन्–तयार हुन परो बिक्रिका लागि बजारको गाह्रो छैन । गाँउघरमा पनि किन्नेको कमी छैन ।
अहिले छन्त्यालको खोरमा जमुनापारी (कान लामो) बयर जात, सिरोही जातका बाख्राहरू छन् । यिनीहरूलाई हुर्काउन बढाउनका लागि मन, तन दुबैले काम गर्नुपर्ने हुन्छ । त्यसका लागि मसँगै हाम्रो परिवारले ठुलो मेहनेत गरेका छौ । छन्त्याल भन्छिन्, अब यति लामो समयसम्म यी बाख्राहरूसँग बिते आज पनि उनीहरूसँग रमाईरहेकी छु । यो बेला रमाईलो लागे पनि उमेरले नेटो काटेको महसुस हँुदैछ । काम गर्नुपर्छ भने पनि काम शरिरले सक्न छाडेको छ । त्यसैले यो फर्म अब बुहारीको नाममा दिन मन लागेको छ । मैले गरेको काम उनीहरूले पनि राम्रोसँग गर्न सक्छन् । यो मेरो मनमा आएको सोच हो कस्तो हुन्छ हेरौ ।
अहिलेसम्म व्यवसायिक रूपमा बाख्रा पालेकी छन्त्यालले केही रकम पाएको बताउँछन् । बाख्राका लागि घाँस बाट्ने मेसिन र खोर बनाउन सहयोग भएको बताईन । त्यतिले मात्र व्यवसाय गर्न सहज हुदैन । स्थानीय पालिकाले प्रोत्साहन गर्न जरुरी छ । युवाहरूलाई व्यवसाय गर्न प्रोत्साहन गर्नुपर्छ । हिजोको दिनमा आर्थिक अवस्था कमजोर हुँदा शुरु गरेको व्यवसाय अब छोरा बुहारीलाई हस्तान्तरण गर्दै गर्दा सहयोग र प्रोत्साहन दिने हो भने आफ्ना सन्तानले पनि व्यवसायलाई निरन्तरता दिन सक्छन्, छन्त्यालले आत्मविश्वासका साथ भनिन् । à