© २०२३
बुटवल, २४ माघ । बुटवल उपमहानगरपालिका नयाँगाउँमा बस्दै आएका पुरन कुमाल न्यून दृष्टिविहीन व्यक्ति हुन । कक्षा ७ सम्म सियारीमा रहेको विरेन्द्र माविमा अध्ययन गरेका हुन । ७ देखि १२ सम्म तिलोत्तमा मणिग्राममा रहेको शान्ती नमुना मावि पढे । अहिले यत्तीकै खाली अवस्थामा रहेका उनी शेयर कारोबार गर्दै आएका छन् । उनी न्यून दृष्टिविहीन भएपनि बिस्तारै भिजनहराउँदै गएको छ । जसले गर्दा उनी पूर्णरूपमा ब्रेलको प्रयोग गरेर अध्ययन गर्दै आएका छन् । पछिल्लो समयमा विकास भएको ब्रेल किवोर्डको माध्यमबाट उनले ६ वटा मात्रै अंकबाट मोबाईलमा अक्षर टाईपीङ्ग गर्ने, इमेल, गर्ने, सामाजिक सञ्जालमा सन्देश पठाउने, स्टाटस राख्ने लगायतका विषयमा पोख्त भएका हुन ।
नेपाल दृष्टिविहीन उत्थान संघको आयोजनामा भएको ३ दिने ब्रेल किबोर्ड टाईपीङ्ग तालिम लिएपछि उनी झनै पोख्त भएका हुन् । यो भन्दा पहिला आवाज सुनेर मोबाईलमा नर्मल किवोर्ड मार्फत टाईप गर्दै आएका उनले अब सबै अक्षर चिनीरहन आवश्यक छैन् । उनि भन्छन्–‘अव ६ वटा मात्रै अक्षर को ज्ञान भए हुन्छ, सोही अनुसार नै टाईपीङ्ग गर्न सकिन्छ ।’
साधारण तय दृष्टिविहन भएका विद्यार्थीहरूले प्रयोग गर्दै आएको ब्रेल पेपरमा अक्षर खोप्दा प्रयोग हुने अक्षरहरू नै १ देखि ६ सम्मलाई मिलाएर सोही अनुसार सेटिङ्ग गरिएको किवोड ब्रेलकी वोर्ड हो । जसमा १, २, ३, र ४, ५, ६ नम्बर दुई लहरमा राखीएका हुन्छन् । जुन नम्बरलाई मिलाएर दृष्टिविहीन भएका व्यक्तिहरूले ब्रेल पेपरमा स्लेट र स्टालस रोपेर अक्षर लेखे जस्तै मोबाईलमा पनि सोही नम्बर राखेर अक्षर निर्माण गरी शब्द गठन गरेर एक अर्कोमा सन्देश प्रवाह गर्न सक्ने छन् ।
जसको लागि सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आर्थिक सहयोगमा नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैनाले दृष्टिविहिनहरूलाई तालिम समेत प्रदान गरेको छ । जुन तालिम यो क्षेत्रमा पहिलो तालिम हो । कपिलवस्तुको ओदारीमा रहेको ओदारी माविका प्रावि शिक्षक अविना पन्थी ले अब ब्रेल किवोर्ड मार्फत पहिला नै सिकेको कुरालाई सहज रूपमा ब्रेल टाईपीङ्ग जस्तै यो किबोर्डको प्रयोग गरी काम गर्न सकिने बताउँछन् । पूर्णरूपमा दृष्टिविहिन रहेकी शिक्षक अविना पन्थीले विद्यार्थीहरूलाई मोबाईल मार्फत सन्देश दिनुपर्नेमा, अन्य कुरा लेखेर देखाउनुपर्ने, श्रवण समस्या भएका व्याक्तिहरूको लागि पनि यो किवोर्डको प्रयोग सबैभन्दा उत्तम भएको बताईन । उनले भनिन्–‘पहिला ब्रेलमा खोप्दा जस्तै गरी सोही अंकको आधारमा किवोर्डबाट मोबाईलमा टाईप गर्न सकिन्छ, यो हाम्रो लागि पनि अझ बढि विद्यार्थीहरूको लागि सिकाउन सहज हुने भएको छ ।’ ब्रेलमा १ र ३ अंक थिचेमा ‘क’ ४ र ६ थिचेमा ‘ख’, १, २, ४ थिचेमा ‘ग’ अक्षर र १, २, ६ अंक थिचेमा ‘घ’ अक्षर बन्दै आएको हुन्छ । सोही अंकलाई मिलाएर ब्रेल एड्भान्स किवोर्ड मार्फत दृष्टिविहिन भएका व्यक्तिहरूले मोवाईलमा टाईपीङ्ग गर्दै आएका हुन ।
ब्रेलमा नै खोपे अनुसार अंग्रेजी अक्षरको लागि पनि सोही अनुसारको किवोर्ड प्रयोग गर्न सकिने कान्ती मावि बुटवलका प्रावि शिक्षक रजिता रेग्मी बताउँछिन् । उनले १ ले ‘ ए’, १,२ले ‘बि’, १, ४ ले ‘सी’ , १,४, ५ ले डि र १, ५ ले ‘ई’ अक्षर आउने गरी ब्रेलमा भएझै यो एड्भान्स किवोर्डमा पनि आउने बताईन् । जसले गर्दा छिटो भन्दा छिटो टाईपीङ्ग गर्न, विद्यार्थीहरूको लागि लेखेर देखाउन, प्रोजेक्टरको माध्यमबाट पावर पोईन्ट बनाउनको लागि पनि यो सहयोगी हुने बताईन । उनले भनिन्–‘२१ औ शताब्दीको दुनियामा यो हाम्रो लागि सबैभन्दा ठुलो उपलब्धी हो, सुनेर नर्मल किवोर्ड टाईप गर्नुभन्दा यो विशेष प्रकृतिको ब्रेल किवोर्डले पहिला नै सिकेको कुरालाई डिजीटलाईजेसन गर्दै आएको छ ।’
यसले सरकारी क्षेत्रले ब्रेलपेपर, स्टालस, स्लेट खरिदको लागि हँुदै आएको खर्चमा उक्त सफ्टवेयर जडान गरी तालिम दिन सकेमा पेपरलेस तरिकाले अध्ययन गराउन सकिने शिक्षक रेग्मीको भनाइ छ । लामो समयदेखि ब्रेल की वर्डको विषयमा प्रशिक्षण दिँदै आएका विसीए (स्नातक कम्प्युटर) का विद्यार्थी समेत रहेका प्रशिक्षक अनमोल गैरेले ब्रेल कि वर्ड टाईपीङ्गबाट दृष्टिविहिन भएका व्यक्तिहरू, अझ बढि विद्यार्थीहरूको लागि राम्रो हुने बताउँछन् । उनले प्रतिष्पर्धात्मक युगमा कम्प्युटर नसीकेमा जो कोही पनि पछाडी पर्ने भन्दै यसको लागि अझ बढि दृष्टिविहीन विद्यार्थीहरूले त यो अनिवार्य जस्तै भएको बताए । जसको माध्यमबाट सामाजिक सञ्जाल मात्रै नभएर पूर्ण रूपमा मोवाईलका सबै डिभाईस, मोबाईल एप, वेभ ब्राउजर लगायतका कुरा सज रूपमा चलाउन सकिने उनको भनाइ छ । उनी पनि न्यून दृष्टिविहीन विद्यार्थी हुन ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले खासगरी अपाङ्गता भएका व्यक्तिहरूको लागि मागमा आधारित तालिम, स्वरोजागरमुलक तालिम प्रदान गर्नुपर्ने बताउँछन् । उनले मोवाईल, कम्प्युटर लगायतका उपकरण चलाउने तालिम प्रदान गरी उनीहरूलाई पोख्त बनाएर रोजगार समेत गराउन सकिने तर्फ महासंघले पैरवी गर्दै आएको बताए । उनले प्रदेश सरकारको सहकार्यमा यी र यस्ता प्रकृतिका तालिम प्रदानको लागि सहजीकरण गर्दै आएको जानकारी दिँदै सबै ३ वटै तह मिलेर अपाङ्गता भएका व्यक्तिहरूका विभिन्न अवरोधहरू हटाएर अन्य सरह सक्षम बनाउनुपर्ने बताए ।