© २०२३
बुटवल ।
एक वर्षमा बैंकहरुले ग्राहकलाई दिने ऋणको ब्याजदर १.३२ प्रतिशतले घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा चालू आवको पुस मसान्तसम्म आइपुग्दा कर्जाको ब्याजदर घटेको हो।
गत वर्षको पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार दर (बेस रेट) १०.७३ प्रतिशत थियो। जुन चालू आवको पुस मसान्तसम्म आइपुग्दा १.३२ प्रतिशतले घटेर ९.४१ प्रतिशतमा आएको छ।
बैंकहरुले ऋण दिँदा बेस रेटमा शून्यदेखि अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर तोक्ने गर्दछन्। यद्यपि, जुन बैंकको बेस रेट कम हुन्छ, सोही बैंकबाट ऋणलाई कर्जा लिँदा ब्याजदर सस्तो हुन्छ।
२०८० पुस मसान्तसम्म आइपुग्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बेस रेट सबैभन्दा कम ७.५६ प्रतिशत छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको ८.२५ प्रतिशत, नेपाल बैंकको ८.५५ प्रतिशत, एभरेष्ट बैंकको ८.८७ प्रतिशत र कृषि विकास बैंकको बेस रेट ८.८२ प्रतिशत छ।
अन्य वाणिज्य बैंकहरुको बेस रेट भने न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १०.५९ प्रतिशतसम्म छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंक दर र नीतिगत दर तथा निक्षेप संकलनको बोलकबोल दर पनि घटाएको छ। अपेक्षाअनुसार ब्याजदर नघटिरहेको भन्दै राष्ट्र बैंकलाई चौतर्फी दबाब बढेपछि समीक्षामार्फत उल्लिखित दर घटाइएको हो ।
अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। बजारमा पैसा धेरै भएपछि तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले धमाधम पैसा झिकिरहेको छ । यही कारण अब कर्जाको ब्याजदर झनै घट्ने बैंकरहरूको दाबी छ ।
राष्ट्रबैंक भैरहवाका निर्देशक सत्यन्द्रनाथ सुवेदीका अनुसार प्रयाप्त तरलता देखिएकाले कर्जाको ब्याजदर घटाउन लागिएको हो । “कर्जाको ब्याजदर घटेपछि लगानी प्रवाह हुन्छ, जसका कारण लगानी समेत बढ्न पुग्छ”–उनले भने । उनका अनुसार घट्दो ब्याजदरले लगानीकर्तालाई फाइदा पुग्न सक्छ भने छोटो अवधिका निक्षेपकर्ताले ब्याज कम पाउने अवस्था बन्छ।