© २०२३
सुनवल, ११ माघ । चामल उद्योग सञ्चालन गर्दै आएका उद्योगी व्यवसायीले सीमा क्षेत्रबाट हुने अवैध रूपमा चामल आयात गरी बिक्री भइरहेको बताएका छन् । उनीहरूले अवैध चामल आयात रोक्न पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र मार्फत आग्रह गरेका छन् । भारतबाट भैरहेको अवैध आयातका कारण जिल्लाका उद्योग धरासायी भएको उनीहरूको गुनासो छ ।
रूपन्देही र नवलपरासीमा चामल उद्योग सञ्चालन गर्दै आएका व्यवसायीहरूले नवलपरासी, रूपन्देही र कपिलवस्तुका विभिन्न नाकाबाट भईरहेको चामल तस्करी रोक्न माग गरेको नेपाल चामल उद्योग संघ लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधि तिवारीले बताए । भारतबाट भन्सार तिरेर धान खरिद गरि उद्योग चलाउनुपर्ने अवस्थाका बीच अवैध रूपमा चामलनै भित्रिँदा उद्योग बन्द गर्नुपर्ने अवस्था सृजना भएको भन्दै व्यवसायीहरूले सुरक्षा निकायको ध्यानाकर्षण गराएका हुन् ।
उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले खुल्ला सिमानाको फाईदा उठाउँदै भईरहेको तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । भारतबाट भन्सार सहित मंहगोमा धान खरिद गरेर उद्योग सञ्चालन गर्नुपरेको बेला अनाधिकृत आयातले उद्योग सञ्चालनमा कठिनाई सृजना भएको उनको भनाई छ ।
मारुती फुडपार्कका सञ्चालक उद्योगी विरेन्द्र अग्रहरीले आन्तरिक राजश्व कार्यालयका कर्मचारीले घुस लिएर अवैध आयात गराईरहेको आरोप लगाए । ‘घुमुवा प्रहरीलाई सबै थाहा छ, सुरक्षा निकायले चाहे नियन्त्रण सम्भव छ अग्रहरीले भने, प्रहरीले समात्यो भने पनि आन्तरिक राजश्व कार्यालयले सेटिङ्गमा छोडिदिन्छ ।’
‘जता बाट गएपनि पूर्व पश्चिम राजमार्गको बर्दघाट हुँदै चामल जान्छ तर बर्दघाटमा बसेको प्रहरी र राजश्वका कर्मचारीले देख्दैनन् अग्रहरीले भने ।’ जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक काजिकुमार आचार्यले प्रहरीले जिल्लामा उल्लेखनिय रूपमा तस्करी नियन्त्रणमा लिएको बताउदै व्यवसायीको सहयोगले मात्रै अवैध आयात नियन्त्रण सम्भव भएको स्पष्ट पारे । उद्योगी व्यवसायीहरूनै ईमान्दार नहुँदा सम्म पूर्ण रूपमा रोक्न सम्भव छैन्, हामीले सिमा नाकामा कडाई गरेका छौ आचार्यले भने । आचार्यले विगत धेरै लामो समयपछि नवलपरासीको सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा आएको दाबी पनि गरे ।
प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले सुरक्षा निकायले अवैध आयात नियन्त्रण गर्न कुनै कसर बाँकि नराख्ने बताउँदै अन्य निकायसंग पनि समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उद्योगीहरूले पनि प्राप्त सुचना सुरक्षा निकायलाई दिनुपर्नेमा जोड दिँदै सम्भावित स्थलमा सुरक्षा निकायले निगरानी बढाउने बताए ।
स्रोतका अनुसार जिल्लामा चामल उद्योग सञ्चालन गर्दै आएका व्यवसायीहरूले नै भारतबाट अवैध रूपमा चामल ल्याएर उद्योगमा भण्डार गरि बिक्री गर्ने गरेका छन् । एक व्यवसायीले नाम नबताउने सर्तमा भने, ‘उद्योग सञ्चालकनै अवैध रूपमा आएको चामल वैद्य बनाउन लागेका छन्, आफै धामि आफै झाँक्री भएपछि कस्को के लाग्छ ।’ प्रहरी स्रोतका अनुसार पनि कुनै पनि मालवहाक सवारी समात्ने बित्तिकै छुटाउन उद्योगी व्यवसायीकै धेरै फोन आउने गरेको छ । भारतबाट अवैध रूपमा भित्रिएको चामल सिमा क्षेत्रका विभिन्न स्थानमा भण्डारण गर्ने र कागजपत्र बनाएर चामल उद्योगमै ल्याई उद्योगको उत्पादन भनि बिक्री गर्ने गरिएको उद्योगी व्यवसायीहरूले नै बताउँदै आएका छन् ।
भारतले धान निकासीमा २० प्रतिशत भन्सार महसुल लगाएको छ भने नेपालको भन्सार विन्दुमा ५ प्रतिशत कृषि सुधार शुल्क तिर्नुपर्दछ । यस्तो अवस्थामा अवैध रूपमा चामलनै भित्रिदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीको भनाई छ । नवलपरासी, रूपन्देहि र कपिलवस्तुमा १६ ओटा चामल उद्योग छन् । ति उद्योगमा १५ अर्ब बढिको लगानी रहेको छ ।