© २०२३
काठमाडौं ।
नेपालमा विद्युतीय सवारीप्रतिको क्रेज बढ्दो नै छ । भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको ५ महिनाको आँकडाले पनि यस्तो देखाएको हो ।
विभागका अनुसार चालु आवको पाँच महिनामै विभिन्न तौल क्षमताका ३ हजार ६८६ वटा विद्युतीय गाडी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २.७२ गुणा बढी विद्युतीय गाडी आयात भएका हुन् । गत आवको मङ्सिरसम्म भने १ हजार ३५३ वटा मात्रै गाडी नेपाल आएका थिए ।
विभागका अनुसार एक महिनामै अर्थात् कात्तिकको तुलनामा थप ८९९ वटा विद्युतीय गाडी (२०१ किलोवाट देखि ३०० किलोवाटसम्मका पिक पावर जडित समेत) आयात भएका छन् ।
नेपालमा चीन, भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट विद्युतीय सवारी आयात हुने गरेको छ । समीक्षा अवधिमा ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताक विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ । नेपाल अटो बजारमा पनि बिस्तारै विद्युतीय गाडी केन्द्रित भएको पाइन्छ । विद्युतीय सवारी साधनका लागि सरकारले पनि नीति मार्फत नै प्रोत्साहन गरेको छ । सरकारले चालु आव २०८०/८१ को बजेट मार्फत नै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्ने उल्लेख गरेको छ । जसले विद्युतीय सवारी प्रयोगको सङ्ख्या वृद्धिमा थप योगदान गरेको छ ।
पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकका सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । विद्युतीय सवारी चार्जिङ्ग स्टेशन निर्माण पनि तिव्र रुपमा भईरहेका छन । लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुनेगरि आवश्यक पूर्वाधार पनि बिस्तारै बन्दै गएकाले पनि आकर्षण बढेको बताइन्छ । नेपाल विद्युत् प्राधिकरणले पनि विद्युतीय सवारी चार्जिङ्ग स्टेसन निर्माण गरिरहेको छ । यसका साथै निजी क्षेत्रबाट पनि चार्जिङ्ग स्टेसन निर्माणका भइरहेका छन् ।
चालु आवको पाँच महिनामा ९ अर्ब १० करोड ६४ लाख रुपैयाँ बराबरको सवारी नेपाल भित्रिएको हो । सो बराबरको विद्युतीय गाडी आयातबाट सरकारले ४ अर्ब २ करोड ८८ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
विभागका अनुसार गत कात्तिकमा पनि ६५२ वटा, असोजमा १ हजार २३७ वटा, भदौमा ७८८ वटा र गत साउनमा ११० वटा विद्युतीय सवारी आयात भएको थियो ।
विभागका अनुसार सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट आउने गरेको छ । पाँच महिनामा विभिन्न तौल क्षमताका २ हजार २९७ वटा गाडी चीनबाट आयात भएको छ । यस्तै, भारतबाट पनि १ हजार ३३८ वटा गाडी आयात भएको छ । समीक्षा अवधिमा कोरियाबाट २८ वटा, इन्डोनेसियाबाट १७, जर्मनबाट ३ वटा र अमेरिकाबाट पनि ३ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
कस्ता इभिमा नेपालीको बढी आकर्षण ?
पाँच महिनामा आयात भएका विद्युतीय गाडीको तथ्याङ्क अनुसार नेपालीहरूको धेरै रुचि ५० देखि १०० किलोवाट तौल क्षमताका सवारीमा बढी आकर्षण देखिएको छ । अझ बढी भने १०० किलोवाट तौल क्षमता इभिमा आकर्षण देखिएको छ ।
विभागका अनुसार पाँच महिनामा २ हजार २८ वटा इभि १०० तौल क्षमताका आयात भएका छन् । यस्तै, ५० किलोवाटसम्मका भने १ हजार ५९५ वटा र २०० किलोवाटसम्मका ५२ वटा सवारी नेपाल भित्रिएका छन् । यस्तै, २०१ किलोवाटदेखि ३००० किलोवाटसम्म (पिक पावर जडित) का विद्युतीय सवारी भने ११ वटा मात्रै आयात भएको छ ।
विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुण्डाइ, बिवाइडी ब्रान्डको विद्युतीय कारहरू निकै रुचाइएका विद्युतीय कारको ब्रान्ड हुन् । नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ ।