© २०२३
जनसङ्ख्या सम्बन्धी पछिल्ला तथ्याङ्कले मुलुकमा तीव्र बसाइँसराइको क्रम नरोकिए पहाडका बस्ती उजाड बन्नेमात्र होइन, पुख्र्यौंली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ । प्रतिवेदनले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा सहरी क्षेत्रबाट विदेश बसाइँसराई गर्नेक्रम तीव्र भएको देखाएको छ । गत मंसिरमा मात्रै नेपालबाट ९३ हजारले विदेश यात्रा तय गरेका छन । त्यसमध्ये धेरै स्वदेश फर्किन भन्दा उतै बस्न रुचाउने अवस्था देखिएको छ । बसाइँ सर्नेमा अधिकांश युवा र बालबालिकाको सङ्ख्या बढी रहेको छ । विज्ञहरुले बसाईसराईको यही अवस्था रहेमा नेपालमा यो ठूलो सामाजिक समस्या बन्ने चेतावनी दिएका छन । वि.सं. २०४६ सम्म पहाडी क्षेत्रमा बसोबास रहेपनि त्यसपछि भने त्यहाँको चाप क्रमशः तराईतर्फ सर्न थालेको देखिएको छ । यो अवस्था कायमै रहे नेपालमा पहाड रित्तिने अवस्था छ । त्यसैपनि नेपालको पहाडी क्षेत्रका घरमा मानिस बस्नै छोडेपछि भत्किने अवस्थामा पुगेका छन । खेती गर्ने जमिन बाँझिएका छन ।
पहाड र हिमालमा रहेको बसोबासमध्ये ८० प्रतिशत प्राकृतिक प्रकोपको जोखिममा रहेकोले पनि बसाइँसराईको क्रममा बृद्धि भएको तथ्याँकले देखाउँछ । यसबाहेक हावाहुरी, आगलागी र हिमताल फुट्ने डरले थालथलो छोड्न नेपालीलाई बाध्य पार्ने गरेको तथ्याँकले भनेको छ । पहिरो आदिका कारण पुराना पानीका मुहान सुक्ने कारणले कुनैकुनै गाउँमा तीव्ररूपमा पुख्र्यौंली गाउँ छोडने प्रवृत्ति बढेको छ । कृषिमा आधुनिकीकरण हुन नसक्नु, जनसङ्ख्याको १७ प्रतिशत अझै गरिबीमा रहनु र उच्च शिक्षाका विभिन्न समस्याका कारण स्वदेशी विश्वविद्यालयतर्फ विद्यार्थीको आकर्षण नहुनुले बसाइँसराइलाई बढाएको छ ।
बिज्ञहरुले बसाइँसराइको अर्को प्रमुख कारण प्राकृतिक प्रकोपलाई देखाएका छन । मौसम परिवर्तनको सर्वाधिक जोखिममा रहेका राष्ट्रमध्ये चौथोमा पर्ने नेपालमा बाढी र पहिरो तथा भूकम्पका कारण बसाइँ सर्ने क्रम बढ्दै गएको छ । आफ्नो जीवनस्तर उठाउने व्यक्तिगत चाहनाका नाममा सामाजिक, आर्थिक, शैक्षिक तथा वित्तीय पहुँचका लागि सदरमुकाम वा राजधानीतिर सर्ने प्रवृत्तिले पनि बसाइँसराईका लागि प्रेरित गरेको छ । समग्रमा विदेशबाट आउनेभन्दा नेपालबाट विदेश जाने नेपालीहरूको सङ्ख्या बढेको छ । अर्को चिन्ताको कुरा के छ भने नेपालमा प्रजनन दर तथा घट्दो मृत्युदर र जनसङ्ख्या वृद्धिदर घट्दो भएका कारण कामकाजी उमेरका वयस्कको आश्रयमा रहनुपर्ने वृद्धको सङ्ख्या वृद्धि हुँदै जाने र आगामी २५ बर्षपछि नेपाल पनि जापानमा जस्तै बुढ्यौलीहरुको देश बन्ने चिन्ता छ । नेपालले आगामी दिनमा सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, श्रमशक्तिमाथि लगानी बढाउनुपर्ने र आत्मनिर्भरता बढाउनुपर्ने अध्ययन प्रतिवेदनको सुझाव छ । सरकारले यो सुझावलाई आत्मसाथ गर्दै प्रतिवेदन कार्यान्वयनतर्फ अग्रसर भएमा मात्रै सकारात्मक प्रभाव देखिने आशा गर्न सकिन्छ । त्यसका लागि बसाईसराईको क्रम रोक्नेतर्फ पहिलो प्रयास जरुरी छ ।