© २०२३
बुटवल, ९ पुस । लुम्बिनी एक्स्पो, २०८० प्रदर्शनी केन्द्र बुटवल मण्डपमा जारी छ । पुस ५ गतेबाट सुरु भएको मेलामा कृषि तर्फको लागि छुट्टै पेभिलियनको व्यवस्था गरिएको छ । रूपन्देही व्यापार संघले आयोजना गरेको यो प्रदर्शनीको कृषि पेभिलियनको सुरुवाती स्थानमा प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको विवरण, त्यहाँबाट उत्पादित विभिन्न पुस्तक तथा सामग्रीहरू, छेवैमा उत्पादित भिडियो डकुमेन्ट्री समेत प्रसारण गरिएको छ ।
छेवैमा कृषि विकास निर्देशनालयको पनि स्टल छ । कृषि अधिकृतस्तरका एक जना कर्मचारी र कार्यालय सहयोग गरी २ जना स्टलमा बसेका हुन्छन । किसानले केही कुराको जिज्ञासा राखेमा अधिकृतस्तरका कर्मचारीहरूले विषय बस्तुबारेको ज्ञान प्रदान गर्दछन् भने जुन विषयमा किसानले जिज्ञासा राखेका हुन त्यो कार्यालय, विषय विज्ञको फोन नम्बर समेत उपलब्ध गराउँछन् ।
मायादेवीका मौरी किसान आईतबार मेलामा गए । उनले मौरी पालन सम्बन्धी थप जानकारी दिन स्टलमा गएका थिए । सो विषयमा उनले केही मौरी सम्बन्धीत पुस्तक पनि लिए भने केही थप जानकारीको लागि मौरी सम्बन्धी किट विज्ञको फोन नम्बर समेत लिए ।
नजिकै विभिन्न जिल्लागत रूपमा उत्पादन गरिएका सामग्रीहरूको प्रर्शनी, विक्री कक्ष स्थापना गरिएको छ । यसकै सबै चाँजोपाँजो प्रदेशको कृषि मन्त्रालयले गरेको हो । तराईंको उत्पादन देखि पुर्वी रुकुम हिमाली जिल्ला सम्मको उत्पादनको विक्रि कक्ष सहित प्रदर्शनी पनि गरिएको कृषि विकास निर्देशनालय बुटवलका प्रमुख राम प्रसाद पाण्डे बताउँछन् ।
मेला आयोजक संस्थासंगको सहकार्यमा किसानहरूको लागि जानकारीमुलक, किसानको उत्पादन प्रवद्र्धनको लागि समेत यस्तो प्रकृतिको प्रदर्शन गरिएको उनको भनाई रहेको छ । उनी भन्छन्– ‘किसानको उत्पादनको बिक्री पनि हुने प्रचार पनि हुने भएको कारण हामी यसको व्यवस्थापन गरेका हौं । ’
प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका मातहतका कार्यालयबाट पनि आ–आफ्ना कार्यालयको कार्यगत जानकारी सहितको डेमो समेत प्रदर्शन गरेको छ । कुखुरा विकास फार्म बाट उन्नत जातको कुखुराको समेत त्यहाँ प्रदर्शनी गरिएको हो । कृषितर्फ बाली विशेष तर्फ पाल्पाको सुन्तलादेखि गुल्मीको सुन्तला, जुनार, किबी समेत बिक्रीको लागि राखीएको हो । जहाँ किसानले उत्पादन गरेको आफ्नो बारीको सुन्तला, जुनार, किबीको बिक्रीसंगै खेती प्रविधिबारेमा समेत जानकारी दिएका छन् । रुकुम पुर्वको हिमाली जिल्लाबाट त्यहाँ उत्पादीत राडीपाखीको बिक्री संगै डेमो समेत राखीएको छ । जसमा उपभोक्ताले डेमो हेर्दे उत्पादित बस्तु खरिद बिक्री समेत गर्न पाउँछन् ।
प्रदेशमा रहेका संघीय कार्यालय मत्स्य संरक्षण तथा प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना सहित प्रदेशको जिल्ला भेटेरीनगरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रवद्र्धनमा देशकै प्रख्यात छपियाको माछाको समेत परिकार सहित विक्रीस्थल राखीएको छ । स्थानीय मत्स्य सम्बन्धी विशेष सहकारीको रूपमा रहेको जलदेवी मत्स्य उत्पादक कृषक सहकारी संस्थाले उत्पादन गरेका विभिन्न माछाका परिकारहरू, माछाको मःम, पकौडा, फ्राई, फ्रोजन लगायतका माछाका परिकारहरू बिक्रीको लागि राखीएको हो । सहकारीका अध्यक्ष गणेश साही बताउँछन् ।
फ्रोजनमा जोडः
विदेशमा फ्रोजन गरिएको माछा खाने प्रचलन रहेपनि नेपालमा यसको सुरुवात व्यापक रूपमा हुन सकेको छैन । नेपालमा पनि विदेशबाट फ्रोजन माछा आयात गरी केही स्तरिय होटलहरूमा यसको प्रयोग समेत हुदै आएको छ । सोही अनुसार छपियाको जलदेबी मत्स्य सहकारी संस्थाले प्राधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपर जोन संगको सहकार्यमा फ्रोजन माछा उत्पादन गरी बिक्री गर्दै आएको छ ।
बुटवलदेखि काठमाडौं सम्म पनि यो माछा विक्रिका लागि जाने गरेको छ । तर नेपालमा डिफ्रीज गरिएको, मेसिनबाट शुद्ध गरिएको फ्रोजन गरिएको माछा खाने संस्कारअझै विकास नभएको कारण यसको बजारीकरणमा केही समस्या रहेको जलदेबी सहकारीका अध्यक्ष गणेश साहीको भनाई छ । फ्रोजन माछाको ढुवानीको लागि आत्याधुनिक चिलिङ्ग भ्यान समेत सहकारीले खरिद गरेको छ ।
निःशुल्क माटो शिविरः
लुम्बिनी एक्स्पोमा माटो प्रयोगशाला खजुराबाट विशेषज्ञ टिम समेत आएको छ । किसानबाट संकलन गरिएको माटोको अवस्थाको विषयमा परिक्षण गरी निःशुल्क रूपमा किसानलाई प्रदान गर्ने गरी कार्यक्रम राखीएको हो । जसमा किसानले विभिन्न स्थानबाट माटोको नमुना ल्याएका छन् । जसमा किसानले माटोमा अम्लीय अवस्था वा क्षारिय अवस्था वा कुन प्रकारको माटो छ, सुधारको लागी गर्नुपर्ने काम सहित माटो अनुसार विउ विजन लागाउने सल्लाह सुझाव समेत पाउने गरेको लुम्बिनी एक्सपो कृषि पेभिलियन संयोजक मेघराज पौडेल बताउँछन् । माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा बाँके बाट पुस ९ गते देखि १३ गते सम्म निःशुल्क रूपमा घुम्ति माटो परिक्षण प्रयोगशाला सञ्चालन गरिने भएको हो ।
यान्त्रीकरणको प्रदर्शनीः
लुम्बिनी एक्स्पोमा कृषि यान्त्रीकरण सम्बन्धी प्रदर्शनी समेत गरिएको छ । छुट्टै स्थानमा सुपरसिडर, रिपर, लगायतका यन्त्र तथा उपकरणहरूको प्रदर्शन गरिएको छ । अन्य बेलामा उपकरण मात्रै राखिने गरिएकोमा यो पटक भने उपकरणको नाम, काम, लगायतको विशेषता समेत उल्लेख गरी विवरण राखीएको हो । थोर्गाको उखुर खुदोः हरेक मेलामा जस्तै यो पटक पनि गोरुले नै उखु पेलेर खुदो बनाएर स्थानीयहरूले उपभोग गरिरहेका छन् । गुल्मीको थोर्गा खुदोको लागि प्रख्यात मानिन्छ । सोही अनुसार उक्त स्थानबाट नै किसान आएर यसको विक्रि प्रवद्र्धन गरेका हुन् ।