© २०२३
पाल्पा, २४ कात्तिक ।
घर अगाडिको आँगन किनारामा ढकमक्क सयपत्री, गोदावरी फुलेको देख्दा फुलको पर्व मानिने तिहार नजिकिएको संकेत गर्दछ । बजारमा समेत पसल पसलमा उनेर बिक्रीका लागि राखिएको माला र शहरी क्षेत्रमा ग्रामीण बस्तीबाट कहिल्यै नओइलाउने मखमली फुल डोकोमा राखेर बिक्रीका लागि लैजाँदा तिहार घर आँगनमा नै भित्रिए जस्तो लाग्दछ ।
दिदी बहिनीले भाइ टिका लगाइदिए पछि दाजुभाइको गलामा लगाइदिने यस्ता प्राकृतिक फुलको विकल्पमा प्लाष्टिकका फुलका माला भित्रिदा पुराना पुराना वस्तु र सभ्यता र संस्कृति नै हराउँदै गएकोमा पुराना पुस्ताका टिकाराम गहिरे निराश छन् ।
आँगनको डिलमा फुल लगाउने चलन थियो । बजारमा पाइने प्लाष्टिकका मालाका प्रयोग नै हुँदैन थियो । गाउँमा तिहारलाई नै लक्षित गरेर सयपत्री, मखमली, गोदावरी जस्ता फुल लगाउने चलन थियो । सहरमा बस्नेले ग्रामीण क्षेत्रबाट डोकाभरी लगेको फुलको माला गाँस्ने चलन थियो । गाउँ बस्तीमा पछिल्लो समयमा वन्यजन्तुको समस्या देखा पर्नु, वैदेशिक रोजगारीको प्रभाव जस्ता कारणले कृत्रिम फुलको मालाको प्रयोग संगै व्यापार बढेको हो ।
कृत्रिम तथा आयातित मालाले सदरमुकाम तानसेन, रामपुरदेखि ग्रामीण बस्तीका बजारलाई समेत ढपक्कै ढाकेको स्थानीय व्यापारीहरु बताउँछन् । प्राकृतिक फुलका मालाका तुलनामा यस्ता आयातित फुलका माला देख्दा र हेर्दा आकषर््िात र कम मूल्यमा पाइने हुँदा बिक्रेताको नै आकर्षण बढेको व्यवसायी सन्तोष गुप्ता बताउँछन् ।
यस्ता कृत्रिम फुलको व्यापार गर्नेहरु सुरु सुरुमा भारतीय मूलका व्यापारीले बजारका मुख्य सडकका किनारा किनारामा टिका, भाइ मसलासंगै मालाको व्यापार गर्थे । पछिल्लो समयमा स्थानीय व्यवसायी तथा व्यापारीले समेत व्यापार गर्न लागेपछि तानसेनको बजारलाई कृत्रिम फुलको मालाले ढाकेको तानसेनका स्थानीय तथा संचारकर्मी भरत शर्मा बताउँछन् ।
वातावरणीय दृष्टिकोणबाट कृत्रिम, आयातित प्लाष्टिकबाट निर्मित माला राम्रो हँुदैन । यस्ता मालाका कारण प्राकृतिक फुलको मालाको व्यापारलाई नराम्रोसंग प्रभावित तुल्याएको छ । प्लाष्टिकका आयातित मालाको बिक्री वितरणमा पूर्णरुपले प्रतिबन्ध नै लगाउन पर्ने उनको सुझाव रहेको छ । यस्ता आयातित वस्तुलाई प्रतिवन्ध तथा बिक्री वितरणमा स्थानीय सरकारबाटै रोक लगाउनु पर्दछ । अनि मात्र स्थानीय उत्पादनले बजारसंगै मूल्य पाउने हो शर्मा बताउँछन् ।
तानसेन बजारमा भारतीय मूलका तथा भारतीय व्यापारीले यसवर्ष अत्यन्त कम मात्रामा प्लाष्टिकद्वारा निर्मित मालाको व्यापार गरेका छन् । स्थानीय व्यापारीले नै कृत्रिम फुलको व्यापार गरिरहेका छन् । प्राकृतिकको तुलनामा कृत्रिम मालाबाट राम्रो मुनाफा आर्जन गर्न सकिने भएकाले यस्ता माला बिक्रीका लागि राखेको तानसेनकी स्थानीय व्यापारी वसन्ती थापा बताउँछिन् । प्लाष्टिकबाट निर्मीत माला बिक्री वितरण नगर्न भनेर आफुलाई नगरपालिका, उद्योग वाणिज्य संघ, व्यापार संघ जस्ता कुनै पनि निकायबाट जानकारी नदिएको बताउँदै यसवर्ष २० हजार रुपैयाँको माला ल्याएको र सबै माला बिक्री भए सात हजार रुपैयाँ नाफा हुने उनले बताइन् । यस्ता फुलको मालाको बिक्री वितरणलाई पुर्ण रुपले रोक्ने जिम्मेवारी स्थानीय सरकारको हो । बजार अनुगमन औपचारिकतामा मात्र सीमित हुँदा समस्या भएको नेपाल नागरिक समाजका अध्यक्ष चित्रवली रामसुवल बताउँछन् ।
तानसेन नगर सरकारका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा थापा भने यस्ता प्लाष्टिक तथा कृत्रिम आयातित माला बिक्रीका लागि नगर सरकारले रोक लगाएको बताए । यस विषयमा नगर प्रहरीले सार्वजनिक सूचना नै प्रसारण गरेर सबै व्यापारीलाई सचेत गराएको उनको भनाई छ ।
पछिल्लो समयमा नयाँ पुस्ताका युवाहरुले व्यावसायिक रुपमा पुष्प खेति गरेका छन् । नगर सरकारले कृत्रिम तथा प्लाष्टिकको मालालाई प्रतिबन्ध नलगाउँदा प्राकृतिक सयपत्री फुलको व्यापारलाई प्रभावित तुल्याएको तानसेनका युवा पुष्प व्यावसायी हरि पौडेल बताउँछन् ।
स्थानीय सरकारको बेवास्ताका कारण तानसेनसंगै वगनासकाली गाउँपालिकाको मुख्य बजार आर्यभज्याङ, रभ्भाको ताहु, हुमिन, हुँगी, पुर्वखोलाको पुर्वखोला बजार, निस्दीको ढुंगानाबेसी, मित्याल, माथागढीको सराई, खहरे देवगीर, झडेवा, रिब्दीकोटको हार्थोक, रैनादेवीको छहरा, रामपुर नगरको रामपुर बजारमा नेपाल सरकारले एक वर्ष अगाडि प्रतिबन्ध लगाएको प्लाष्टिकको माला बिक्री हँुदै आएको छ ।
नेपाल सरकारले गत वर्षको साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरी नेपालमा कृत्रिम प्रकारका फुल र मालाको सबै प्रकारको कारोवार नै निषेध गरेको थियो । वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उप दफा ९६ ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकका फुल, गुच्छा मालाको उत्पादन, आयात, बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । वन तथा वातावरण मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख गरे अनुरुप सरकारले परिणात्मक वा पूर्ण रुपमा बन्देज लगाएका वस्तु आयात गर्न नपाइने गरिएको निकासी पैठारी ऐन २०१३ मा प्रष्ट छ । ऐनको दफा ५ अनुरुप सरकारले निकासी पैठारी खरिद बिक्रीमा बन्देज लगाएको वस्तु निकासी या पैठारी गरेमा यस्ता वस्तु जफत गरिनुका साथै सो को मूल्य बराबर जरिवाना र १ वर्ष कैद सजाय हुने कानुनमा उल्लेख गरेको कानुन व्यवसायीहरु बताउँछन् ।
कानुनी रुपमा बन्देज भएका वस्तुहरुको भन्सार कार्यालयबाट नै आयातमा प्रतिवन्ध लगाउनु पर्ने तानसेन नगर सरकारका कार्यवाहक प्रमुख सागर महर्जन बताउँछन् । यस्ता वस्तुको आयातमा नै रोक लगाएपछि बिक्री वितरण त्यसै रोकिने छ । सरकारले राजस्व संकलन गर्ने उद्देश्यले आयातमा रोक लगाउन नसक्दा बजारमा कृत्रिम फुलको माला भेटिएको उनले बताए ।