© २०२३
बुटवल, ७ कात्तिक । काठमाडौं नयां बानेश्वरका शत्रुघन ढकाल (एसपी) ले २० वर्ष अघि भारतीय वहुराष्ट्रिय कम्पनी बीन हेल्थ केयर लि.मा जागिर शुरु गरे । उक्त कम्पनीमा १० वर्ष जागिर गरेपछि ढकालले काठमाडौंमै विभिन्न कम्पनीका उत्पादनको थोक विक्रेता (डिलर) भएर व्यवसाय शुरु गरे । व्यवसायका क्रममा उनले देशभर सञ्जाल बनाए ।
८ वर्षसम्म स्वदेशी र विदेशी कम्पनीका सामान विक्रि गर्ने क्रममा ढकालले आफूले समेत डिलर लिएको विनोद चौधरीको वाईवाई चाउचाउ विदेश निर्यात भएको पनि देखे ।
यसले ढकालको मनमा वाईवाई जस्तै विदेश निर्यात गर्न सकिने वस्तु उत्पादन गर्नुपर्छ भन्ने सोंच पलायो । बजार अध्ययन गरेपछि उनले नवजात शिशु र अपरेशन गरेका विरामीले गरेको पिसाब सोस्ने वस्तु (डाइपर) र वेट बाइप्स उत्पादन गर्ने उद्योग खोल्ने निधो गरे ।
‘२० वर्षसम्म विदेशी सामान आयात गरी विक्री गर्दा आफूलाई त फाइदा भयो, देशलाई त उल्टो ब्यापार घाटा मात्रै भयो भन्ने महसुस भएपछि उद्योग खोल्ने निधो गरेको हुं’–ढकालले भने–‘काठमाडौंमा उद्योगलाई चाहिने पर्याप्त जग्गा एकैठाउंमा नपाएपछि नवलपरासी पश्चिमको रामग्राम आइपुगेको हुं ।’
बेलहिया नाका नजिक, पुर्व पश्चिम हुलाकी राजमार्ग नजिकै र देशको मध्य भागमा पर्ने भएकाले सञ्चालनमा सहज हुने ठानेर रामग्राम नगरपालिका १५ शुक्रौलीमा साढे २ बिघा जग्गा पाइएपछि उनले करिब एक अर्ब लगानीमा ब्रजेश्वरी इण्डष्ट्रिज सञ्चालनमा ल्याए ।
ब्रजेश्वरी इण्डष्ट्रिज बेबी डाइपर र वेट वाइप्स उत्पादन गर्ने नेपालका ४ वटा उद्योग मध्ये सबैभन्दा ठूलो हो । उद्योगले १२५ जनालाई रोजगारी दिएको छ ।
वहुराष्ट्रिय कम्पनीमा काम गर्दा र थोक विक्रेता भएर व्यवसाय गर्दा गुणस्तरीय वस्तुलाई बजारको समस्या हुंदैन भन्ने अनुभव बटुलेका ढकालले आफ्नो उद्योगमा अन्तर्राष्ट्रिय मापदण्डमा गुणस्तरीय डाइपर उत्पादनमा कुनै सम्झौता गरेनन् । जापान र अमेरिकी प्रविधिका मेशिनबाट उत्पादन शुरु गरेका ढकालको उद्योग ब्रजेश्वरीले २ वर्ष नपुग्दै विदेशी ब्राण्डसंग प्रतिष्पर्धा गर्न सफल भयो । उद्योगले नेपालका लागि न्यानो र टेन्डरटच ब्राण्डको डाइपर र वेट वाइप्स उत्पादन गर्दै आएको छ भने भारतीय कम्पनीहरु भेल्निक, एचएमएच,युरो इण्डिया तथा केएफ इन्टरनेशनलका लागि पनि उत्पादन गर्ने गरेको सञ्चालक ढकालले बताए ।
‘नेपाली उत्पादन भन्ने वित्तिकै नाक खुम्चाउने र गुणस्तरमा विश्वास नगर्ने मानसिकता धेरै नेपालीहरुमा अझै कायम छ, तर हाम्रा उत्पादनले छोटो समयमै विदेशी उपभोक्ताको मन जितेर निर्यात हुन थालेको छ’–ढकालले भने–‘प्रयोगशालामा गुणस्तर जांचेर मात्रै उत्पादन प्रकृयामा जाने भएकाले विदेशी ब्राण्डसंग प्रतिष्पर्धा गर्न सफल भएका छौं,उत्पादन शुरु गरेको सात महिनामै भारतका विभिन्न शहरमा राम्रो बजार पायौं ।’ आगामी मार्चसम्मका लागि डाइपर र वाइप्सको अर्डर आइसकेको र त्यसभन्दा यता थप माग पुर्ति गर्न नसक्ने उनले बताए ।
उद्योगले एक वर्षको अवधिमा १६ करोड रुपैयांको डाइपर र वाइप्स भारत निर्यात गर्न सफल भएको उद्योगका सञ्चालक ढकालले बताए । उद्योगले आफ्नो उत्पादनको करिब ५० प्रतिशत र नेपालमा रहेका ४ वटा डाइपर उद्योगले गर्ने कूल निर्यातको ६० प्रतिशत हिस्सा निर्यात गरेको ढकालले बताए । अबको दुई वर्षभित्र वार्षिक एक अर्ब रुपैयांको डाइपर निर्यात गर्ने उद्योगको लक्ष्य छ ।
उच्च गुणस्तरका कच्चा पदार्थ प्रयोग गरेको उद्योगले एक वर्षमा ४३ करोड मूल्यका डाइपर उत्पादन गरेको छ । यो उद्योगमा दैनिक ६ लाख पिस र प्रतिवर्ष २४ करोड पिस डाइपर उत्पादन क्षमता भएपनि हाल दैनिक ४ लाख पिस मात्रै उत्पादन गरिरहेको छ । आफ्नो उद्योग पूर्ण क्षमतामा सञ्चालन भएमा नेपालको कूल मागको ५० प्रतिशतसम्म थेग्न सक्ने ढकालको भनाई छ । नेपाली बजारका लागि प्रतिवर्ष ४८ करोड पिस डाइपर आवश्यक पर्छ ।
हाल नेपालका सातै प्रदेशमा १ सय डिलरमार्फत उद्योगका उत्पादन बिक्री हुँदै आएको र अब भारतसँगै अमेरिका, अफ्रिका तथा युरोपमा समेत निर्यात गर्न आई.एस.ओ.सर्टिफिकेट प्राप्त गरिसकेको सञ्चालक ढकालले बताए । तेस्रो मुलुकमा निर्यातका लागि स्याम्पल पठाइसकेको र राम्रो रेस्पोन्स आएको उनले बताए ।
विदेशी मुलुकहरुमा बहुराष्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने भएपनि अब्बल गुणस्तरकै कारण माग बढ्दै जाँदा बजार विस्तारमा सहज भएको ढकालले बताए । उत्पादनका भेराइटी थप गर्न ढकालले उद्योगका लागि थप एक बिघा जग्गा खरिद गरिसेको र भविष्यमा टिस्यु पेपर उत्पादन गर्ने बताए ।
‘हाम्रो उत्पादन गुणस्तरीय र विदेशीभन्दा सस्तो छ । उत्पादनदेखि प्याकेजिङसम्म विदेशीसँग प्रतिस्पर्धा गर्ने हैसियतको बनाएका छौं’ उनले भने –‘यो निकै सुखद पक्ष हो, अब सरकारले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग गरी आयात प्रतिस्थापन गर्नुपर्छ ।’
बुबाले सञ्चालन गरेको उद्योग सफल भएपछि सिड्नी र लण्डनमा रहेका दुई छोरा सनिमराज र स्वर्णिमराज समेत नेपाल फर्केर उद्योगको व्यवस्थापन सम्हाल्ने तयारीमा लागेका छन् । ‘अरुका छोरा छोरी विदेश जांदैछन् तर मेरा उद्योग सम्हाल्न र विस्तार गर्न विदेशबाट राम्रो अवसर छाडेर नेपाल फर्किदैछन्’–ढकालले भने ।
कच्चा पदार्थ आयातमा एक प्रतिशत रहेको भन्सार दर एकैचोटी बढाएर ५ प्रतिशत पुराएर सरकारले उद्योगीलाई मारमा पारेको सञ्चालक ढकालको गुनासो छ ।
स्वदेशी उद्योगलाई संरक्षण गरी आयात प्रतिस्थापन गर्नुको साटो सरकारले कसैको स्वार्थमा भन्सार दर बढाएको र विदेशी डाइपर आयातमा भन्सार दर घटाएको भन्दै उनले सरकारको गलत नीतिले लगानी थप हुन नसकेको बताए ।
विदेशबाट हुने आयात रोक्न सरकारले स्वदेशी उद्योगीलाई संरक्षण र प्रवद्र्धन गर्ने नीति र योजना ल्याउनुपर्ने उनको माग छ ।
आफ्नो उद्योग रहेको क्षेत्र भैरहवा परासी औद्योगिक करिडोर भएपनि यहां शान्ति सुरक्षाका लागि प्रहरी चौकी,खानेपानी र विद्युत सुविधाका लागि तीनै तहका सरकारले बेवास्ता गरेको ढकालको गुनासो छ ।
आध्यात्मिक र धार्मिक आस्थामा विश्वास गर्ने ढकाल आफ्नो पुख्र्यौली पेशा उद्योग,ब्यापार नभएपनि गुणस्तरलाई पहिलो प्राथमिकता, इमान्दारिता,देशभरका डिलरको साथले सफलता हासिल भएको ढकालले बताए ।
हाल नेपालमा ब्रजेश्वरी वाहेक विराटनगरमा २ वटा तथा रुपन्देहीको तिलोत्तमामा एउटा गरी ४ वटा डाइपर उद्योग छन् ।