© २०२३
नवलपुर, २ असोज ।
हरेक वर्षको बिश्वकर्मा पूजामा पाँच लाख बढीको मिठाई बिक्री गर्ने गैंडाकोटका राम गौतम यो पटक भने मुस्किलले एक डेढलाखको मात्रै मिठाई बेचे ।
आर्थिक मन्दीको सबैभन्दा ठूलो समस्या ब्यापारमा देखिएपछि व्यवसायलाई निरन्तरता दिने कि अन्य पेशा गर्ने भनेर गौतम अहिले दोधारमा छन् । गौतम त प्रतिनिधि पात्र मात्रै हुन् । “अहिले आर्थिक मन्दीको चरम प्रभाव व्यापारमा परेको छ”–गैंडाकोटका कपडा ब्यापारी रविन्द्र अधिकारी भन्छन्, “ब्यापार नै कुनै पनि वस्तुको उल्लेख्य हुनै सकेको छैन र दिन प्रतिदिन सटरहरु खाली हुुँदै जान थालेका छन् ।
“अहिले चाडपर्व शुरु भएको छ । महिलाहरुको ठूलो चाड हरितालिका तीज समेत खासै उल्लेख्य रमाइलो बन्न सकेन”– महिला अगुवा सरिता श्रेष्ठले भनिन्, “तिज आएपछि राम्रा राम्रा कपडा किन्ने र रमाईलो गर्ने हो तर मन्दीको प्रभाव यहाँ पनि चरम रुपमा देखियो र तिज खासै रमाईलो बन्न सकेन ।”
तिजको दरखाने र रमाईलो गर्ने संस्कार, रीतिरिवाज, परम्परा भए पनि आर्थक मन्दीको प्रभाव नै हरेक ठाउँमा देखियो । जसका कारण चाडपर्व भने जस्तो उल्लासपूर्ण बन्न नसकेको देवचुलीका वसन्त पोखरेल बताउँछन् ।
हरेक वर्षको बिश्वकर्माको पुजामा पाँच लाखको मिठाई मात्र बेच्ने गरेका गौतम अहिले पनि पाँच लाख बढीको मिठाई बेच्ने लक्ष्यका साथ अघि बढेका भए पनि विश्वकर्माको पूजा गर्ने दिनमा एक लाख डेढ लाख भन्दा माथिको व्यापार नै नभएको गुनासो गर्छन् ।
अहिले जताततै ब्यापार नै छैन, ब्यापार नहुँदा ब्यापारीहरु पसल नै छाड्ने र बिस्थापित हुने समस्या दिन प्रतिदिन बढिरहेको र यसरी नै ब्यापार हुन छाड्ने हो भने ६० प्रतिशत ब्यापारीहरुले ब्यापार पेशाबाट हात धुनुपर्ने अवस्था आउने दलदलेका ब्यापारी रमेश खनालले बताए ।
“नवलपरासी पुर्वमा ३० प्रतिशत ब्यापारीले ब्यापार छाडिसके”, उद्योग बाणिज्य संघका नवलपुुर अध्यक्ष बैकुण्ठ अर्यालले भने, “आर्थिक मन्दीले ब्यापार धराशयी भैसक्यो, ब्यापार गर्न चाहने भन्दा छाड्नेहरु बढी हुँदै गएका छन् र यही अवस्था आउने हो भने एक वर्षमा ब्यापार छाड्ने ६० प्रतिशत माथि जाने पक्का छ ।
गैंडाकोटदेखि विनयी त्रिवेणी सम्मका पसलहरु अहिले पनि धेरै बन्द भैसके, बन्दका कारण बजार कलकारखाना पनि राम्रोसंग खुल्न सकेका छैनन्, चाहे चाडवाड होस् चाहे कुनै कार्यक्रम हुन आर्थिक मन्दीको असरले सबै क्षेत्र धराशयी बन्दै गएको उद्योगी एकदेव रिमालले बताए ।
सरकारले उद्योगी ब्यापारीलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउन अनिवार्य रहेको निजी क्षेत्रका ब्यवसायीहरु बताउँछन् ।