© २०२३
‘हरियो वन नेपालको धन’ यो नारा अहिलेपनि उत्तिकै लोकप्रिय छ । तर, यो नारा अनुसारको वनको भूगोल छ भनेर हामी नेपालीले गर्व गर्ने दिन गएको जस्तो आभाष भैरहेको छ । २०४६ सालमा प्रजातन्त्र नआएको भए नेपालको वन अहिलेसम्म सखाप भैसक्थ्यो । २०४६ सालको परिवर्तनपछि सामुदायिक वनको अवधारणा आयो र वन केही हदसम्म जोगिएको छ । बीचमा सामुदायिक वनका पदाधिकारीहरू स्वयं वन तस्करीमा संलग्न भएको कुरा पनि आएकै हो तर पछि यसमा सुधार आएको छ ।
हरियो वन नेपालको धन भन्ने नारा अहिले हराउँदै गएको हो कि भन्ने अनुभूति सवैले गरेको बिषय हो । किनभने सामुदायिक वन, राष्ट्रिय वन, साझेदारी वन, नीजि वन गरि जति पनि वन संरक्षणका प्रयास भएका छन, त्यसले वन जोगिएको सुखद सन्देश दिन सकेका छैनन् । नहुनुभन्दा कानो मामा..भनेजस्तै नेपालको वन क्षेत्र भएको छ । थोरै संरक्षणमा सहयोग पुगेको हो कि भन्ने छ तर वन जोगिएको छैन । पछिल्लोसमय नेपालको वन क्षेत्रको व्यापक दोहन भएको छ । यही रूपन्देहीको कन्चन गाउँपालिका काठ तस्करीको केन्द्र नै बनेको छ । त्यहाँ हरेक महिनाजसो काठ तस्करीका घटना सार्वजनिक भैरहेकै हुन्छ । रूपन्देहीका अरू बन क्षेत्रमा पनि काठ तस्करले वन विनासको क्रमलाई रफ्तारमा अघि बढाएका छन् । नेपालको बन तस्करको धन भैरहेको छ । बन जंगलको चोरी तस्करीे नियन्त्रणमा सरकारको ध्यान गएकै छैन ।
दुई बर्षअघि बुटवलकै सेरोफेरोमा लाखौं मूल्यका काठ चोरी तथा तस्करी हुने गरेको घटना सार्वजनिक भएका थिए । यस प्रकारका घटनाले वास्तवमै नेपालको वन जंगल कति सुरक्षित छ भन्ने स्पष्ट हुन्छ । रूपन्देहीमात्र होइन नवलपरासी र कपिलवस्तुमा समेत वनविनास भैरहेको सरकारी तथ्यांक नै सार्वजनिक भएको छ । खासगरि चुरे क्षेत्रमा वन विनासको क्रम बढेको देखिएको छ । वन विनास नियन्त्रण गर्ने सरकारी निकायको लापरवाहीका कारण अहिले वनविनास बढिरहेको देखिएको छ । यो तथ्यलाई स्वयं सरकारी अधिकारीहरूले नै स्वीकार गरेका छन ।
सामुदायिक वनमा समेत पछिल्लोसमय काठ चोरी निकासी र तस्करी भैरहेको समाचार सुन्नमा आईरहेका छन । सामुदायिक वन जोगिएको छ तर यहीक्रममा दोहन बढ्दै जाने हो भने निश्चितरूमा सामुदायिक वनको अवस्थापनि राष्ट्रिय वनकै जस्तै हुनेछ । चुरे क्षेत्रको वन मासिँदै गएकोले भूक्षय, पहिरो, कटानका घटना बढ्दै गएको अध्ययनले देखिएको छ । निश्चितरूपमा वन जङ्गलको विनासपछि उत्पन्न हुने समस्यालाई जलवायु परिवर्तनसँग जोडेर हेरिने गरेको छ । यो सान्दर्भिक पनि छ । चुरे क्षेत्रमा भइरहेको वनजङ्गलको विनाश, वनजङ्गल विनाशले हुने चुरे कटान र त्यसबाट हुने मरुभूमिकरणलाई एकसाथ जोडेर हेरिएन भने आगामी दिन नेपालका लागि खतरा हुनेछ । तसर्थ पनि चुरेको वन विनास नियन्त्रण आजको आवश्यकता हो । चुरे क्षेत्रको भूमि हेर्ने हो भने चुरेले निम्त्याउँदै गएको समस्या यति गम्भीर बन्दै गएको छ कि यसलाई बेलैमा रोक्ने पहल नगर्ने हो भने भोलिको पुस्ताले तराईको खेतीयोग्य जमिन बगर र मरुभूमिको रूपमा मात्रै देख्नेछन् ।
पछिल्लोपटक रूपन्देहीको कन्चन र कपिलवस्तुका केही स्थानमा भएको काठ चोरी तस्करीका घटनाले काठ कटान, चोरी र तस्करी कति हुनेरहेछ भन्ने प्रमाणित भएको छ । काठ कटानकै कारण चुरेको समस्या पूर्वदेखि पश्चिमसम्म फैलिएको छ तर अहिलेसम्म पनि चुरे क्षेत्रको वनजङ्गल विनाश रोक्ने र चुरे कटानबाट तराईको भूभागलाई मरुभूमिकरण हुनबाट बचाउने बृहत् योजना सरकारको देखिँदैन् । अव काठ कटान र तस्करीमा संलग्नमाथि कडा कारवाही होस् । यो अभियानमा सरकारमात्र होइन, सामुदायिक वनका पदाधिकारहरूको समेत ध्यान जानु अति जरुरी छ । पछिल्लोसमय सरकारले सामुदायिक वनलाई नियन्त्रण गर्ने योजना बनाउँदै गरेको गुनासो बढेको छ । सामुदायिक वनलाई नियन्त्रण भन्दा जिम्मेवार र जवाफदेही बनाउनेतर्फ सरकारको ध्यानाकर्षण होस् ।