© २०२३
बुटवल,१३ साउन । नेपाली उत्पादन भन्ने वित्तिकै नाक खुम्चाउने र विश्वास नगर्ने मानसिकता धेरै नेपालीहरुमा अझै कायम छ ।
तर नवलपरासी पश्चिमको रामग्राममा स्थापना भएको ब्रजेश्वरी इण्डष्ट्रिज प्रालिले उत्पादन गरेका डाइपर र बेवी वाइप्स गुणस्तरमा अब्बल सावित हुंदै एक वर्ष नपुग्दै छिमेकी देश भारतमा निर्यात गर्न सफल भएको छ ।
एक अर्ब बढी लागतमा स्थापना भएको ब्रजेश्वरी इण्डष्ट्रिज डाइपर उत्पादन गर्ने नेपालका ४ वटा उद्योग मध्ये सबैभन्दा ठूलो हो । उद्योगले दैनिक ६ लाख पिस डाइपर उत्पादन क्षमता भएपनि हाल दैनिक ३ लाख पिस मात्रै उत्पादन गर्ने गरेको छ ।
उद्योगले एक वर्षको अवधिमा नेपालका लागि ३० करोड मूल्य बढीको उत्पादन गरेको छ भने भारतका लागि १३ करोड बढीको उत्पादन निर्यात गरेको छ । सन् २००५ देखि बहुराष्ट्रिय कम्पनीका सामान विक्रि गर्दै आएका एसपी ढकालले दुई दशकसम्म अरुका सामान विक्री गरेपछि आफै उत्पादन किन नगर्ने भन्ने सोंचले ब्रजेश्वरी इण्डष्ट्रिज उद्योग स्थापना गरेको बताउंछन् ।
‘दुई दशकसम्म विदेशबाट सामान आयात गरी विक्री गरियो, तर त्यसले म आफूलाई त फाइदा भयो, देशलाई त उल्टो ब्यापार घाटा मात्रै भयो भन्ने महसुस भएपछि उद्योगमा लगानी गरेको हुं’–उद्योगका संस्थापक अध्यक्ष ढकालले भने–‘गुणस्तरीय डाइपर उत्पादन गरेको हुंदा सात महिनामै भारतका विभिन्न शहरमा राम्रो बजार पायौं ।’ विदेशी मुलुकहरुमा बहुराष्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने भएपनि अब्बल गुणस्तरकै कारण माग बढ्दै जाँदा बजार विस्तारमा सहज भएको ढकालले बताए । भविष्यमा न्यापकिन पेपर, टिस्यु पेपर आदि थप उत्पादनहरु गर्दै जाने ढकालले बताए ।
उद्योगले नेपालका लागि न्यानो र टेन्डरटच डाइपर उत्पादन गर्दै आएको छ भने भारतीय कम्पनीहरुभेल्निक, एचएमएच, युरो इण्डिया तथा केएफ इन्टरनेश्नलका लागि उत्पादन गर्ने गरेको ब्रजेश्वरीका डाईरेक्टर सनिमराज ढकालले जानकारी दिए । नेपालका सातै प्रदेशमा करिब एक सय वटा डिलरमार्फत उद्योगका उत्पादन विक्रि हुंदै आएको ढकालले बताए ।
भारतसंगै अफ्रिका तथा युरोपमा समेत निर्यात गर्ने तयारीमा रहेको भन्दै ढकालले आईएसओ सर्टिफिकेट प्राप्तिको प्रकृया अन्तिम चरणमा पुगेको जानकारी गराए ।
‘बज्रेश्वरीका उत्पादन अन्तर्राष्ट्रिय गुणस्तर र मापदण्डका भएको उपभोक्ताको प्रतिक्रिया पाएका छौं’–विराटनगरका विक्रेता सरोज घिमिरेले भने–‘नेपाली उद्योगका उत्पादन पनि अब वहुराष्ट्रिय कम्पनीका उत्पादनसंग मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न सक्ने देखिएका छन्, यो निकै सुखद पक्ष हो, हामीले नेपाली प्रोडक्टमा विश्वास गर्नुपर्छ ।’
नेपालका लागि आवश्यक पर्ने खपतको ५० प्रतिशत उत्पादन गर्न सक्ने क्षमता भएपनि उद्योगलाई पूरा क्षमतामा भने सञ्चालन नगरिएको डाइरेक्टर सरिता ढकालले बताइन् । ‘नेपाली बजारका लागि प्रतिवर्ष ४८ करोड पिस डाइपर आवश्यक पर्ने हो हामीले २५ करोड पिस उत्पादन गर्न सक्छौं’–उनले भनिन्, आफ्नो उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नकै लागि भारतसँगै अन्य मुलुकहरुमा समेत निर्यातको तयारी भएको उनले स्पष्ट पारिन् ।
कम्पनीका डाइरेक्टर शिक्षा पोखरेल ढकालले उद्योगमा करिब १५० जनालाई प्रत्येक्ष रोजगार दिन सफल भएको बताइन् ।
उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बज्रेश्वरी इण्डष्ट्रिज जिल्लाको मात्र नभई लुम्बिनी प्रदेशकै गौरव गर्न लायक निर्यातमुलक उद्योग भएको बताए । ‘यस्ता निर्यातमूलक उद्योगहरुलाई तीनै तहका सरकारले विशेष सहुलियत र प्रोत्साहन दिन आवश्यक छ’–भण्डारीले भने ।