© २०२३
घना जंगलको बीचमा जीवित व्यक्तिको शालिक ठडिएपछि पूर्वी रुकुमस्थित भूमे गाउँपालिकाको चर्को आलोचना भइरहेको छ । युद्ध पर्यटनको झल्को दिनेगरी शालिक बनाएपनि गाउँपालिकाले त्यसलाई स्वीकार गरेको छैन् । गाउँपालिकाले ‘यूद्ध तस्विर’ भन्दै स्पष्टीकरण दिइरहेको छ । नागरिकस्तरबाट भने यसको आलोचना भइरहेको छ ।
पालिकाको वडा नम्वर ६ महतस्थित ठूलो स्यामाङपोमा ६ वटा शालिक निर्माण गरिएको हो । ती मध्ये ५ वटा जीवित व्यक्तिका हुन् । एउटा शहिद भइसकेका व्यक्तिको हो । बहालवाला उपराष्ट्रपती रोल्पाका नन्दकिशोर पुन (पासाङ)को पनि शालिक बनाइएको छ । शालिक निर्माणस्थलको तत्कालिन महतचौकी कब्जा गर्नेबेला पासाङ माओवादी कमाण्डर थिए । त्यही सम्झनास्वरुप गाउँपालिकाले शालिक बनाइदियो । २०५६ साल असोज ६ गते महत प्रहरीचौकी तत्कालिन माओवादीका लडाकुले कब्जा गरेका थिए । नेपाल प्रहरीका तत्कालिन प्रहरी नायव उपरिक्षक (डिएसपी) ठूले राई अपहरणमा परेको घटना यही थियो । महत प्रहरीचौकी कब्जा गर्ने क्रममा प्रमुख भूमिकामा रहेका तत्कालिन माओवादी नेताहरुको शालिक गाउँपालिकाले बनाएर गुण लगाउन खोजेको देखिन्छ ।
एक नम्वर प्लाटुङ क्षेत्रको कमाण्डर रोल्पाका हरी बहादुर पुन (बरुण), २ नम्वर प्लाटुङ क्षेत्रको कमाण्डर पूर्वी रुकुमका होम प्रकाश श्रेष्ठ (हिमाल), स्वास्थ्यकर्मीको प्रतिनिधित्व गर्दै कृष्ण रेग्मी (विवश), द्धन्द्धको बेला गाउँको सुरक्षाकर्ताको रुपमा रहेका पूर्वीरुकुमका जित बहादुर बुढा (खामेशिखर) र शहिद परिवारको प्रतिनिधित्व हुनेगरी पश्चिम रुकुमका किशोर घर्ती (निर्मान)को स्थानीय कालीगढहरुबाट कुदेर शालिक बनाइएको छ । घर्ती दश वर्षे सशस्त्र युद्धको क्रममा मारिएका थिए ।
गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार अझै काम हुन बाँकी रहेको प्रतिक्रिया दिए । ‘केही शहिदहरुको अझै बनाउनुपर्ने छ’,उनले भने,‘तीन करोडको डिपिआर तयार छ । हालसम्म करिव ५० लाख बढी रुपैयाँको मात्र काम भएको छ ।’ आर्थिक वर्ष २०७४÷०७५ देखि गाउँपालिकाले यस क्षेत्रमा खर्च गरिरहेको छ । मानिसको आकृतिलाई कुँदेर बनाएपछि शालिक नै हो भन्ने भ्रम भएतापनि यसलाई यूद्ध तस्विरको रुपमा बुझिदिन उनी आग्रह गर्छन् ।
उनले द्धन्द्धकालको सम्मान र अपनत्व हुनेगरी तत्कालिन समयका महिला छापामार र प्रहरीबाट एक÷एक जनाको प्रतिनिधत्व हुनेगरी थप संरचना बनाउने तयारीमा रहेको समेत जानकारी गराए । ‘मान्छेको आकृती बनाउँदा मानिसहरुले शालिकको परिभाषा लगाए’,बुढामगरले थप स्पष्ट पार्दै भने,‘युद्ध अध्ययन र नयाँ पुस्तालाई बुझ्नका लागि यूद्ध फिचरको रुपमा राखिएको मात्र हो ।’
तर, उनको प्रतिक्रियालाई नागरिकस्तरबाट खण्डन भएको छ । ‘गाउँपालिका अध्यक्षले युद्ध पर्यटनको झल्को दिने गरी बनाइएको भनिरहनुभएको छ’,नेकपा एमाले पूर्वी रुकुमका अध्यक्ष टोप बहादुर वली भन्छन्,‘तर, उहाँले युद्ध पर्यटनको मर्म बुझ्नु भएको रहेन्छ ।’ शहिद भएका व्यक्तिहरुको मात्र शालिक बनाउनुपर्नेमा जीवित मानिसको शालिक बनाएर नकरात्मक सन्देश दिएको उनको टिप्पणी छ ।
सत्ता र शक्तिमा हुँदा भौैतिक संरचनामा लगानी गरी सरकारको बजेट दुरुपयोग गर्न नहुने नेपाली कांग्रेस पूर्वी रुकुमका पार्टी सभापती केशरमान रोकाले प्रतिक्रिया दिए । ‘केहीले ज्यूँदो मानिसले राहत पाए भन्ने पनि रहेछन्’,उनले भने,‘लाखौँको भौतिक संरचना बनाउनुपूर्व राम्रोसँग अध्ययन, अनुसन्धान हुनुपर्दथ्यो ।’
शालिक भन्ने वित्तिकै मृत्यु भइसकेका व्यक्ति वा शहिदको भन्ने नागरिकस्तरमा बुझाई भएतापनि जीवित व्यक्तिकै शालिक बनाएपछि गाउँपालिका विवादमा तानिएको हो । भूमे गाउँपालिकामा माओवादी नेतृत्वको सरकार छ । तर, सत्ता गठवन्धनकै नेताहरुले उक्त कार्यको विरोध गरिरहेका छन् ।
ज्यूँदो मानिसको शालिक राखेर गलत गरियो
युद्ध पर्यटनको मर्म नै नबुझेको नेकपा एमाले पूर्वी रुकुमका अध्यक्ष टोपबहादुर वलीले बताए । उनले भने, गाउँपालिका अध्यक्ष यूद्ध पर्यटनको मान्यताले बनाएको भनेर स्पष्टीकरण दिँदै हिड्नुभएको छ । यूद्ध पर्यटनको विकास गर्न खोजेको भन्नुहुन्छ । खासमा यसले त्यस्तो बताउँदैन् । यूद्ध पर्यटनको मर्म नबुझेजस्तो मलाई लागेको छ । तत्कालिन समयमा मृत्युवरण भएका प्रहरी र जनमूक्ती सेनाको मात्र शालिक बनाउनु पर्दथ्यो । ज्यूँदो मानिसको शालिक राख्दा कताकता के नमिलेको जस्तो लागिराछ । यूद्ध पर्यटनमा तत्कालिनको समयमा भएको कुराहरु मात्र आउनुपर्छ । घटनाको बारेमा हुनुपर्छ । यसले कालान्तरमा राम्रो गर्छजस्तो मलाई लाग्दैन् । अनुसन्धानमुलक, विश्लेषणात्मक र वैज्ञानिक पक्षबाट हेर्ने हो भने गाउँपालिकाको यस कदम ठिक छैन् ।
त्यसैगरी नेपाली कांग्रेस (पूर्वी रुकुम)का सभापती केशरमान रोकाले पनि उक्त काम सान्दर्भिक नभएको बताए । उनले भने, माओवादीको द्धन्द्धकाल भएकै स्थान हो । कुनै पनि व्यक्ति, धर्म, जातजातीको नाममा यसरी भौतिक रुपमा सरकारको लगानी गर्नु राम्रो होइन् । नबनाउनुथियो गाउँपालिकाले बनाइहाल्यो । त्यो माओवादीले जान्ने कुरा हो । कतिपय मानिसले ज्यूँदो मानिसले राहत पाए पनि भन्छन् । सवैका आ–आफ्ना विचार छन् । तर, हामी यसरी भौतिक संरचना बनाउनुपूर्व विषयको अध्ययन राम्रोसँग हुनुपर्दथ्यो ।