© २०२३
पाल्पा, ७ साउन ।
रामपुर–१० गेझाका कृष्णप्रसाद अधिकारी उमेरले ६ दशक पूरा गरे । घरबाट तानसेन सदरमुकाम जानुपर्दा दैनिक ४ घण्टा पैदलै हिंडेर जीवनको उर्जाशील समय बिताएका कृष्ण यतिबेला आफ्नै आँगनमा सर्रर मोटरबाट ओर्लन्छन् ।
आफ्नै आँगनबाट मोटर गुड्ला, घरैबाट बस चढेर काठमाडौं, बुटवल, पोखरा, तानसेन र नारायणगढ पुगिएला भनेर कल्पना नै थिएन । सडक सञ्जालका सबै दूरी छोटिदै गएका छन् । यो त कहिल्यै कसैले कल्पना नै नगरेको विषय थियो । १० मिटर चौडाई भएको सडक बस्तीबीच भएर निर्माण होला भन्ने नै थिएन । बस्ती तल आफ्नै गतिमा अविच्छिन्न बग्ने कालीगण्डकी नदीमा पहिले त पुल थिएन । वर्षायाममा डुंगा नै विकल्प थिए । पौडी खेल्न जति जान्ने भएपनि वर्षायाममा धमिलो भएको कालीगण्डकीले धेरैलाई कहिल्यै नफर्कने गरी आफुसँगै लग्यो । यस्ता अनुभव राम्रोसंग बटुलेका सोमबहादुर कुमाल भन्छन्, “हेर्दा हेर्दै, देख्दा देख्दै परिवर्तन हँुदा सपना जस्तै लाग्दछ । हिजो त गेझा हँुगी, खालीवन फोक्सिङकोट एउटा भागका जनता आफ्नै जिल्लाको सदरमुकाम जानुपर्दा स्याङ्जाको गल्याङसम्म पैदल, त्यसपछि बस चढेर जानु पर्ने बाध्यता थियो । जिल्ला प्रशासन कार्यालयमा नागरिता बनाउन होस् या राहदानी बनाउन होस्, मालपोत, नापी कार्यालयमा पुगेर काम सक्न कठिन हुन्थ्यो । बास बस्नुपर्ने बाध्यता हुन्थ्यो । “तर त्यस्ता दिन अब सदाका लागि अन्त्य भयो”–स्थानीय बुद्धीमाया खनाल बताउँछिन् ।
गाउँ बस्तीलाई सडक सञ्जालले जोड्ला भनेर कल्पना नै थिएन । यस्ता यस्ता कारणले गर्दा यहाँबाट धेरै हुने खाने वर्ग काठमाडौं, पोखरा गैडाकोट, बुटवल जस्ता शहरी क्षेत्रमा बसाई सरे । गाउँमा कुनै समय हुँदा खाने मात्र थिए, तर हुने खानेलाई आजभोलि पुरानो जन्म गाउँ छाडेकोमा पश्चातापले भतभती पोलेको उनले बताइन् ।
जब प्रसिद्ध धार्मिक स्थल देवघाटदेखि मुक्तिनाथ सम्म जोड्ने परिकल्पना अनुरुप कालीगण्डकी नदीको किनारै किनार कालीगण्डकी करिडोर निर्माण भएपछि पूर्वी नवलपरासी, चितवन, तनहुँ, पाल्पा, स्याङ्जा, गुल्मी, पर्वत, म्याग्दी, बाग्लुङ, मुस्ताङ सम्मका लाखौ जनतासँग प्रत्यक्ष रुपमा जोडिन पुगेको छ । दक्षिणी मुलुकदेखि उत्तरी मुलुक सम्म जोड्ने सबैभन्दा कम दूरी मानिने कालीगण्डकी करिडोर २०६५ सालबाट सुरु भएको हो । पूर्वी नवलपरासीको भारतीय सिमा नाकादेखि पाल्पा, तनहुँ, गुल्मी, स्याङजा, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ हुँदै चीनको कोरला जोड्ने उद्देस्यले सुरुवात गरिएको ४३५ किलो मिटर सडक खण्ड लाखौं जनतासँग प्रत्यक्ष रुपमा जोडिएको हुँगीका स्थानीय दान बहादुर पछाई बताउँछन् । “यसले हिमाल, पहाड, तराईलाई एकताको सुत्रमा बाँधेको छ । कोरीडोर निर्माण भएसँगै यहाँबाट बसाई सर्ने क्रम रोकिएको छ । हिजो गाउँ छोडेका आज फर्किने क्रम बढेको छ”–उनले भने ।
करिडोरका कारण आज यहाँका जनताको जीवनशैली फेरिएको छ । सडकले गर्दा सबै रहनसहन फेरियो । सडक विकासको मेरुदण्ड भएको प्रमाणित भयो । यस आयोजनालाई ३ भागमा विभाजन गरिएको छ । गैडाकोटदेखि पाल्पाको पिपलडाँडा सम्मको १ सय ३२ किलोमिटर पुल निर्माणका लागि भारतको एग्जिम विकास बैंकको सहुलियतपूर्ण ऋणमा भारतीय निर्माण व्यवसायीले निर्माण कार्य गरेको हो । बाग्लुङ जिल्लाको मालढुगादेखि पर्वत, गुल्मी हुँदै पिपलडाँडा सम्म र वाग्लुङदेखि मुस्ताङसम्म गरी कार्य क्षेत्र विभाजन गरी निर्माण कार्य भएको आयोजना कार्यान्वयन इकाई पाल्पाका सूचना अधिकारी तथा इन्जिनियर पवित्रमणि आचार्य बताउँछन् ।
्
यो परियोजना ०६९÷०७० मा निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको थियो । सबैभन्दा पुरानो र राष्ट्रिय गौरवको आयोजना भए पनि सरकारले मुख्य प्राथमिकतामा नराख्ने, कम बजेट, श्रोत सुनिश्चितता गर्न नसक्दा निर्माण कार्यमा ढिलाई भएको प्राविधिकहरु बताउँछन् ।
गुल्मी कालीगण्डकी गाउँपालिकाकी वसन्ती कार्की भन्छिन्, “यो सडक यस क्षेत्रका लागि वरदान नै सावित भएको छ । यो त प्रत्यक्ष रुपमा पैसासंग जोडिन पुग्यो । “पहिले पहिले गाउँमा बिक्री हुने भनेको भैंसी, बाख्रा हो । त्यो आफ्नो गाउँमा मात्र सीमित थियो । जब करिडोर निर्माण भएपछि यातायातका साधनहरु संचालन हुन लागेपछि बिक्री नहुने भन्ने कृषि उपज नै छैन”–उनले भनिन्, “यो त किसानका लागि वरदान नै सावित हुन पुगेको छ । पहिले पहिले गाउँमा पसल भन्ने नै थिएनन् । नुन किन्नका लागि पनि कता हो जाने भन्ने हुन्थ्यो तर अहिले घर घरमा पसलहरु छन् । कपडा फेन्सी जस्ता पसलहरु घरघरमै छन् ।
कृषिमा फड्को
कालीगण्डकी करिडोरको निर्माण पुर्व सडक आसपासमा मात्र नभई वरपरका जनतामा पर निर्भरता नै थियो । तर आजभोलि भने हिजो परनिर्भरता भएकाहरु आत्मनिर्भर मात्र नभई आम्दानीको बलियो माध्यम बनाएका गुल्मी वामीका राजेन्द्र श्रेष्ठ बताउँछन् । यातायातको सहजीकरण भएकाले नै बजारीकरणका लागि सहज भएको हो । वामीको वर्षे आलु यहाँ मात्र सीमित थियो । आज यातायातको सहजीकरणले यहाँको आलु काठमाडौं पुग्दछ । यहाँको मौसमी तथा बेमौसमी तरकारी, टमाटर पुग्दछ । कृषकहरुलाई हौसला भएको छ । भार्से गाउँमा किबी खेति भएको छ । यहाँ उत्पादित किवीको मुख्य बजार पनि बुटवल हो । करिडोरका कारण कृषि क्रान्ति नै भएको यहाँका स्थानीयहरुको अनुभव छ ।
तानसेन नगर छेर्लुङका स्थानीय देविप्रसाद भट्टराई उत्पादनशील जमिन भए पनि तरकारी खेति त निर्वाहमुखी नै रहेको भन्दै तर आजभोलि गाउँमा धेरै व्यावसायिक भएको बताउँछन् । रामपुर नगरका अगुवा कृषक कृष्ण कुमार अर्याल पनि करिडोरका कारण व्यावसायिक रुपमा पशुपालन गर्न कृषकको संख्या बढेको बताउँछन् । विगतमा घर खर्चका लागि पालिने गाईभैसी आजभोलि कृषकहरु व्यावसायिक रुपमा गाईभैसी पालन गरी दुग्ध उत्पादनतर्फ लागि परेका छन् । उत्पादित दुध, कुखुराको अण्डा, कुखुरा जस्ता वस्तुहरुको उत्पादन बढेको छ । यहाँ उत्पादित दुध, अण्डा चितवन, पोखरा सम्म पुग्ने गर्दछ । यसैगरी सडक बिस्तारका कारण तरकारी, केरा खेतिबाट समेत कृषकहरुले राम्रो आम्दानी लिन सफल भएका छन् । सडकका कारण धेरै व्यक्ति व्यावसायिक भएको बताउँछन् ।
पछिल्लो समयमा रामपुर फाँटमा घाँस खेतिको पनि सुरु भएको छ । पशुका लागि नेपियर, स्टाइलो, जै वर्षिम जस्ता घाँसको व्यावसायिक उत्पादन भएको छ । करिडोर कालीगण्डकी उपत्यकाको लागि वरदान नै सावित हुन पुगेको छ । आर्थिक विकासको मुख्य मेरुदण्ड नै भएको नगर सरकारका पुर्व जनप्रतिनिधि तीर्थ पंगेनी बताउँछन् ।
पर्यटन विकासमा फड्को
कालीगण्डकी करिडोरका कारण यस क्षेत्रको पर्यटन विकासमा तीब्र रुपमा प्रगति भएको स्थानीयहरुको बुझाई रहेको छ । कालीगण्डकी नदीमा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक जल यात्रा गर्नेको संख्या उल्लेख रुपमा वृद्धि भएको छ । रामपुर नगर क्षेत्रका धार्मिक, पर्यटकीय, सांस्कृतिक महत्व बोकेका स्थानहरुको अध्ययन अवलोकनको लागि आउने आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि भएको नगर सरकारका प्रमुख रमण बहादुर थापा बताउँछन् । करिडोर निर्माणपुर्व साँघुरो सडकबाट बडो दु.ख रामपुर पुगिन्थ्यो । साँघुरो सडकका कारण निर्धारित समयमा आवतजावत गर्न निकै कठिन हुन्थ्यो । आजभोलि कम समय र कम दूरीमा सुरक्षित तवरले रामपुर पुगिने भएकाले आन्तरिक पर्यटकका लागि चितवन, पोखराका लागि गन्तव्य नै भएको प्रमुख थापा बताउँछन् ।
जलयात्रा मात्र नभई प्यारा ग्लाइडिङको समेत प्रचुर संभावना बोकेको रामपुरमा यसको तयारी अगाडि बढेको र यस उपत्यकामा पछिल्लो समयमा शहरीकरणको क्रम बढेको, आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै रामपुर नगरमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको र यस क्षेत्रमा एक अर्ब भन्दा बढी रुपैयाँ होटल व्यवसायमा तयारी भएको व्यवसायीहरु बताउँछन् ।
बजेटको समस्या
यस सडक आयोजनाको पहिलो म्याद २०७० सालमा सकियो । प्रारम्भिक चरणमा सरकारले यस आयोजनाका लागि २५ अर्व ७८ करोड रुपैयाँ प्रस्तावित गरिएको थियो । सरकारले पर्याप्त मात्रामा बजेट विनियोजन नगरेका कारण समयावधिमा निर्माण कार्य पूरा हुन सकेन । आयोजना २०७८ देखि २०७९ सम्म पूरा गर्ने गरी म्याद थपिंदा लागत अनुमान २५ अर्व बाट बढेर २७ अर्व ५१ करोड पुगेको छ । सरकारले कनिका छरे जस्तै गरी बजेट विनियोजन गरेका कारण समयावधिमा पूरा हुन नसकेको सम्वद्ध प्राविधिकहरु बताउँछन् ।
यो गतिमा सरकारले वजेट विनियोजन गर्दा ९० साल सम्म निर्माण कार्य पूरा हुन सक्दैन । यसमा कालोपत्रेको काम बाँकी नै छ । त्यसैमाथि पुलको निर्माण कार्य पनि बाँकी नै छ । फेरि हिमाली क्षेत्रमा हावा हुरी, आक्सिजनको समस्या त छँदै छ । पाल्पाको राम्दी, अर्गली, दर्पुक, रानी महल, पर्वतको सेती बेनी जस्ता ठाउँमा मेसिनबाट काम हुन नसक्ने भयो । धार्मिक तथा पर्यटकीय जस्ता महत्व बोकेका यस्ता स्थानहरुमा बिष्फोटक पदार्थको प्रयोग गर्नु पर्ने तर विष्फोटनको प्रयोग गर्न नपाउँदा समस्या भयो । विगतमा सरकारले यस आयोजना र कर्णाली राजमार्गका लागि एउटै बास्केटमा बजेट विनियोजन गर्ने प्रचलन थियो । गत आर्थिक वर्षमा परियोजना कार्यान्वयन इकाइ कार्यालय पाल्पाका लागि २ अर्व ६७ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो भने त्यस भन्दा अघिल्लो आर्थिक वर्षमा १ अर्व १ करोड १८ लाख रुपैयाँ विनियोजन भएको थियो । गत आर्थिक वर्षमा भारत सरकारको एग्जिम विकास बैकबाट ७४ करोड ७७ लाख ५६ हजार रुपैयाँ विनियोजन भएको थियो ।