© २०२३
बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतीनगरमा पहिरोले दर्जन घरमा क्षति पुर्याएको छ । २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो ।
आज विहान ६ बजे चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री लगायत एक दर्जन घरमा क्षति पुगेको हो ।
स्थानीयका अनुसार ३ घरमा पहिरो पसेको छ । उज्यालो भइसकेको हुँदा मानवीय क्षति भने भएको छैन् ।
यहि भदौं ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयहरु सावधानी अपनाउदै आएका थिए ।
पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन् भने भैसी सारिसकेका छन् । त्यसैगरी पहिरोले क्षति पुग्नसक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिरहेका छन् ।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको विजुलीको पोल बगाएको छ ।
बुटवलको वडा नं. ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो गएकोमा यससँगै ३ ठूला पहिरो गएको छ ।
उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती दिएको थियो ।