© २०२३
पाल्पा, २७ असार ।
खानी तथा भूगर्भ विभागले चुन ढुंगा खानी संचालकलाई दिएको निर्देशन ६ महिना पुग्दा सम्म पालना भएको छैन । विभागले खानी सञ्चालक तथा उद्योगहरुलाई खानीस्थलमै तौल गर्ने मेसिन धर्मकाँटा राख्न गत पुस १ गते नै निर्देशन दिएको हो ।
चुन ढुगा निकासीलाई पारदर्शी बनाउन र राजस्व चुहावट राक्नका लागि विभागले अनिवार्य रुपमा धर्मकाँटा राख्न निर्देशन दिएको थियो । जिल्लाको माथागढी, तिनाउ, निस्दी, रैनादेवी छहरा गाउँपालिकामा चुन ढुंगा खानी सञ्चालनमा आएका छन् । हाल सम्म चालु अवस्थामा रहेका १३ वटा खानी मध्ये बिएस सिमेन्ट र पाल्पा सिमेन्ट उद्योगले खानीमा तौल गर्ने मेसिन धर्मकाँटा सञ्चालनमा ल्याएको डिभिजन वन कार्यलयका सूचना अधिकारी संयोग बस्नेतले बताए ।
“क्षमता भन्दा बढी ढुवानी गर्दा सडकको संरचना खलबलियो, भत्कियो, त्यसैगरी वार्षिक रुपमा कति परिमाणमा ढुंगा निकासी भयो भन्ने अभिलेख नै नहुने भएकाले यसलाई पारदर्शी बनाउन सँगै राजस्वमा समेत पारदर्शी तुल्याउन विभागले निर्देशन दिएको हो”–उनले भने ।
सबै भन्दा ठुलो परिमाणमा चिनिया सरकारको लगानीमा पुर्वी नवलपरासीको सर्दीमा संचालित होङशी सिमेन्ट उद्योगले निस्दी गाउँपालिकाको ज्यामिरेबाट उत्खनन गरी ढुवानी गर्दछ । स्थानीय सरकारलाई बुझाउने राजस्व आफ्नै तजविजले दिने गरेको स्थानीय सरकारका प्रमुख मुक्त बहादुर सारु बताउँछन् । तौल गर्ने मेसिन भएको खण्डमा राजस्वमा सरकार ठगिनु पर्दैन, विभागले वार्षिक रुपमा निश्चित मापदण्ड बनाएर उत्खनन् गर्न अनुमति दिने हो । यहाँ मापदण्डलाई बोवास्ता गर्दै तोकेको भन्दा दोब्बर परिमाणमा उत्खनन् गरेको धेरै उदाहरण भएको जिल्ला समन्वय समितिका अध्यक्ष टंक नाथ खनाल बताउँछन् । खानी तथा भूगर्भ विभागबाट धर्मकाँटा राख्ने शर्तमा अनुमति पत्र लिने हो तर यहाँ खानी संचालकहरुको आफु खुसी भएको स्थानीयहरुको भनाइ रहेको छ । जिल्लाको कुल भुभाग मध्य १८ प्रतिशत क्षेत्र खानी क्षेत्रले ओगटेको छ । यहाँबाट ठुलो परिमाणमा चुन ढुगा र कोइला निकासी हुने गर्दछ । तीन वर्ष अगाडि खानी विभागले उत्खननका लागि तोकी दिएको मापदण्ड भन्दा बढी तिनाउ गाउँपालिकाको हिउँदे खोलामा खानी भएको डोलोमाइट चुन ढुंगा खानीले एक लाख ३५ हजार ८ सय मेट्रिक टन बढी उत्खनन गरी ५ करोड ४३ लाख २१ हजार रुपैयाँ राजस्वमा क्षति पुगेको थियो ।
धर्मकाँटा नहुँदाको परिमाण तिनाउकै कञ्चन क्वरीजले ९४ हजार ९ सय मेट्रिक टन बढी उत्खन्न गरी ३ करोड, ८ लाख, ६९ हजार त्यसैगरी तिनाउमै खानी भएको सर्वोत्तम सिमेन्ट उद्योगको खानीबाट १६ करोड ३१ लाख, सिद्धार्थ मिनरल्स प्रालिले ४९ करोड, ४५ लाख रुपैयाँ राजस्व ठगी गरेका थिए । विभागले उत्खनन्का लागि दिएको मापदण्ड भन्दा बढी उत्खनन गरेका कारण राजस्वमै ठगी भएको हो ।
अनुगमन गर्ने निकाय नै छैन ।
राज्य कोषमा हानी नोक्सानी गरी, खानी तथा प्राकृतिक सम्पदाको दोहन हुँदा सम्म समय समयमा नियमन तथा अनुगमन गर्ने निकाय नहुदा खानी उद्योग जिल्लाका एउटा तत्वलाई कमाइ खाने बलियो मध्यम बनेको छ । कानुन अनुरुप जिल्ला समन्वय समिति, स्थानीय सरकारलाई अधिकार उपलब्ध भए पनि दुवै निकाय निरीह नै बनेका छन् । जिल्ला समन्वय समितिका अध्यक्ष टंकनाथ खनाल भन्छन्, “अधिकारबिना किन अनुगमन गर्न पर्दछ । अनुगमन गर्ने अधिकारीसंग नियमन गर्ने, त्यसैगरी कर लगाउन पाउने अधिकार पनि हुनुपर्दछ । यसो नहँुदा खानी सञ्चालकले प्राकृतिक सम्पत्तीको दोहन गर्दा सम्म टुलुटुलु बसेर हेर्न परेको छ । बदमासी गर्ने निकायलाई कारवाही गर्ने अधिकार नै छैन ।”
चुनु ढुंगा कोइला खानीको अनुगमन गर्ने खानी तथा भूगर्भ विभागले अनुगमन गरेको आफुलाई जानकारी नभएको उनको भनाई रहेको छ । खानी विभागसंग भएको अधिकार विकेन्द्रीकरण नहँुदा समस्या भएको जानकारहरु बताउँछन् ।
नियमन तथा अनुगमन नहँुदा प्रशासन, प्रहरी, वन कर्मचारी, राजनैतिक दलका नेतृत्व, पत्रकारहरुका लागि यस्ता खानी उद्योग आम्दानीको बलियो मध्यम भएको स्थानियहरुको बुझाई रहेको छ ।
वातावरणीय क्षेत्रमा ह्रास
समय समयमा अनुगमन नहुँदा खानी सञ्चालकको बदमासीका कारण यहाँका सयौ रोपनी जमिन हरेक वर्ष बगरमा परिणत हँुदै गएका छन् । महालक्ष्मी कोइलाको कारण माथागढी देवगीरमा २० भन्दा बढी बस्ती वर्षायाममा उच्च जोखिममा परेको स्थानीयहरुको भनाई रहेको छ ।
होङशी सिमेन्ट उद्योगको खानीबाट निस्किएको स–साना ढुंगाको कारण खानी क्षेत्र भन्दा तल्लो क्षेत्रको खेतियोग्य जमिन बगरमा परिणत भएको स्थानीय विर बहादुर आले बताउँछन् । “खेत भन्दा माथि खानी छ । ढुंगा चालेर निस्किएको वस्तु तल खेतमा फालिदिने हुँदा यहाँका ४ सय रोपनी भन्दा बढी जमिन बगरमा परिणत भयो । हामीले हाम्रो समस्या कसलाई सुनाउने ? हाम्रो आवाज सुनिदिने कोही छैन”– उनले भने ।
यो खानीले खेत त बर्वाद नै बनायो । सुरुङ बनाउँदा खानी पानीको मुहानै सुक्यो अब पानी खान पनि पाइदैन । खेतमा सिंचाइको लागि ल्याउने कुलोको मुहान सुकेको २ वर्ष भयो खानेपानीको समस्या गत वर्ष देखि नै भएको स्थानीय पीडित राम बहादुर चौहान बताउँछन् ।
“राम्रा राम्रा मोटर चढेर सिडियो, प्रहरी प्रमुख खानीमा आउँछन्, जान्छन् तर हाम्रो समस्या के छ भनेर कसैले बुझ्दैन खानीका कारण उठीबास नै लाग्ने भयो । हाम्रो आवाज चित्कारमा परिणत भयो”–स्थानीय विमला नेपाली बताउँछिन् ।
समस्या माथागढीको रहबासमा सञ्चालित पाल्पा सिमेन्ट उद्योगले समेत प्रभावित तुल्याएको स्थानीयहरुको भनाई रहेको छ । खानीले जथाभावी रुपमा ढुंगा फाली दिंदा तल खेत बगरै बनायो । यो विषयमा उद्योगसंग कुरा गर्दा प्रहरी प्रशासनमा मुद्दा खेपेको स्थानीयहरुको अनुभव रहेको छ