© २०२३
नवलपुर, २३ असार ।
१२ बर्ष अघि निर्माण भै हावाबाट बिजुली बाल्ने देशकै पहिलो प्रविधि अहिले बन्द हुँदा स्थानीयबासीमा मात्रै होईन त्यहाँ पुग्ने जो कसैलाई पनि चिन्तित बनाएको छ ।
पुर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादन एक वर्षदेखि मर्मत सम्भार हुन नसक्दा विद्युत् उत्पादन बन्द भएपछि स्थानीय अँध्यारोमा बस्न बाध्य भएका छन् । हुप्सेकोट गाउँपालिका वडा नं ५ का वडाध्यक्ष पदमबहादुर राना मगरले बताए ।
१२ बर्षअघि सुरु भएको यो नमुना परियोजनाबाट उत्पादित बिजुली २४ सै घण्टा प्रयोग गर्न पाउँदा उत्साहित भएका स्थानीयबासी अहिले एक बर्ष देखि उचित मर्मत र सम्भार नहुँदा निराश भएका र पटक पटक मर्मत गराउने गरे पनि प्रयास सफल नभएको वडाध्यक्ष रानामगरले बताए ।
यो परियोजना नेपालकै नमुनाका रुपमा रहे पनि एक बर्ष देखि मर्मत र सम्भार नहुँदा बन्द भए पनि गाउँपालिकाले समेत कुनै चासो नदिएको स्थानीय समाजसेवी अमर सिहं बिकले बताए ।
दुई करोड रुपैयाँभन्दा बढीको लागतमा संचालित परियोजनाको हावाबाट १० किलोवाट र सोलरबाट दुुई किलोबाट गरी १२ किलोवाट विद्युत उत्पादनको क्षमता रहे पनि मर्मत सम्भार नहुँदा एक वर्षदेखि पुुरै बन्द भएको छ भने उत्पादन नै बन्द हुँदा गाउँपालिकाले चासो दिनुुपर्ने स्थानीय समाजसेवी गोपाल बस्ताकोटीले बताए ।
यस परियोजनाको मर्मतका लागि सहयोगीको मुख ताकेर यहाँका स्थानीय बसेका भए पनि अझै सम्म सहयोग नपाउँदा स्थानीयले अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
शुरुका दिनमा यो परियोजनाबाट उत्पादित बिजुली २४ सै घण्टा प्रयोग गर्न पाउँदा उत्साहित भएका स्थानीयबासी अहिले उत्पादन नै बन्द हुदा निराश भएका हुप्सेकोट गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रानामगरले बताए । पुर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा २०६८ सालमा एसियाली विकास बैंकको एक करोड ५० लाखको सहयोगमा हावाबाट निकालिएको बिजुली अहिले मर्मत सम्भार गर्न नसक्दा बन्द भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताईन् ।
यो परियोजनाबाट हावाबाट १० किलोवाट र सोलरबाट २ किलोवाट गरी १२ किलोवाट विद्युत उत्पादनको क्षमता रहे पनि अहिले उत्पादन बन्द भएकोे र गाउँपालिकाले विद्युत उत्पादन कायम राख्न चार लाख र एडीबीले सात लाख दिएको तर ईन्भर्टर खरिद गरी उत्पादन थालिए पनि अहिले भने सो बन्द भए पछि ४२ घर परिवार अँध्यारोमा बस्न बाध्य भएका वडाध्यक्ष रानामगरले भने ।
तर अहिले धेरै समयदेखि मर्मत नहुँदा अहिले भने विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको वडाध्यक्ष रानामगरले बताए । निर्माण गरिएको पहिलो चार वर्ष सम्म १२ किलोवाट विद्युत उत्पादन भएकोमा यहाँका स्थानीयले चौबिसै घण्टा विद्युतको प्रयोग गरिरहेका थिए । जसबाट रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र ४२ घरधुरी लाभान्वित भएका थिए । पहिले–पहिले टीभी चलाउन, रेडियो बजाउन, मोबाइल चार्ज गर्न सबै मिल्ने भए पनि अहिले बन्द भए पछि यहाँका बासिन्दाले दुख खेपेका वडाध्यक्ष रानामगरले बताए ।
यता परियोजना हस्तान्तरण नभए पनि रेखदेखका लागि हुरहुरे डाँडा कृषि सहकारी संंस्थालाई जिम्मेवारी दिईए पनि परियोजना नै बन्द हुँदा समस्या परेको र मर्मतका लागि गण्डकी प्रदेश सरकारले गत बर्ष नै रु ४० लाख बिनियोजन गरेको भए पनि सो रकम नै नआउँदा मर्मतको काम अगाडि बढाउन नसक्दा योजना नै अलपत्र परेको पालिका अध्यक्ष पाण्डेले बताईन् ।