© २०२३
यो बर्ष तराईमा मात्र होइन पहाड र हिमाली भेगमा बस्ने नेपालीले गर्मीको महसुस गरे । तराईमा यो बर्षको गर्मीले ४५ डिग्रीको रेकर्ड कायम ग¥यो । बुटवलमा ४४ डिग्रीसम्म तापमान पुग्यो । धेरैको आशय थियो– बुटवलमा यतिधेरै गर्मी पहिलोपटक महसुस भयो । नेपालका बुटवल, पहाड र हिमालमा मात्र होइन गर्मीको महसुस विश्वभरी नै भएको छ । विश्वभर बढ्दो तापमानको चिन्ताबीच तापमान नियन्त्रणको चुनौति देखिएको छ । हरेक बर्ष गर्मी यही अवस्थामा रहने र देखिने हो भने निश्चितरुपमा मानव जीवनका लागि अति जोखिम हुनेछ । मानव जीवनका लागि बढ्दो तापमान चुनौति भएको छ । विश्वमा तापमान वृद्धि भौतिक सुख–सुविधामा तीव्र रमाउने मानवीय कारणले उत्पन्न हुँदैछ । औद्योगिक क्रान्तिपछि भएको विकासले प्राकृतिक स्रोत दोहनलाई तीव्र बनाएको विर्सन सकिदैन । अहिलेपनि जैविक इन्धन नै ऊर्जाको मूल स्रोत बनेको छ । त्यसले फाल्ने दूषित धुवाँ नै विश्व तापमान बनाउने मूल कारण हो र आज पृथ्वीका अधिक प्राकृतिक सम्पदा जोखिममा छन् । प्राकृतिक चक्रमा अवरोध छ । त्यसको प्रत्यक्ष यो बर्ष नेपालका सवै क्षेत्रमा देखापरेको छ ।
वातावरणबीदहरुले विश्व तापमान वृद्धिको क्रमसँगै सन. २०५० सम्म संसारभरिका ५० वटा हिमाली विश्वसम्पदा क्षेत्र लोप हुने अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन । यो अवस्था निम्तिनुमा विश्वव्यापी रूपमा तापक्रमको वृद्धि हो । यसले गर्दा हिमाली क्षेत्रका हिउँ पग्लिने क्रमले तीव्रता पाउन थालेको छ । अहिले नै नेपालका मूख्य हिमाली क्षेत्रमा हिउँ जम्न छाडेको छ । जोमसोममा गर्मी बढेको छ । मुक्तिनाथको तापक्रम केही दिन अघि ३० डिग्री मापन भएको थियो जुन मानव सभ्यताका लागि गंभीर चुनौति हो । एक प्रतिवेदनका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्जसहित एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अस्टे«लियासहित सबै महादेशका विभिन्न ५० वटा प्रमुख हिमाली निकुञ्ज वरिपरिका हिउँ तथा हिमनदी उच्च गतिमा पग्लिने क्रम छ । जसका कारण यो बर्षदेखि बढ्दो तापमानको भयावह स्थिति सिर्जना हुँदै गएको देखिएको छ । निश्चितरुपमा अहिले विश्व तापक्रम वृद्धिको विश्वव्यापी समस्याबाट पृथ्वीको कुनैपनि महादेश अछुतो रहन सक्ने देखिँदैन । हिमनदीमा विश्वका धनी राष्ट्रले औद्योगिक विकासका नाममा उत्सर्जन गरेका कार्बनडाइअक्साइड लगायतका विषाक्त ग्याँसको दुष्प्रभावबाट प्रभावित छन् । यस अर्थमा विश्वका कम विकसित तथा अल्पविकसित राष्ट्रहरू बिना अपराध दण्डको भागीदार भइरहेको अवस्था छ । जोखिम आउँदै गरेपछि जोगिनु बुद्धिमत्तापूर्ण सजगता हो । तसर्थ यस स्थितिबाट मुक्ति पाउन विश्वव्यापी रूपमा सहकार्य तथा समन्वय गरिनु अति महत्वपूर्ण छ । विश्व तापक्रम न्यूनीकरणजस्ता विषयलाई प्राथमिकता दिएर सबै राष्ट्रले सामूहिक हितका निम्ति अग्रसर हुनुको कुनै विकल्प अव देखिँदैन । विश्व पर्यावरण अनुकूलका वातावरणमैत्री औद्योगिक विकासलाई प्रश्रय दिने नीति औद्योगिक राष्ट्रले अख्तियार गर्नु जरुरी भइसकेको छ । चिन्ताको अर्को कुरा के छ भने आउँदो वर्षमा विश्व तापक्रममा दुई डिग्री सेल्सियसको वृद्धि हुनसक्ने आशंका गरिँदै छ र यसबाट उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने बाताबरणबीदहरुको चिन्ता छ । विश्व तापमान बृद्धिबाट पार पाउने एउटै उपाय तापक्रम वृद्धिमा नियन्त्रण नै हो । तर, ठूला देशहरु तापमान नियन्त्रणमा सहमत छैनन् । यो अवस्थामा वातावरणवीदहरुको तापमान नियन्त्रणको पहल टाउको दुखाईको बिषय भएको छ ।