© २०२३
कोरोनाका कारण विद्यालय सञ्चालन नभएपछि स–साना नानीहरुले परम्परागत सीप सिक्न थालेका छन् । घरमा आमा तथा हजुरआमाले जानेका सीप ढकिया, गुन्द्री बुन्ने सीपहरु उनीहरुले सिक्न थालेका हुन् ।
घोराही उपमहानगरपालिका ६ गुरुवागाउँका चौधरी समुदायका सानानानीहरु कोरोनाका कारण विद्यालय जान नपाएको समयमा हजुरआमासंग घरेलु सामान बनाउन व्यस्त भेटिए । कक्षा ७ मा अध्यनरत रिता चौधरीले ढकिया बुन्न सिकीरहेकी थिइन् । उनलाई आफ्नी हजुरआमाले परम्परागत रुपमा बुन्दै आएको ढकिया, गुन्द्री, पटकी बनाउन सिकाईरहेकी छिन् । “हजुरअमाले ढकिया वुन्नु हुन्छ, अरुवेला विद्यालय जाने हुन्थ्यो फुर्सद हुदैनथ्यो, अहिले विद्यालय वन्द भएको वेला ढकिया बुन्न रहर लागेर सिक्न लागेको हो” रीताले भनिन् । गाउँघरमा पाइने सामाग्रीवाट ढकिया वुन्दा रीतालाई सामानको नाम पनि थाहा भएको छ । संकटको समयमा घरमै बसेर सिप सिक्दै गरेकी रीतालाई वुट्टा वनाउन भने अझै आएको छैन तर, सामान्य चाही बनाउने गरेको उनकी हजुरआमाले बताईन् । “नयाँ काम भएर होला रमाइलो लागेको छ, सियोमा धागो राखेर सिलाउन चाहि गाह्रो लाग्छ” रीताले भनिन् ।
सोही ठाउँकी कक्षा ६ मा अध्ययनरत पुजा चौधरीले पनि आफ्नी हजुरआमासंग पटकी वुन्न सिकिरहेकी छिन् । “हजुरआमाले पटकी बुन्नुहुन्छ, मलाइ पनि रहर लाग्यो र सिक्न थालेको छु, स्कूल जान परेको छैन त्यही समयको सदुपयोग गरेकी छु” पुजाले भनिन् । ढकीया भन्दा पटकी वुन्न सजिलो हुने गरेको पुजाले वताईन् । पटकी बुन्न गुदजातको घाँस प्रयोग हुन्छ । गुदलाइ एक अर्कोमा साटो पारेर बेरेर बुन्न पर्दो रैछ नयाँ काम भएर होला राम्रो लागेको छ, बुन्ने रहर त पहिले देखि थियो अहिले पुरा भएको छ” पुजाले भनिन् । ७५ बर्षकी हजुरआमा जुगमति चौधरीले साना नानिहरुलाइ सिकाइरहेकी छिन् । “हाम्रो समयमा चौधरीका छोराछोरीलाइ पढाउने चलन थिएन, छोरा मान्छेहरु छतरी र माछामार्ने जाल वुन्थ्ये, छोरीहरु ढकीया, पटकी र विणा वुनेर घर खर्च चलाउथे” जुगमतीले भनिन् । बुनेका ढकियाहरुको साईज अनुसारको मुल्य गर्ने गरेको उनले बताईन् । “ठूलो ढकिया ६ हजार सम्म पर्छ भने सनोको कम मूल्य पर्छ” उनले भनिन् । यसरी हातले बुनेका सामाग्रीहरु बलिया र टिकाउ पनि हुने भएकोले सजिलै विक्रि हुने गरेको उनले बताईन् ।
आफूले सिकेको सीपलाइ हस्तान्तरण गर्न पाउदा जुगमती चौधरी दङ्ग छिन् भने सीप सिक्न पाउदा नातिनीहरु पनि मख्ख छन् । खोलाको वगरमा पाइने सिरुलाइ वाहिरवाट ऊनले वेरेर आर्कषक बनाउन पनि सकिन्छ र रंगीचङी चकलेट र विस्कुटका खोललाइ पनि सदुपयोग गर्न सकिन्छ । प्रायः चौधरी समुदायले बुनेर तयार पार्ने ढकीया र गुन्द्री जस्ता सामाग्री बुन्ने सीप पुस्ता हस्तान्तरण गरेमा अर्को पुस्ताले पनि वुनेर जीविकोपार्जन गर्न सक्ने छन् । कोरोनाका कारण घरमै वसेर अभिभावकसंग यस्ता सीपहरु सिक्दा संक्रमणवाट जोगिनुका साथै सिर्जनशिल बन्न सकिन्छ भन्ने उदाहरण पुजा र रीताले दिएका छन् ।