© २०२३
१९९७ सालमा गुल्मीको पल्लिकोटमा जन्मिएको यमकला अर्यालको ६ वर्ष २ महिनाको उमेरमा विवाह भएकोले बाल्यकालमा मनाएका तीजका कुनैपनि सम्झनाहरु छैनन् । बिहेपछि केहि समय माईतमै बसेर ९ वर्षको उमेरमा लोग्नेको घरमा गएपछिका तिजहरु भने उनको आँखा वरिपरी सधै घुमिरहेकै हुन्छन् ।
९ वर्षको उमेर देखि नै बुहार्तन सम्हालेकी यमकलालाई तीज पर्व सबैभन्दा प्रिय लाग्थ्यो ।
केहि दिन भएपनि घरको कामकाजबाट मुक्ति पाइने, अरुले पकाएको खान पाइने र मन फुकाएर साथिसंगीसंग नाच्न पाइने,भएकोले एउटा तिज सकिने वित्तिकै अर्को तीज कहिले आउला भन्ने लाग्थ्यो रे उनलाई । तीज आउँन थालेपछि कर्मघर विरवासमा घाँस दाउरा गर्दा पनि उनका आँखा बारम्बार माइतीघर पल्लिकोट तर्फ नै जान्थे ।
उनले भनिन् “ माइतीबाट कहिले लिन आउलान र जाउँला भन्ने हुन्थ्यो त्यसैले टाढा कुनै मान्छे आउदै गरेको देख्दा पनि आफैलाई लिन आएका माइती हुन् कि जस्तो लाग्थ्यो । माइती लिन आएपछि कति छिटो दौडेर माइत पल्लिकोट पुगिन्थ्यो, थाहै पाइन्थेन“ तीजको सम्झना गर्दा आँखामा छुट्टै चमक देखिन्छ यामकलाको । उनि थप्छिन“ गाउँभरिमै म नाँच्नमा कहलिएको थिएँ । माइत गएपछि चेलिबेटी जम्मा भएर राति अबेरसम्म नाचिन्थ्यो । तिजको दिन निराहार व्रत बसेपनि कोल्धारीमा गएर दिनभरी नाचिन्थ्यो, भोक लागेको थाहै पाइन्थेन“
“…सैयाँं बोटे माझीले
जालमा क्यारी पार्यो?
सैया बोटे माझीले…” यमकला गुनगुनाउछिन् ।
२०३० सालमा यामकलाका माइती रुपन्देहीको फर्साटिकर बसाइ सरेपछि केहि वर्ष तिज निरासिला बने, २०३५ सालमा यामकलाको परिवार पनि फर्साटिकर नै आइपुग्यो । तीजमा माइत जाने क्रमले निरन्तरता पाएपनि पहाड माईती छँदाको तिजको रौनक भने उनले पाईनन् । ३ छोरा र २ छोरी जन्मिए । उनीहरु हुर्कदै गएपछि घरमै तिजको रमझम हुन्थ्यो । बुवा बितेपछी माईतमा एकजना दाईमात्र थिए । यमकला नगएसम्म तीजमा दाईले खाना नखाने भएकोले घरमा जतिसुकै रमाइलो भएपनि तीजमा उनि माइत पुग्नै पथ्र्यो । त्यो क्रम अहिलेपनि टुटेको छैन ।
“ माइती छ, पहिलेको भन्दा मिठामिठा खानेकुरा पनि खान पाइएको छ. तर पहिलेको जस्तो तिज छैन. “ यमकला भन्छिन ।
उनी यामकलाकी कान्छी छोरी हुन पदमा चालिसे । ७ वर्षको उमेरमा पहाडबाट बसाइ सरेर आएकोले पहाडमा मनाएको तिजको कुनै सम्झना छैन पदमालाई । तीज मान्ने पहाडी समुदाय कम भएकोले तीज भन्दा अघि गाँउघरमा भेला भएर नाचगान गर्न पाइनन् उनले । तिजको दिनमा भने वल्लोपल्लो गाउँका चेलीबेटीहरु फर्साटिकरमा भेला भएर नाचगान गरेको सम्झना मात्र छ उनीसंग ।
“ तिजको अघिल्लो दिन आमा माइत जानुहुन्थ्यो । बा एक्लै पर्नुहुन्छ भनेर हामी केटाकेटी मावल जादैनाथ्यौ । बाले दर पकाएर ख्वाउनुहुन्थ्यो । दर खाने दिनमा राति अबेरसम्म वल्लोपल्लो घरकै आगनमा नाचगान हुन्थ्यो ।” पदमाले बाल्यकालको तिजलाई सम्झदै भनिन् ।
१४ वर्षको उमेरमा सेमलारको डहरगाउमा पदमाको बिहे भयो । घरायसी काम, बिरामी सासुको स्याहार जस्ता काममा उनि व्यस्त रहने गर्थिन । तीजमा नाच्न गाउन नजान्ने भएपनि तीजमा सबैजना माइत जाने र माइतमा रमाइलोसंग बस्न पाइने भएकोले तिजमा माइत जाने कुराले उनि सधै उत्साहित हुने गरेको बताउछिन । माइती र मावली दुवै फर्साटिकर देखि सखुवानी बसाइ सरेपछि उनको तिज सखुवानी मै वित्न थाल्यो । छोराछोरी जन्मिएपछि र आफ्ना चेलीबेटी बढेपछी तिजको बेलामा माइत जानुको साटो अचेल जन्माष्टमीमा माइतमा भेला भएर दर खाने चलन चलाएका छन् । जन्माष्टमीमा आफुले चेली बनेर दर खाने अनि तीजमा घरमा चेलीबेटी बोलाएर दर ख्वाउने गरेको पदमा बताउछिन ।
यमकलाकी नातिनी मेनुका पौडेलको लागि तिज बुहार्तनबाट छुट्टी पाएर रमाइलो गर्ने पर्व भन्दा पनि आफन्तहरुसंग भेटघाट र सुखदुखका कुरा गर्ने अवसर बनेको छ । स्नातक पढ्दापढ्दै योगिकुटिका नरेन्द्र पौडेलसंग मागी बिवाह गरेकी मेनुकाका तीजका विशेष कार्यक्रमहरु हुदैनन् । जन्माष्टमीको दिनमा आमासँग मावल गएर भेटघाट गर्ने र दर खाने गर्छिन । आफन्तहरु नजिक नजिक भएकोले तिज अघिका ४÷५ दिन दर खान बोलाउदा र दर खान जाँदा उनि व्यस्त हुन्छिन। तीजमा ३/४ दिन बिताउनेगरि माइत जान्छिन ।
“हजुर आमाको पालामा जस्तो मौलिक गीत बनाएर गाउन, नाच्न जानिन्न, विशेष किसिमको खानेकुरा खाने भन्ने पनि हुदैन । सामाजिक संजालमा सबैका गतिविधिहरु हेर्न पाएको छ, सुख दुख साट्न पाइएकै छ । तरपनि तीजमा माइत जाने भन्ने बित्तिकै छुट्टै उत्साह आउदो रहेछ” मेनुका सुनाउछिन ।
रुपन्देहीमा निषेधाज्ञा लाग्ने खबर पाएपछि दर खाने दिन भन्दा २ दिन अघि नै मेनुका माइत सेमलार पुगिसकेकी छन् । माइत गएपनि कोरोनाको दरले गर्दा टोल छिमेक जम्मा भएर नाच्न गाउन पाएकी छैनन् । उनका ६ वर्षका छोरा र वर्षकी छोरी भने नाच्न मन पराउछन् । मोबाइलमा गीत बजाएर छोराछोरी नाचेको हेर्दा मेनका र पदमालाई रमाइलो लाग्छ । भिडियो कल गरेर केटाकेटी नाचेको यामकलालाई देखाउछन ।
भिडियो हेर्दा यमकला भन्छिन “ हाम्रो पालाको जस्तो तिज अहिले कहाँ पाउनु बाबै ?”