© २०२३
काठमाडौँ, १ जेठ ।
बङ्गालको खाडीमा विकसित भएको ‘मोखा’ चक्रवातको असर नेपालको मौसममा परेको छ । गत बुधबार सिर्जना भएको चक्रवातको असरले आइतबारदेखि कतिपय स्थानमा वर्षा सुरु भएको छ भने यो क्रम आगामी तीन दिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मोखा अति शक्तिशाली चक्रवात का रूपमा परिणत हुँदै उत्तर र उत्तरपूर्व दिशातर्फ अघि बढिरहेको छ । जसको सोझो असर बङ्गलादेश र म्यान्मारको तटीय क्षेत्रमा अत्यधिक परेको छ । भारतको पूर्वी क्षेत्र नेपालमा भन्दा अधिक असर परेको छ । बङ्गलादेशमा चव्रmवातका कारण झन्डै पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
चक्रवातका कारण वायुको बहाव सात माइल प्रतिघण्टाका दरले उत्तरपूर्व सरिरहेको छ । १७० माइल प्रतिघण्टाको उच्च वेगमा यो जमिनतर्फ सोझिएको थियो । जसको प्रभावले १२ फिटमाथिसम्मको आँधी र हावाहुरीको सिर्जना भएको छ । मौसमविद् प्रतिभा मानन्धरले भने, “त्यहाँको जस्तो कडा प्रभाव नेपालमा पर्दैन तर बदलीसहित छिटपुटदेखि हल्का वर्षा केही दिन रहने छ ।”
उनका अनुसार उच्च हावाहुरी र जलवाष्पसहित घुमिरहेको ‘मोखा’ चक्रवात आइतबार जमिनमा झर्ने प्रव्रिmयामा अग्रसर रहेकाले यस क्रममा यसको जलवाष्पको शक्ति नेपालसम्म आइपुगेको हो । नेपालमा पश्चिमी र स्थानीय वायुको चाप पहिल्यै रहेकाले पनि उत्तरपूर्वबाट आइरहेको चक्रवातको वायु कमजोर बनेको हो । तीनदेखि चार दिनसम्म हल्का बदली र वर्षा भएपछि नेपालमा चक्रवातको असर साम्य हुनेछ । बुधबारदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।
चक्रवातले समुद्रको तातो पानीलाई आफ्नो फेरामा बढी लिएको छ । चक्रवात वैज्ञानिक जेफ मास्टर्सले यसको असरस्वरूप यो विकास भएको र अवसान हुने आसपासका क्षेत्रमा पनि एक सातायता तापक्रम वृद्धि उच्च रहेको औँल्याउनुभएको छ । असामान्य रूपमा यसले ग्रहण गरिरहेको ३१ डिग्री सेल्सियस हाराहारीको तातो पानीको वाफका कारण यसको असर पनि दक्षिणपूर्वी एसियामा अत्यधिक तातो मात्रा बढाउनमै केन्द्रित रहेको अनुमान गरिएको छ । जसको असर नेपालमा थोरै जोडिन्छ ।
चक्रवातको थप असरका विषयमा जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा र मौसम पूर्वानुमान महाशाखा दुवैले अध्ययन गरिरहेको छ । यसले नेपालमा मनसुन भित्र्याउन थप वातावरण बनाउने सम्भावना देखिएको छ । आगामी जुन ११ मा नेपालमा मनसुन भित्रिने समयअगावै हुने यस्ता मौमसी प्रणालीले वायुमण्डलमा परिवर्तन ल्याउन सहायक भूमिका निर्वाह गर्छ । बङ्गालको खाडीको जलवाष्पयुक्त वायुले नेपालमा मनसुनी प्रणाली सबल बनाउने गर्छ ।