© २०२३
रुपन्देहीको तिलोत्तमामा भएको सामुहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलाउन भएका छन् ।
जेठ २६ गते तिलोत्तमा १० कान्छिबजार मैनहवास्थित कृष्णबहादुर पुनले संचालन गर्दै आएको गंगादेवी कृषि फार्ममा पाँभ जनाको सामुहिक हत्या भएको थियो ।
भैंसी फार्ममा काम गर्ने रुपन्देही सैनामैना नगरपालिका वडा नं. ५ का ४० वर्षीय माधव मुसहर, उहाँकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, कामदार पोषराज मुसहर तथा स्थानीय करण चौधरी र आशिष चौधरीको सामुहिक हत्या भएको थियो ।
प्रहरीले हत्याकाण्डमा संलग्न भएको आशंकामा सोही फार्ममा काम गर्ने सुर्खेतका झसेन्द्रबहादुर सिंजालीलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।
पक्राउपछि सिंजालीले आफूले नै पाँचै जनाको हत्या गरेको स्वीकार गरेका थिए । उनीविरुद्ध जिल्ला अदालत रुपन्देहीमा परेको कर्तव्य ज्यान मुद्दामाथिको बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला अदालतका सूचना अधिकृत गंगा अधिकारीले थुनछेक बहसपछि जिल्ला न्यायाधीश मात्रिकाप्रसाद मरासिनीको एकल इजलासले अभियुक्त सिंजालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जानकारी दिए ।
आदेशपछि अभियुक्तलाई जिल्ला कारागार भैरहवा पठाइएको र त्यहीबाट थप अनुसन्धान अघि बढाउन भनिएको अधिकारीले बताए ।
प्रहरीसँगको बयानमा सिंजालीले आफ्नो चरित्र हत्या गर्ने र काममा ठगी गरेको आरोप लगाउँदै फार्मका साहुसँग कुरा लगाउने गरेकोले त्यसैको रिसमा हत्या गरेको स्वीकार गरेका थिए ।