© २०२३
बुटवल,२४ बैसाख । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई माओवादी लडाकुको शिविरमा भएको घोटालाको फाइल पनि खोल्न माग गरेका छन् । उनले सरकारले एकपछि अर्को गर्दै ठूला भ्रष्टाचारको फाइल खोले आफूले समर्थन गर्ने जनाएका छन् ।
राप्रपानिकट महिला संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताए ।
नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका केही मानिस पक्राउ परेका भन्दै उनले विगतका वाइडबडी काण्ड, ललितानिवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान नहुने बताए ।
यदि प्रधानमन्त्रीले सुनियत र सुविचारको साथ यो कदम चालेको भए आफ्नो पार्टीले समर्थन गर्ने लिङदेनले प्रष्ट्याए ।
लिङदेनले माओवादी लडाकु शिविर क्यान्टोनमेन्टको विषय पनि उठाएका छन् ।
‘क्यान्टोनमेन्ट घोटाला काण्ड उहाँकै शिरमा लागेको छ त्यो के हो ? फाइल खोलेर आफू चोखो छु भनेर देखाइदिनुपर्यो तर, भ्रष्टाचारको डंगुरमा शुद्धताको मन्त्र उच्चारण गर्यो भने लामो समय पत्याइँदैन’ उनले भने ।