© २०२३
कोरोना महामारी फैलिएको बेला गाडी चलेका छैनन् ।
घरमा खाने राशन सकिएको छ ।
भारततिर राशन लिन जान पनि पाइदैन ।
हिड्ने तागत पनि छैन ।
६ घण्टा हिडेर खबरीनाकाबाट कसरी गढवा पुगेर भत्ता ल्याउने होला भनेर रन्थनीएका गढवा ८ कोइलाबास स्थित खबरीनाकाका ७७ बर्षिय भाजलाल बुढाले गाउँघरमै भत्ता बुझ्न पाएकोमा खुसी प्रकट गरे । उनी जस्तै गढवा ८ कोइलाबास स्थित डाँडागाउँकी ७८ बर्षिय सेतु गुरुङसेनीले पनि खुसी व्यक्त गरिन् । कोरोना आएपछि गाडी घोडा बन्द भए । भत्ता बुझ्न गढवा कसरी जानेहोला चनेर चिन्ता गरेकी थिए । गाउँपालिका र बैंक आफै आउनुभयो, तपाइहरुलाई जयहोस्, उनको आशिक थियो ।
वडा कार्यालयमा आफन्तको भरमा लौरो टेकेर भत्ता बुझ्न आउनु भएकी कोइलाबासकी ७६ बर्षिय जैबुन निशा खातुनले वडा कार्यालयबाटै भत्ता बुझ्न पाउँदा निकै खुसी देखिनु हुन्थ्यो । बुढा, गुरुङसेनी र खातुन जस्तै सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुभएका मुसी नाकाकी ७६ बर्षिय सुकीकुमारी बुढा, कोइलाबासकी कमला केसी,पार्वति बिश्वकर्मा र सिसौरा नाकाका कुञ्जसिंह बिटालु लगायतका २ दर्जन बढी जेष्ठ नागरिक तथा एकल महिलाहरु गाउँघरमै भत्ता बुझ्न पाउँदा औधि खुसी देखिन्थे ।
गढवा गाउँपालिकाले मंगलबार र वुधवार कोइलाबासमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गढवा गाउँपालिका सामाजिक सुरक्षा शाखा तथा कृषि बिकास बैक गढवाको संयुक्त टोलिले गाउँपालिकाको समन्वयमा गाउँघरमै भत्ता वितरण गर्न कोइलाबास पुगेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । कोरोना महामारीका कारण बैंकहरुमा आउन सार्वजनिक सबारी साधन नचल्ने भएको र गाउँमै पुगेर वितरण गर्दा भिडभाड पनि कम हुने भएकोले सबै वडाहरुमा अभियानको रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना बनाएको अध्यक्ष यादवले बताए ।
सबै वडाहरुमा जाने योजना बनि सकेको छ । सम्बन्धित बैंकहरुसंग समन्वय गरेर बैंकका कर्मचारी र गाउँपालिका गएर भत्ता वितरण हुने छ–सामाजिक सुरक्षा शाखाका ऋषि यादवले भने । जेष्ठ नागरिक,एकल महिला,अति अशक्त,पुर्ण अपांगता भएका ब्यक्ति र अशक्त वालवालिका लाई यसैगरी सबै वडाहरुमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने यादवले बताए ।
सामाजिक सुरक्षा भत्ता वितरणमा कृषि बिकास बैंक गढवाका सह प्रबन्धक नुमबहादुर रायमाझी,लेखापाल पार्वती भट्टराई,गढवा गाउँपालिका वडानं. ८ का वडाअध्यक्ष सद्दाम सिद्दिकी,सामाजिक सुरक्षा हेर्ने शाखाका कर्मचारी ऋषि यादव, बिष्णु बिसी लगायत पुगेका थिए ।