© २०२३
तिलोत्तमा नगरपालिकाले कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पसल व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
नगरपालिका संकट व्यवस्थापन केन्द्रको शनिबार बसेको बैठकले जनजीवनलाई सामान्य बनाउन नेपाल सरकारले पछिल्लोपटक बन्दाबन्दीको सम्बन्धमा गरेको निर्देशन बमोजिम नगर क्षेत्रमा साँझ बजेसम्म पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
तोकिएबमोजिमका सेवा, व्यवसाय सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने र मास्क, पञ्जा, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।
बैठकमा बन्दाबन्दी सुरु भएदेखि हालसम्म कोभिड–१९ संक्रमणको रोकथाम एवं नियन्त्रणमा नगरपालिकाले गरेका कामका बारेमा समीक्षा भएको र आगामी योजनाका बारेमा छलफल भएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए । दैनिक रुपमा सेवा व्यवसाय सञ्चालन गर्दा नगरबासीले प्रयाप्त मात्रामा सावधानी अपनाउनुपर्ने र यसको नियमन नगरपालिकाले गर्ने प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले बताए ।
यसैबीच तिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित आइसोलेसन सेन्टरमा रहेको दुई जना घर फर्किएका छन् । उनिहरु कोरोनालाई जितेर आफ्नो घर फर्किएको नगरपालिकाले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएको १४ दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनिहरुलाई घर पठाइएको हो । उनिहरुलाई नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरुले बधाई सहित बिदाई गरेका छन् । हाल तिलोत्तमाको आइसोलेशन सेन्टरमा १९ जना कोरोना संक्रमित उपचार गरिरहेको तिलोत्तमाका स्वास्थ्य शाखाका ईश्वरी पौडेलले बताए ।