© २०२३
रुपन्देहीका नगरपालिकाहरुले आगामी बजेटमा शिक्षालाई प्राथमिकता दिने बताएका छन् । कोभिड १९ को प्रभावको समय सीमा अनिश्चित भएका हुँदा त्यसलाई पनि संवोधन गर्ने प्रयास गरिने उनिहरुको भनाई छ ।
शिक्षाका लागि राष्ट्यि अभियान रुपन्देहीले रुपन्देहीका उपमहानगरपालिका र नगरपालिकाहरुका जनप्रतिनिधी, शिक्षा प्रमुख र सरोकारवालाबीच गरिएको स्थानीय तहहरुको शिक्षाको बजेट बिषयक भर्चुअल छलफल कार्यक्रममा उनिहरुले विद्यालयलाई प्रविधिमैत्री बनाउनतर्फ जोड गर्ने बताए ।
सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाले नगरका सामुदायिक विद्यालयहरुलाई प्रविधीतर्फ हिडाइरहेको बताए । ‘हामीले गतसालदेखि नै यसतर्फ जोड गरिरहेका छौं नगरप्रमुख केसीले भने,– अब शिक्षकले सिकेको प्रविधी सीपलाई अरु शिक्षकमा हस्तान्तरणमा जोड दिन्छौं ।’ उनले नगरका सबै सामुदायिक विद्यालयलाई पूर्वाधारयुक्त बनाउनमा समेत प्राथमिकता दिइएको बताए । सबै सामुदायिक विद्यालयमा एउटै रंग लगाउने कामलाई निरन्तरता दिने र पुस्तकालय तथा प्रयोशाला समेत विद्यालयमा स्थापना गर्ने उनले बताए । सामुदायिक र संस्थागत विद्यालयबीचको विभेदलाई अन्त्य गर्ने गरी काम अघि बढेको उनको भनाई थियो ।
आउने भदौभित्र विद्यालयको पठन पाठन नियमित हुने अनुमान गरिएको उल्लेख गर्दै उनले त्यस अनुसार स्कुलमा रहेको क्वारेन्टाइनको व्यवस्थापन पनि त्यो बेला फरक ढंगले सोचिने बताए । उनका अनुसार सैनामैना नगरपालिकामा ४ वटा विद्यालय क्वारेन्टाइनको रुपमा प्रयोग भएका छन् । ‘अहिले भारतबाट आउने क्रम केही कम भएका छ उनले भने, अव तेश्रो मुलुकबाट पनि आउने क्रम शुरु भएको हुँदा यो क्रम भदौ महिनापछि मात्र कम हुन सक्छ ।’ अहिले विद्यालयहरु क्वारेन्टाइनमा प्रयोग भएको र कोरोनाको संक्रमण पनि तत्काल कम हुने नदेखिएको हुदा भदौबाट मात्र विद्यालय संचलन गर्न सकिने अनुमान आफुहरुले गरेको नगर प्रमुख कार्कीले बताए । त्यस समयसम्मका लागि शिक्षकलाई गाउँ टोलमा परियोजना कार्यका लागि खटाउने र टेलिभिजनबाट समेत कक्षा संचालन गर्न लागेको उनले जानकारी गराए ।
बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले नगरका दुई विद्यालयमा डिजिटल कक्षा संचालन हुने बताए । नगरमा ३८ वटा सामुदायिक र ५८ वटा संस्थागत विद्यालय भएको जानकारी गराउँदै उनले बुटवल उपमहानगरमा सबै सामुदायिक विद्यालयको स्तर बृद्धि हुनेगरी काम गर्न लागिएको बताए । बालविकास केन्द्रका विपन्न बालबालिकाका लागि पोशाकको व्यवस्थापन गर्न लागेको खनालले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकाका शिक्षा प्रमुख गंगाराम आचार्यले नगरपालिकाले सामुदायिक विद्यालयमा एउटै रंग लगाएर सन्देश बाडेको बताए । बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुलाई नगरले मासिक ३ हजार थप गरि पारिश्रमिक दिएको, १२ जना शिक्षक दरबन्दी सिर्जना गरी बिषयगत शिक्षक अभाव भएको विद्यालयमा सहयोग गरेको र आउने बर्षपनि उक्त कामलाई निरन्तरता दिने उनले जानकारी दिए । त्यसैगरी सबै विद्यालयमा आधारभूत आइसिटी सेवा दिने र नगरका ५ वटा विद्यालयलाई बस किन्नका लागि सहयोग गर्ने समेत उनले बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका शिक्षा प्रमुख डा. कुलप्रसाद खनालले विद्यालयमा विषयगत शिक्षकको अभाव भएको हुदा नगरभित्र शिक्षा विकास कोषको स्थापना गरि त्यसलाई सम्बोधन गर्ने सोच बनाएको बताए । उनले विद्यालय शिक्षाको तथ्यांकीकरण गर्ने र सर्वेक्षण मार्फत विद्यालय वाहिर रहेका बालवालिकाको संख्या र अवस्थाको समेत जानकारी लिन लागिएको बताए । शिक्षाका लागि बजेट बृद्धि गर्ने गरि बिनियोजनमा शाखाको तर्फबाट कार्यक्रमहरु प्रस्तुत गरेको उनको भनाई छ ।
देवदह नगरपालिकाका शिक्षा अधिकृत नारायण पोख्रेलले सामाजिक र नैतिक बिषयलाई नेपाली माध्यमबाट पठन पाठन गर्ने नीति अघि सारेको बताए । उनले मातृभाषाको अवस्था के छ र कुन मातृभाषामा पठन पाठन गर्न संभव देखिन सक्छ भन्ने योजना बनाउनका लागि मातृभाषाको अध्ययन अनुसन्धान गर्न लागिएको जानकारी दिए । उनले कक्षा ९ र १० लाई डिजिटल कक्षाको रुपमा अगाडी बढाउने तयारी पूरा भएको र विद्यालयमा पठन पाठन शुरु भएपछि त्यसको कार्यान्वयन हुने बताए । बालविकास केन्द्रका सहयोगी कार्यकर्ताको परिश्रमिकमा नगरले केही रकम थप गरेको, बालविकास केन्द्रको बसाई व्यवस्थापन र सामग्री व्यवस्थापनमा नगरबाट जोड दिएको उनको भनाई थियो ।
कार्यक्रममा सहकारी तथा शिक्षा विज्ञ डा. खगराज शर्माले स्थानीय तहहरुले शिक्षामा गरेको प्रयास प्रशसनिय रहेको बताए । उनले विद्यालय सुधारको थालनी साना कक्षाबाट गर्नका लागि सुझाव दिए । उनले शिक्षक दरबन्दी नभएको अवस्थामा बैकल्पिक उपायबाट त्यसको सम्वोधनमा पहल गर्नुपर्ने, क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पढ्दै, कमाउँदै, पढ्दै अभियान संचालन गर्न सकिने समेत बताए ।
शिक्षाका लागि राष्ट्यि अभियान रुपन्देहीकी संयोजक सुमित्रा शर्माले विपद र स्थानीय तहले बजेट कार्यक्रम ल्याउने समयलाई लक्षित गरि छलफलको कार्यक्रम अघि बढाइएको जानकारी गराइन । उनका अनुसार एनसिई रुपन्देहीले विपद, बजेट र शिक्षालाई समेटी आधा दर्जन छलफल कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ ।
छलफल कार्यक्रमको सहजीकरण शिक्षाका लागि राष्ट्यि अभियान रुपन्देहीकी सदस्य तथा पत्रकार अमृता अनमोलले गरेकी थिइन ।