© २०२३
गुल्मीमा एक जना सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन वटा गाउँ सिल गरिएको छ । गुल्मी दरबार गाउँपालिका वडा नं ७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएको थियो ।
गुल्मी दरबार गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर बस्नेतले शनिबारै सूचना जारी गरी रोटेपानी, उखाप र रिपाहावासीलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसहरुलाई पनि प्रवेश गर्न नदिन भनेका छन् ।
ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि दुई दिनअघि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरेर भैरहवा पठाएकोमा शनिबार पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
उनका श्रीमान भारतबाट जेठ ११ गते गाउँ आएका थिए । १४ दिन क्वारेन्टिनमा बसेपछि जेठ २७ गते आरडिटी नेगेटिभ आएकाले उनलाई घर पठाइएको थियो । त्यसको ११ दिनपछि उनकी श्रीमतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए ।
राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिवार मात्रै गुल्मीको रेसुङ्गा नगरपालिकामा १८ जना, गुल्मी दरबार गाउँपालिकामा १ जना र छत्रकोट गाउँपालिकामा १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गुल्मी जिल्लामा हाल कोरोना संक्रमितको संख्या १७४ पुगेको छ । ६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।