© २०२३
गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मनाङको चामे गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै भाइरसको संक्रमणबाट जोगिएको हिमाली जिल्ला पनि प्रभावित बनेको हो । तर संक्रमित कर्मचारी मनाङको बासिन्दा नभएर कपिलवस्तु वाणगंगाका रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४२ जना संक्रमित थपिएका छन् ।
नवलपरासी सुस्ता पूर्वमा १८ जना, तनहुँमा १२, गोरखामा ११ जना कोरोना संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ जना र गैंडाकोट नगरपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
तनहुँको ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ ।
यसैगरी, गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहीद लखन गाउँपालिकाका ४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अब, गण्डकी प्रदेशमा मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।