© २०२३
प्रदेश सभाका सदस्यहरूले आफ्नो भूमिको खोजी गरेका छन । प्रदेश संरचना केन्द्र र स्थानिय सरकारको समन्वयको पुलको काम मात्र गर्ने जस्तो देखिएकाले भूमिका नपाएको उनीहरूको भनाई छ ।
जिम्मेवार विहिन हुन पुग्दा आत्मग्लानी महशुस भएको कतिपय प्रदेश सभा सदस्यहरूले गुनासो गरेका छन् । बुधवारदेखि शुरु भएको हिउँदे अधिवशेनको पहिलो वैठकमा प्रदेश सांसदहरूले ४ महिना आफूले वेकामे भएर वस्नु परेको पीडा ओकलेका थिए ।
उनीहरूले प्रदेश सभा सदस्यहरूको भूमिका कमजोर हुँदै गएको भन्दै संविधानले दिएको अधिकार क्षेत्र भित्र रही प्रदेश सदस्यहरूलाई सकृय बनाउनुपर्नेमा जोड दिएका थिए । प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले प्रदेश सांसदको भूमिकालाई कमजोर बनाउन खोजिएको भन्दै कहिले काही आत्मग्लानी हुने गरेको बताए । उनले भने–स्थानिय जनप्रतिनिधीहरूले समेत खोज्न छाडे, प्रदेशको भूमिका कहा छ हाम्रो भूमिका के हो ।’ उनले जनअपेक्षा अनुसार काम गर्न नसक्ने हो भने सांसदहरूले खाएको तलब सुबिधा आफैलाई बोझ हुने बताए । उनले भने– जनतालाई कर थोपरे हामीले सेवा सुविधा लिनुको औचित्य हँुदैन , त्यो अपराध ठहरिनेछ ।’
पाल्पाबाट निर्वाचित सांसद तुलाराम घर्ति मगरले प्रदेश सासदहरू बेरोजगार भएको बताए । उनले भने– मन्त्रिहरू सामान्य कार्यक्रमको उद्घाटनमा व्यस्त हुनु प¥यो, सांसदहरूले काम नै पाउनु भएको छैन ।’ उनले प्रदेश मन्त्रिहरूलाई प्रदेश सांसदसँग सल्लाह सुझाव लिएर काम गर्न समेत आग्रह गरे ।
संघीय समाजवादी फोरमका नेता समेत रहेका सांसद सन्तोष कुमार पाण्डेले विहानीले दिउसोको संकेत गर्दे भन्दै प्रदेश सरकारको काम कारवाहीको वारेमा सवै प्रष्ट भएको बताए । ‘भोली जनताको अगाडी शिर झुकाएर हिँड्नु पर्ने अवस्था नआओस ।’ उनले भने– जनता भोलेबाबा होईन चाणक्य हुन् ।’
नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले तेस्रो अधिवेशनमा सत्ता पक्ष र प्रतिपक्ष नभई विषयमा केन्द्रित छलफल र त्यसको निष्कर्ष निकाल्नु पर्ने बताए । उनले जनताको चाहना अनुसार काम गर्न नसकेको स्वाीकार गर्दे जनताको म्याण्डेट भूल्न नसकिने बताए ।
राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले प्रदेशको राजधानी तथा नामाकरणका लागि विज्ञहरूको टोली गठन गरी समयमा नै टुंगाउनुपर्ने बताईन ।
सांसद गिता थापा, कृष्ण ध्वज खड्का, इन्द्र प्रसाद खरेल, रामजी घिमिरे,सरस्वती गौतम, कुल प्रसाद पोख्रेल, विष्णु प्रसाद पन्थी, राष्ट्रय जनता पार्टि नेपालका सांसद कल्पना पान्डे, भूवनेश्वर चौधरी , भगवति देवी भन्डारी, हरिप्रसाद रिजाल, तुल्सी चौधरीलगाएतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
बैठकको शुभारम्भमा सभामुख पुर्णवहादुर घर्तिले प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेश सभाको अधिवेशन आह्वान भएको पत्र र दोश्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी पत्रहरू पढेर सुनाएका थिए ।
प्रदेश नम्वर पाँचका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेश ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तब्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश ५ संघ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबारको बैठकमा पेश गरेका छन । त्यगैगरी प्रदेश नं ५को नामाकरण र स्थायी राजधानी सम्वन्धी विशेष समितिको प्रतिवेदन वुझाउने समय ३ महिना थप भएको सुनाईएको थियो । बैठक पुस ८ गते दिनको एक बजे बस्ने गरी स्थगित गरिएको छ ।