© २०२३
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले परम्परागत शिक्षाले नेतृत्व विकास गर्न नसक्ने बताएका छन् ।
पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीमा रहेको दिब्यज्योति बहुमुखी क्याम्पसको २९ आंै बार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले माग भए अनुसारको शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।
एक बर्ष भित्र प्रदेश सरकारले प्रदेश शिक्षा नीति बनाउने र त्यसपछि प्रदेशमा शिक्षाको मुल्याङ्कन र गुणस्तरमा बृद्धि गर्ने बताए । अहिलेको अवस्थामा माध्यमिक शिक्षा भन्दा माथिल्ला कक्षामा विद्यार्थीहरूलाई टिकाउन निकै गाह्रो हुने गरेकोले ब्यवहारिक र प्राविधिक शिक्षामा नै विशेष जोड दिनुपर्ने धारणा ब्यक्त गरेका हुन् । मुख्यमन्त्री पोखरेलले क्याम्पसहरूमा ब्यबस्थापन पढाई हुने गरेको तर समय ब्यबस्थापनको बारेमा जानकारी नै नहुनु दुःखद पक्ष रहेकोले समय ब्यबस्थापनको विषयमा समेत ख्याल गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रदेश ५ का भौतिक योजना तथा विकास मन्त्री बैजनाथ चौधरीले दिब्यज्योति यस क्षेत्रको अग्रणी शैक्षिक संस्था रहेको बताउँदै गुणस्तरीय शिक्षासँगै शैक्षिक विकासमा निरन्तर लागिरहनु पर्ने बताए । बर्दघाट नगरपालिका नगर प्रमुख धीरज बश्यालले सैद्धान्तिक सँगसँगै ब्यवहारिक र प्राविधिक शिक्षाको समेत उत्तिकै महत्व रहने भएकोले बर्दघाट नगरपालिकामा प्राविधिक शिक्षालय स्थापनाका लागि प्रदेश सरकारको ध्यानाकर्षण गरेका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य कृष्ण पौडेल, पूर्व सम्विधान सभा सदस्य सिता बौडेल, मध्यविन्दु बहुमुखी क्याम्पसका प्रमुख मुक्ति पाण्डे, क्याम्पसका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक हिमलाल ज्ञवाली, दिब्य ज्योति मा.वि का प्रधानाध्यापक हुमनाथ आचार्य लगायतले शुभकामना मन्तबय ब्यक्त गरेका थिए ।