© २०२३
चन्द्रौटा महोत्सव सकिन अब एक दिन बाँकी हुँदा महोत्सव स्थलमा दर्शकहरु उर्लिएका छन् । स्टेज प्राङगण, बालउद्यान, तथा स्टलहरुमा दर्शकहरुले भरिभराउ थियो । दर्शकहरुको भिडभाडले टिकट काउण्टर, बालउद्यान, स्टल व्यापारीलाई समेत हम्मेहम्मे परेको थियो ।
महोत्सव प्रवक्ता जगत पौडेलका अनुसार शनिबार मात्र २५ हजार दर्शकले मेला अवलोकन गरेका थिए । महोत्सवको दशौं दिन मात्र एक करोडको कारोबार भएको प्रवक्ता पौडेलले बताए । “कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूल नारासहित व्यापार संघ कपिलवस्तुले यही मंसिर ६ गतेदेखि पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव संचालन भएको हो ।
विगतका भन्दा फरक व्यवस्थापन र आकर्षणले गर्दा महोत्सवमा दर्शकको आकर्षण बढेको महोत्सव मूल व्यवस्थापन समिति संयोजक महादेव पोखरेलले जानकारी दिए । उनले भने – “यस पटकको महोत्सव विगतको भन्दा फरक छ । मेला महोत्सवमा नेपालमै पहिलो पटक थारु सांस्कृतिक नृत्य प्रतियोगिता राखिएकाले यस जिल्लाभरिका थारुहरुको आकर्षण बढ्यो । त्यतिमात्र नभएर यस पटकको महोत्सवमा चन्द्रौटा डान्स आइडललाई एस.एम.एस. मार्फत भोटिङको व्यवस्था गर्नाले दर्शकको आकर्षण बढेको हो ।” यसका अतिरिक्त पर्यटन प्रवद्र्धनका लागि फोटो प्रदर्शनी, नेपालकै सबैभन्दा होंची महिलाको प्रदर्शनीले पनि दर्शकलाई तानेको महोत्सव संयोजक पोखरेलले दाबी गरे ।
यसका अतिरिक्त स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला प्रदर्शनीका स्टलहरुका साथै बालउद्यान, राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुति, हरिडान्स ग्रुप, छमछमी कलाकेन्द्रको प्रस्तुतिले दर्शकलाई तानेको सांस्कृतिक संयोजक अर्जुन सापकोटाले जानकारी दिए । यता पर्यटकीय स्थलहरुको प्रचार प्रचार गर्ने उद्देश्यले जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनीले समेत दर्शकको मन खिचेको छ ।पाँचौं चन्द्रौटा डान्स आइडलमा नवौं दिन प्रतिष्पर्धा गरेका ५ मध्ये निर्णायकको मूल्यांकन, टिकटको अर्धकट्टी र एस.एम.एस.को आधारमा कोड नं. १२ भएकी सिर्जना जैसी (एम.एस. गर्ल) बाहिरिएकी छन् । भने दशौं दिन कोड नं. ०२ सम्झना जि.सी., कोड नं. ०३ अन्जली गौतम, कोड नं. ०५ भएकी कविता सुनार र कोड नं. ०७ भएकी सुजता श्रेष्ठले प्रतिष्पर्धा गरेको आइडल संयोजक सुमन पौडेलले जानकारी दिए । निर्णायकको मूल्यांकन, टिकटको अर्धकट्टी र एस.एम.एस.को आधारमा उत्कृष्ट ४ मध्ये चन्द्रौटा आइडल बन्ने संयोजक पौडेलले बताए ।
महोत्सवको दशौं दिनमा सांस्कृतिक कार्यक्रमतर्फ चर्चित आधुनिक गायक हेमन्त शर्मा, हास्य कलाकार राजा राजेन्द्र, लोक दोहोरी गायिका इन्दिरा गैरे, निरु गुरुङ र धन गुरुङ लगायतका कलाकारले दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए । यस्तै महोत्सवको अन्तिम दिन चर्चित आधुनिक तथा पप गाएक शिव परियार लगायतका राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ à