© २०२३
२०७३ को फागुन ४ मा तामझामका साथ भैरहवामा रहेको मालपोत कार्यालय र नापी कार्यालय फुटाएर मर्चवारको मझगावामा र बुटवलमा लगियो । स्थानीय सेवाग्राहीलाई सुबिधा दिने उद्देश्य सहित भैरहवाबाट अन्यत्र २ स्थानमा लगिएको मालपोत बुटवलमा ठिकै रहे पनि मर्चवारका जनता भने अझै सास्ती खेप्न बाध्य भएका छन् । मालपोत त्यहाँ लगिए देखि नै मर्चवारका सेवाग्राहीहरूले कर्मचारीको अभाव झेल्दै आएका छन् । अहिले मालपोत कार्यालय मर्चवारमा १ जना नायब सुब्बा, १ जना खरिदार, १ जना कम्प्युटर अपरेटर तथा ५ जना करारका कार्यालय सहयोगीको भरमा चलेको छ । आफ्नै घरदैलोमा सेवा सुबिधा पाउने आश गरेका मर्चवार बासीहरू मालपोतमा साता भन्दा बढी दिन देखि काम नै नहुँदा जिल्लिएका छन् ।
एक जना अधिकृत नहुँदा मालपोत कार्यालयमा अहिले जग्गा रजिष्टे«शन बाहेक अरू कुनै पनि काम हुन सकेका छैनन् । नामसारी, हालसाविक, संसोधन लगायतका निर्णय गर्ने प्रकृतिका फाईलहरू त्यतिकै थन्किएका छन् । आफ्नो काम बन्ने आश लिएर मालपोत आउने सेवाग्राहीहरू खाली कार्यालय र रित्तो कुर्सी हेरेर फर्किने गरेका छन् । दशैंपछि त मुद्दा फाँटमा हुने एउटै काम अगाडि बढ्न सकेको छैन । जग्गा पास हुन आएका लिखतमा पनि केही त्रुटि देखिए त्यो काम त्यतिकैमा रोकिने नेपाल लेखापढि कानून ब्यवसायीका पूर्व अध्यक्ष सीताराम यादवले बताए । एउटै कर्मचारीले मोठ भिडाउने, रोक्का हेर्ने, रजिष्ट्रेशन रसिद काट्ने र फेरी पुर्जा पनि आफै बनाउने गरेका छन् । करिब ४ जना कर्मचारीले गर्ने काम एउटै कर्मचारीले गर्नु परेको उनले बताए । अहिले मात्र हैन मालपोत कार्यालय मर्चवारमा आएपनि कर्मचारी नआएको बताए ।
उसो त कार्यालयमा १७ जना कर्मचारीको दरबन्दी रहेको निमित्त कार्यालय प्रमुख नायब सुब्बा शान्ता घिमिरेले बताइन् । तर यहाँ दरबन्दी अनुसारका कर्मचारी कहिल्यै नहुने उनी बताउँछिन् । कार्यालयमा १ जना अधिकृत, ३ जना नायब सुब्बा, ५ जना खरिदार, २ जना कम्प्युटर अपरेटर, १ जना लेखा सहायक र ५ जना कार्यालय सहयोगीको दरबन्दी रहेको घिमिरेले बताइन् । “कर्मचारीहरू किन मर्चवार आउन खोज्दैनन्” भन्ने प्रश्नमा उनले यसको कारण अख्तियार रहेको बताइन् ।
“मर्चवारमा कर्मचारी नजानुको कारणमा यातायातको समस्या, बसाई लगायत त छँदैछ एउटा प्रमुख कारण अख्तियार पनि हो,” घिमिरेले भनिन् । यसअघि मालपोतकै नायब सुब्बा हरिप्रसाद पौडेल र खरिदार प्रकाश रिजाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालयले घुस लिँदा लिँदै पक्राउ गरेपछि अहिले कार्यालय कर्मचारी विहिन बनेको छ । नायब सुब्बाको भरमा कार्यलय सञ्चालन हुँदै आएको छ भने सेवाग्राहीले पाउनु सम्मको सास्ती पाइरहेका छन् ।
कर्मचारीको अभावमा अख्तियार प्रमुख कारक भएको लेखापढी ब्यवसायी सीताराम यादव पनि स्विकार गर्छन । उनले यसमा मूख्य दोषी सम्बन्धित बिभाग भएको बताए । आवश्यक कर्मचारी नपठाउँदा र कर्मचारीको अभाव हुँदा सेवाग्राहीले आफ्नो काम छिटो गराउन कर्मचारीहरूलाई बिभिन्न प्रलोभनमा पार्ने उनले सुनाए । “काम गराउन तछाँड मछाँड हुन्छ, उसै माथी अख्तियारको नजर लाएपछि कसरी कर्मचारी आउँछन त ?” यादवले भने ।
मर्चवारमा रहेका कोटही माई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउपालिका, मायाँदेवी गाउपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको समेत केही वडा मालपोत कार्यालय मर्चवारको कार्यक्षेत्रमा पर्दछन् । मालपोतमा कर्मचारी पठाई सेवाग्राहीलाई हुने सास्ती हटाउन मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ र सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ले माग गरेका छन् । बुटवल टुडे दैनिक संग कुरा गर्दै यी दुवै अध्यक्षले क्षेत्रका जनताले कर्मचारीको अभावमा दुःख पाएको बताउँदै कर्मचारी ब्यवस्थापनको माग गरेका हुन् । दरबन्दी अनुसारको कर्मचारी नआए आफुहरू आन्दोलन गर्न समेत पछि नपर्ने अध्यक्षद्वयको भनाई छ ।