© २०२३
बुटवल,१८ माघ । राप्रपा सांसदहरूले नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने र राजसंस्था फर्काउने दाबी गरेका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपा सांसद धवलशमशेर राणाले राप्रपालाई हेप्ने र होच्याउने काम नगर्न चेतावनी दिए । आफूहरु नेपालमा सनातन हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्र पुनःस्थापना गर्न आएको भन्दै उनले कुरा बोल्न संविधानले नरोक्ने बताए । ‘हामी बोल्छौं र कार्यान्वयन गर्छौं’– राणाले भने –‘हामी संविधान र व्यवस्थालाई मानेर नै संसदमा आएका हौं ।’
नेकपा एमालेका सांसद रघुजी पन्तले राप्रपाका मन्त्रीहरूले संविधानअनुसार मन्त्री पदमा शपथ लिएपछि व्यवस्थामाथि प्रश्न उठाउन नमिल्ने बताएका थिए । राप्रपा सांसद राणाले नेता पन्तको सोही भनाइको जवाफ दिएका हुन् ।
राप्रपाका अर्का सांसद ज्ञानेन्द्र शाहीले पनि एमाले सांसद पन्तको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए ।