© २०२३
बुटवल, १५ माघ । बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति खातामा रकम जम्मा गर्ने बढ्दो दरले अर्थतन्त्रमा नकारात्मक असर परेको र बैकिङ तरलता अभाव बढेको भन्दै यसलाई कडाईका साथ नियन्त्रण गर्न उद्योगी ब्यापारीले माग गरेका छन् । उद्योग ब्यापार संघ बुटवलले नेपाल राष्ट्र बैंकलाई अनुरोध पत्र पठाउंदै मुद्दति निक्षेप नियन्त्रण गर्न र ब्याज दर घटाउन माग गरेको हो ।
संघका अध्यक्ष गोबिन्दराज गैरे र महासचिव पदम जीसीद्वारा जारी विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरुले बढी ब्याज दिएर मुद्दति निक्षेपमा ठूलो मात्रामा रकम जम्मा गराउने प्रवृत्तिले उद्योग व्यासायमा लगानी हुन छाडेको, बजारमा बैकिङ तरलता अभाव भएको र कर्जाको चर्को व्याजदरले उद्योगी व्यापारीहरु मर्कामा परी कयौँ धरासायी भएका र कतिपयले आत्महत्यासम्म गरेकाले राष्ट्र बैंकको ध्यानाकर्षण गराइएको छ ।
‘बैंकका कर्मचारीहरुले कर्जा लिएर उद्योग, व्यवसाय संचालन गरिरहेका उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष, फोन, म्यासेज माफर््त ब्याज र किस्ता तिर्न मानसिक दवाब दिने कार्यले उद्योगी, व्यापारीहरु तनाबले ग्रसीत भई आत्महत्या समेत गरिसकेको अवस्था सिर्जना भएको छ’–विज्ञप्तिमा भनिएको छ–‘उद्योग व्यवसाय चलायमान हुन नसकेमा देशको अर्थतन्त्र पनि धरासायी हुने निश्चित छ, हालको परिस्थितिलाई मध्यनजर गरी अपाङ्ग, असहाय, एकल महिला, बृद्धहरुका लागि मात्र मुद्दती खातामा निक्षेप जम्मा गर्न पाउनुपर्ने र अन्यलाई निरुत्साहित गर्दै गर्नै परे अति न्यून ब्याज दरमा मात्रै मुद्दति खातामा निक्षेप जम्मा गर्न पाइने नियम लागु गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदछ ।’
व्याज दर घटाउने र मुद्दति खाता नियन्त्रण हुुनुपर्ने माग छिटो भन्दा छिटो सम्बोधन नभए रुपन्देहीमा रहेका व्यावसायीक संघसंस्था, उद्योगी, व्यावसायी बुटवल देखि केन्द्रसम्म व्यवसाय नै बन्द गरी चरणवद्ध आन्दोलनमा उत्रन तयारी अवस्थामा रहको चेतावनी संघले दिएको छ ।