© २०२३
कपिलवस्तुको चन्द्रौटा यही मंसिर ६ देखि १६ गतेसम्म हुन गइरहेको “पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा ब्यापार महोत्सव २०७५” को तयारी तीब्र पारिएको छ ।
“कृषि पर्यटन उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूल नाराका साथ हुन लागेको पाँचौ चन्द्रौटा महोत्सव नजिकिँदै जाँदा आयोजक तयारीमा जुटेको हो । मेलालाई सभ्य र भब्य रूपमा सफल पार्न ३२ सदस्यीय मूल समिति र १३ सदस्यीय सचिवालय निर्माण गरिएको छ ।
यस्तै २४ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । यतिबेला महोत्सव स्थलमा तारबार, स्टल निर्माणको काम तीब्र रूपमा अगाडि बढेको छ । गतवर्षकै स्थानमा आयोजना हुने महोत्सवस्थलमा २६४ स्टल रहने आयोजकले जनाएको छ । करीब ९० प्रतिशत स्टल बुकिङ भइसकेको स्टल संयोजक नवराज न्यौपानेले जानकारी दिएका छन् । स्थानीय ब्यापारीहरूका लागि स्टलमा बिशेष छुटको पनि ब्यवस्था रहेको न्यौपानेको उद्घोष छ । स्थानीय उत्पादन एवं पर्यटनको प्रचारप्रसार, संरक्षण, सम्बद्र्धन र बजारीकरणका साथै शिवराज नगरक्षेत्रका प्रसुति सेवा केन्द्रलाई विशेष सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको व्यापार संघ कपिलवस्तुका अध्यक्ष एवं महोत्सव मूल आयोजक समिति संयोजक महादेव पोखरेलले जानकारी दिएका छन् । महोत्सव संचालनले जिल्लाको चन्द्रौटा क्षेत्रका कृषि, उद्योग, व्यापार व्यवसाय तथा ऐतिहासिक, पूरातात्विक, धार्मिक एवं पर्यटकीय स्थलहरूको वृद्धि विकास, प्रवद्र्धन र प्रचारप्रसारमा थप टेवा पुग्ने महोत्सव मूल आयोजक समिति संयोजक पोखरेलले विश्वास व्यक्त गरे ।
महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषि उत्पादन, हस्तकला जडीबुटीहरूको प्रदर्शनी र बिक्री वितरणका स्टलहरू रहने आयोजक संस्थाका महासचिव जगत पौडेलले बताए । महोत्सवलाई थप आकर्षण बनाउन बाल उद्योन, मौतका कुवा, रोटे पिङ, जादुगर, कुस्ती खेल, पाँचौं डान्स आइडल, थारु भेषभुषासहितको नृत्य प्रतियोगिताका साथै राष्ट्रिय र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने महासचिव पौडेलले जनाए । यसैगरी जिल्लाका पर्यटकीय एवम् धार्मिक स्थलहरूको फोटो प्रदर्शनी महोत्सवको अर्को महत्वपूर्ण विशेषता रहेको आयोजक संस्थाका सचिव गोपाल बन्जाडेले जानकारी दिएका छन् । हरेक बर्ष भएका महोत्सवभन्दा उकृष्ट महोत्सव हुने बञ्जाडेको दाबी छ । महोत्सवमा बिज्ञान र प्रबिधिलाई समेत प्राथमिकतामा राखिने सचिव बन्जाडेले जनाए ।