© २०२३
प्रेमप्रसादको आत्मदाहको घटनाले अरु धेरैको जस्तै मेरो पनि मन वेचैन नबनाएको कहां हो र ? महाकाली सन्धि हुनु आसपासबाट पत्रपत्रिकाको नियमित अध्ययनबाट थोरै जान्ने बुझ्ने भएदेखि नै देश र नागरिकको हितको बारेमा सोच्ने आदत बसेको हो । यद्यपि हामी जस्ता लो प्रोफाइलका मान्छेले देश र नागरिकको बारेमा भलो सोचेको, चिन्ता र चासो गरेको महत्व र मूल्य नहुन सक्छ तै पनि कसैले सोच्न छोड् भने पनि नछाड्ने लत बसेको छ ।
प्रेमप्रसादले उल्लेख गरे जस्तै देशको अर्थतन्त्र केही सीमित ठूला व्यवसायीको कब्जामा पुगेको सत्य हो । एउटा तथ्यांक अनुसार नेपालका बैंकहरुको कर्जा लगानीको ६० प्रतिशत हिस्सा ९६ जनामा र ४० प्रतिशत हिस्सा १८ लाख जनामा भएको छ । उनै ९६ जनाले उद्योग,ब्यापार,बैंक, शिक्षा, स्वास्थ्य जस्ता सेवा क्षेत्रमा कब्जा जमाएका छन् ।
ऐन कानून, निति नियम पनि तिनै ९६ जनालाई पोस्ने अरुलाई कस्ने खालका छन् । यसले गर्दा साना व्यवसायी, उद्यमी टिक्न र माथि उठ्नै नसक्ने अवस्था बनाइएको सत्य हो । उद्योग ब्यापार गरेर राज्यलाई कर तिर्ने निजी क्षेत्र संकटको डिलमा पुगेपछि कर र राजस्वमा कमी आएपछि देशको अर्थतन्त्र संकटमा स्वतः पर्ने नै भयो ।
देशको राजस्वले मुश्किलले कर्मचारी पाल्न ठिक्क छ अरु सबै विदेशमा पसिना बगाउने नेपालीले पठाएको रेमिट्यान्स र वैदेशिक ऋणले धानिएको छ देश । चरम भ्रष्टाचार र राज्यको निकम्मापनको कारण अहिले एकजना निर्दोष नेपालीको थाप्लोमा अनाहकमा करिब ७० हजार ऋणको भारी छ ।
सरकारमा पुगेका दलहरु नेताहरु भएभरका दललाई मन्त्री दिएर सरकार टिकाउने ध्याउन्नमा छन् । सरकारले गठन गरेको विज्ञ समितिले संघमा १५ र प्रदेशमा ५ भन्दा बढी मन्त्रालय राख्न हुंदैन भनेर सिफारिस र सुझाव दिएको छ । तर प्रधानमन्त्री र मुख्यमन्त्रत्रीहरुलाई यति महत्वपूर्ण सिफारिस र सुझावलाई पटक्कै मतलब गर्दैनन् । किनभने उनीहरुलाई सत्तामा टिकिरहनु छ । प्रतिपक्षमा बसे पनि हुने दलहरु एकाध मन्त्रालयको लोभमा सरकारलाई समर्थन गरेर सत्ताको र्याल काढिरहेका छन् । नेताहरु, दलहरुलाई सत्तोसराप गरेर उदाएका नयां दलका नेता पनि नसोचेको ठूलो भाग लिएर सरकारमा छन् ।
चालु आर्थिक वर्षको लागि तलब भत्ता, निवृत्तिभरण र सामाजिक सुरक्षाका लागि सरकारले रु. ४ खर्ब ४० अर्व छुट्याएको छ जुन अघिल्लो आर्थिक वर्षको विनियोजित बजेट भन्दा करीब २१ प्रतिशतले बढी हो । यो रकम चालु खर्च बजेटको ५८ प्रतिशत हो । चालु वर्ष पारिश्रमिक र सुविधाको बजेट ३१ प्रतिशतले बढाइएको छ भने सामाजिक सुरक्षा भत्ताको लागि मात्र रु. १३२ अर्व विनियोजन गरिएको छ ।
पछिल्लो ५ वर्षमा सार्वजनिक ऋणको अंश कुल गार्हस्थ्य उत्पादनको २३ प्रतिशतबाट बढेर ४१ प्रतिशत पुगेको छ अर्थात रु. ७ अर्वबाट करीब ३ गुणा बढेर रु. २० अर्व पुगेको छ । यसले गर्दा वर्षेनी ऋणको साँवा ब्याज भुक्तानीमा पनि उल्लेख्य बजेट छुट्याउनु पर्ने भएको छ । चालु आर्थिक वर्षको मंसिर महिनासम्म सरकारको राजस्व परिचालन गत वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले घटेर रु. ३२७ अर्व रहेको छ । सोही अवधिमा सरकारको कुल खर्च १२ प्रतिशतले बढेर रु. ४ खर्ब ३५ अर्ब भएको छ ।
केन्द्रीय सरकारले लामो समयपछि नेपाल राष्ट्र बैंकबाट अधिविकर्ष लिनु परेको स्थिति छ । यसरी सरकार अहिले खर्चको लागि वित्तीय स्रोत व्यवस्थापनको दवावमा परेको छ ।
यसरी हेर्दा मुलुकको अर्थतन्त्र ऋणात्मक र निकै खराब छ । यस्तो अवस्थामा केन्द्रदेखि प्रदेश सम्मका सांसद मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले लिने पारिश्रमिक,भत्ता, गाडी,इन्धन,आवास,उपचार लगायत विभिन्न शिर्षकका सुविधामा पुनर्विचार गर्नैपर्दछ । आर्थिक अवस्था कमजोर भएका जनप्रतिनिधिले तलब र सुविधा लिनु जायज भएपनि घरमा आयस्रोत राम्रो भएका सम्पन्न जनप्रतिनिधिको सेवा सुविधा कम्तीमा आधा घटाउनुपर्छ ।
अझ जनताको करबाट पाएको तलब सुविधा पार्टीले लेबी लिने परिपाटी अन्त्य गर्नैपर्दछ । स्वच्छ राजनीति गर्ने हो भने मन्त्री, सांसद,जनप्रतिनिधिले कार्यकर्तालाई पैसा खर्च गरेर राजनीतिमा टिकिराख्छु भन्ने सोंच त्याग्नै पर्छ । मुलुकको अर्थतन्त्र अहिले चरम संकटमा छ । केही सीमित वाहेक आम उद्योगी व्यवसायी संकट उन्मुख छन् । यद्यपि उद्योगी व्यवसायी पनि नाफामुखी मात्रै नभई सेवामुखी, इमान्दार र पारदर्शी हुन भने उत्तिकै आवश्यक छ ।
यस्तो विषम परिस्थितिमा तीन तहका सरकारका जनप्रतिनिधिको सेवा सुविधामा वर्षेनी अर्बौं रुपैयां खर्च हुनु राजनीति नभएर एक खालको आर्थिक अपराध हो । देश समृद्ध भएछ भने, जनताको थाप्लोमा सरकारको ऋण शुन्य भएको अवस्थामा सेवा सुविधा लिउंला अहिले कम्तीमा ५ वर्ष लिन्नौं अथवा आधा मात्रै लिन्छौं भन्ने विवेक र हिम्मत जनप्रतिनिधिहरुमा कहिले आउने हो ? देश टाट पल्टेपछि ?? यदि तपाईहरुले सांच्चै देशका लागि, जनताका लागि राजनीति गरेको हो भने नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले जस्तै छिटो भन्दा छिटो सेवा सुविधा नलिने घोषणा गर्नुस् ।
अनि बल्ल तपाईहरु सांच्चै देश र जनताका लागि राजनीति गर्नुभएको रहेछ भने पत्याउंला । आर्थिक अवस्था राम्रो भएकाले पुरै र अरुले आफ्नो वास्तविक आर्थिक अवस्था अनुसार कम भन्दा कम सेवा सुविधा लिने घोषणा गर्नुभयो भने राजनीति र नेताहरुप्रति जनतामा विद्यमान नकारात्मक धारणा परिवर्तन हुनेछ । राजनीति सांच्चिकै देश र जनताका लागि हो, सेवाका लागि भन्ने पुष्टी हुनेछ ।
सांसदहरुको यस्तो घोषणाले समाजका अरु सबै पक्षलाई नैतिकवान र इमान्दार बन्न दवाव पर्छ र वाध्य पनि पार्छ । यसबाट देशको अर्बौं रुपैयां जोगिंदै जान्छ र तब मात्र देश समृद्धिको दिशामा जान्छ । नत्र जनताको करबाट उठेको राजस्व जति कर्मचारी र जनप्रतिनिधिले तलब भत्ता र नानाथरि शिर्षकबाट सुविधा लिएर ढुकुटी रित्तो पारेर समृद्ध नेपाल सुखी नेपालीको नारा र राग अलाप्ने नैतिकता तपाईहरुलाई हुंदैन । हेक्का भया ।
अन्तमा देशको खराब अर्थतन्त्रलाई मध्यनजर गरेर सांसद वापत पाउने सेवा सुविधा नलिने घोषणा कार्यान्वयन गर्नुभएका मोरङ ३ का माननीय डा. सुनिल शर्माप्रति श्रद्धापूर्वक नमन र सलाम । उहांको यो सत्कर्म संघ र प्रदेशका माननीय र स्थानीय तहका सयौं जनप्रतिनिधिले पनि अनुशरण गरुन् । त्यसो भएमा देश टाट पल्टिनबाट जोगिंदै थोरै भएपनि अर्थतन्त्रमा राहत र जनतामा नेताहरुप्रति सम्मान जाग्ने छ ।
संगसंगै तीनै तहका सरकारका जनप्रतिनिधिको सेवा सुविधा व्यापक कटौति गर्ने कानुन पनि बनाउनुस् । अन्तमा फेरि पनि प्रेमप्रसादका २५ सुझावलाई गम्भीरतापुर्वक लिएर कार्यान्वयनमा दिशामा जाऊ सरकार ।
(लेखमा उल्लेखित तथ्यांक नेपाल राष्ट्र बैंकका निर्देशक डा. प्रकाशकुमार श्रेष्ठबाट लिइएको हो ।)
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी