© २०२३
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुधवारदेखि बुटवलमा दशैं सस्तो बजार शुरु भएको छ । बुटवलको हाटबजार लाइनमा रहेको बाल मन्दिरमा पाँच दिन सम्म चल्ने दशैं बजारमा दैनिक उपभोग्य बस्तुहरू बजार मुल्य भन्दा ५० प्रतिशतसम्म छुटमा विक्रिको व्यवस्था गरिएको छ । बजार मूल्य भन्दा झण्डै २० रूपैयाँ कममा चिनी विक्रि गरिएको छ भने घिउ एक सय रूपैयाँ सस्तो रहेको छ । त्यस्तै तेल, देखि दैनिक उपभोग्य सामानमा विशेष छुट दिई विक्रि गरिएको छ ।
विभिन्न किसिमका ४० स्टल रहेको दशैं बजारमा चिनी प्रति किलोग्राम ५८ रूपैयाँ, डीडीसी घिउ प्रति किलोग्राम ८ सय १० रूपैयाँमा बिक्रि गरीएको संघका कार्यसमिति सदस्य तथा बजार संयोजक नरिश्वर पौडेलले जानकारी दिए । दशैं बजारमा घिउ प्रति किलोग्राम एक सय रूपैयाँ र खाने तेल पनि बजार मूल्य भन्दा प्रति कार्टुन ५० देखि ७० रूपैयाँ सस्तोमा बिक्रि गरिएको छ ।
नयाँ नोट साट्नेको भिड
दशैं बजारको अर्को आकर्षणको रूपमा नयाँ नोट सटही रहेको छ । नयाँ नोट साट्नेको पहिलो दिनबाटै भिड रहेको छ । संघको सस्तो दशै बजारमा आउने सर्वसाधारणले ५ हजार रूपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था मिलाइएको संघका वाणिज्य उपाध्यक्ष हरि अर्यालले बताए । दशैंमा टिका लगाउनेलाई दक्षिणा दिन नयाँ नोट प्रयोग गर्ने चलन बढ्दो छ, तर बैंकमा जाने पहुँच नभएका सर्वसाधारणलाई संघको यस कार्यले निकै सहजता भएको छ । बैंकको स्टल राखेर संघले पैसा सटहीको व्यवस्था मिलाएको छ ।
चाडपर्वका बेला बढी खपत हुने चिनिको अभाव हुने समस्यालाई मध्यनजर गरेर संघले विगतदेखि नै बजारमूल्य भन्दा सस्तो दरमा नेपाली गुणस्तरीय चिनि उपभोक्तालाई उपलब्ध गराउंदै आएको हो । संघले दशैं बजारमा करिब एक करोड नयां नोट, १० क्वीन्टल चिनी, ५ सय केजी घिउ विक्रिका लागि राख्ने गरी विक्रि शुरु गरेको जनाएको छ । यसपटकको दशैं बजारमा कम्तीमा १० हजार व्यक्तिले किनमेल गर्ने र एक करोड रूपैयाँको कारोबार हुने अपेक्षा गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले बताए । संघको मेलामा गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेर गुणस्तरीय र ब्राण्डेड सामान मात्र विक्रिका लागि राखिने संघले बताएको छ । बजारको उद्घाटन गर्दै बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले सरकारले गर्ने काम निजी क्षेत्रले आयोजना गरेर जनताको मन जित्दै आएको बताए । उनले बुटवलको बिकासका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।
दशै बजार उद्घाटन समारोहमा संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजु, वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु, महासचिव दिनेशप्रसाद श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका तेजकुमार पाठक, पत्रकार निरु गौतम, नेपाल राष्ट्र बैक सिद्धार्थनगर शाखाका मुख्य व्यवस्थापक अशोक पौडेल, लुम्विनी दुग्ध बितरण आयोजनाका बजार व्यवस्थापक आयुष अलि खाँन लगायतले दशै बजार तथा आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए । संघको दशैं बजारमा निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था छ ।