© २०२३
बुटवल २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत पाउन उनले राखेको प्रस्तावको पक्षमा २६८ सांसदहरूले समर्थन गरे ।
नेपालको संसदीय दलको इतिहासमा लगभग सबै सांसदको विश्वासको मत पाएको यो अभूतपूर्व घटना हो । उनलाई प्रतिनिधिसभामा रहेका १२ मध्ये १० दलको समर्थन प्राप्त भएको छ ।
विश्वासको मतको विपक्षमा २ सांसदले मत दिएका छन् । बैठकमा २७० सांसद उपस्थित भएकामा राष्ट्रिय जनमोर्चा र नेमकिपा का एक एक जना सांसदले मात्रै विपक्षमा मत दिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । १२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा एमालेसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।
उनी नियुक्त हुँदा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपाले पनि विश्वासको मत दिएका छन् ।