© २०२३
दाङ, ३ पुस ।
निर्वाचनमा बदर मत घटाउन दाङमा स्थानीय तहमा कार्यरत स्वास्थ्य स्वयंसेविका, कर्मचारीसमेत परिचालन गरी गाउँगाउँमा मतदाता शिक्षा प्रदान गरिएको भए पनि त्यसको प्रतिफल देखिएको छैन । दाङ जिल्लामा २०७४ सालको आम निर्वाचनमा ५.९ प्रतिशत मत बदर भएकोमा २०७९ को आम निर्वाचनमा ५.९२ प्रतिशत मत बदर भएको छ ।
यसको एउटा अज्ञानता रहेको पाइएको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ का टिम्मल चौधरीले समानुपातिकको मत पत्रमा दुइवटा चिन्हमा स्वस्तिक छाप लगाएको बताए । मतदान सकेर आउदै गर्दा बाटोमा भेट भएका साथीले दुईवटा चिन्हमा छाप लगाउनु हुँदैनथ्यो भन्दा मात्रै उनलाई आफूले दिएको मत बदर हुने रहेछ भन्ने लाग्यो ।
घोराही उपमहानगरपालिका–१३ का रामसुरज चौधरीले स्वस्तिक छापका ठाउँमा औंठा छाप लगाए । मतदान सकेर घरमा आएपछि छोराले हातमा मसी लागेको देखेर सोधखोज गर्दा उनले औंठा छाप लगाएको थाहा भयो । मतदान गर्ने तरिका नजान्दा वा तरिका नपु¥याउँदा मत बदर धेरै भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ का गणेश थापाले पहिलो पटक मतदान गरे । उनलाई चार वटा मतपत्र किन बनाइएको हो भन्ने कुरा थाहा थिएन । उनले अताल्लिएर प्रदेशसभाको मतपत्रमा दुई पटक छाप लगाएको बताए ।
उम्मेदवारहरु चुनावी गीत बजाउँदै कुँदे पनि मत हाल्ने तरिका बताउन उनीहरुले ध्यान नदिएको घोराही –६ का गीता शर्मा बताउँछिन् । मतदाताको घरमा आएर मतदाता शिक्षाको बारेमा जानकारी नदिएको उनको गुनासो छ ।
मतदान अधिकृतका गल्तीले गर्दा पनि मत बदर भएका छन् । दाङ निर्वाचन क्षेत्र नम्वर २ को बंगलाचुली गाउँपालिकामा रहेका केही मतदान केन्द्र र घोराहीमा रहेका केही मतदान केन्द्रका ८८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर थिएन । मतगणना गर्दा तीे मत बदर गरिए । यसबारेमा सर्वदलीय बैठक बसेर सम्बन्धित मतदान अधिकृतमाथि छानबिन गरी कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरी पठाइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।
यो पटक पनि संघ र प्रदेश सभाको मतदान एकैपटक भएकाले मतदातालाई चारवटा मतपत्रमा मतदान गर्ने तरिका बताउन धेरै समय लागेको कुरा मतदाता शिक्षा दिन खटिएकी स्वास्थ्य स्वयंसेविका सिता अधिकारीले बताइन् । “थोरै समयमा धेरै मतदातालाई शिक्षा दिनुपर्ने भएकाले सबैका घर घरमा पुग्न सकिएन”–उनले भनिन् । गाउँ घर, चौतारी, सार्बजनिक स्थलमा नागरिक भेला पारेर यसबारे बताएको उनले बताइन् । “धेरै मत बदर भएको संख्या सुन्दा अचम्म लाग्यो”, उनले भनिन् ।
यस पटकको निर्वाचनमा पनि अघिल्लो निर्वाचनमा जस्तै प्रदेश सभा र प्रतिनिधि सभाका लागि चार वटा बेग्ला बेग्लै मत पत्रमा मतदान गर्नुपथ्र्याे । स्थानीय तहको निर्वाचनमा एउटा मात्र मतपत्र थियो । त्यसमा मेयर, उपमेयर, वडाअध्यक्ष, वडासदस्य गरी धेरै लहरमा मतदान गर्नुपथ्र्याे । वडासदस्यको लहरमा त धेरै ठाउँमा चिन्ह लगाउनुपथ्र्याे । अहिलेको निर्वाचनमा चारवटा मतपत्र भएकाले मतदता अलमलमा परेको प्रदेश निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीले बताए ।
निर्वाचन आयोगले विगतका चुनावमा निर्वाचन कार्यालयले मतदाता शिक्षा दिन स्थानीय शिक्षक, सामाजिक संघसंस्थाका कर्मचारी र बालविकास केन्द्रका सहयोगी कार्यकर्ता खटाउने गरेको भए पनि यस पटक मतदाता शिक्षा दिन सिमित जनशक्ति खटाएपछि मत बदरको संख्या बढेको स्थानीयको भनाई छ । स्वस्थ दलीय प्रतिस्पर्धा हुँदा एकै लहरमा भोट हाल्न सहज हुने भए पनि गठबन्धन र तालमेल गरेकाले मतदाता शिक्षाबिनै मतदान गर्दा धेरैजसो मत बदर बढेको आम नागरिक बताउँछन् ।
लुम्बिनी प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार दाङ जिल्लाको २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ५.९२ प्रतिशत मत बदर भएको छ । प्रदेश सभाको ४.७७ मत बदर भएको छ । प्रदेशसभा भन्दा प्रतिनिधि सभाको १.१५ प्रतिशत धेरै मत बदर भएको छ । “धेरै मतपत्रमा औंठा छाप लगाएको र एक चिन्हमा मतदान गर्नु पर्नेमा दुई चिन्हमा मतदान गरेको भेटियो”–उनले भने ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा सबैभन्दा धेरै रोल्पा जिल्लामा ७.९२ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम पाल्पा जिल्लामा २.६६ प्रतिशत मत बदर भएको छ । धेरै मत वदर हुने जिल्लाहरुमा रोल्पा, बर्दिया, नवलपरासी पश्चिम, दाङ, रुपन्देही, कपिलबस्तु, बाँके र प्युठान गरी ८ जिल्ला छन् भने यो भन्दा कम मत बदर हुने जिल्लाहरुमा पाल्पा, गुल्मी, अर्घाखाची र रुकुम पूर्व गरी ४ जिल्ला छन । प्रदेशसभा र प्रतिनिधि सभाको समानुपातिक तर्फ ७.२३ प्रतिशत मत बदर भएको छ । निर्वाचनमा समानुपातिक तर्फ कुल खसेको २० लाख ३४ हजार १ सय ६ मत मध्ये १ लाख ४७ हजार २८ मत बदर प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
आम निर्वाचन २०७९ मा मत बदर हुनुमा पुराना पार्टी प्रति जनताको आक्रोशका कारण जथाभावी मतदान गरेकाले बदर मत धेरै भएको नेकपा एमाले दाङ जिल्ला सचिव मनोहर बुढाथोकी बताउँछन् । निर्वाचन आयोगले मतदान शिक्षा नदिएका कारण बढी मत बदर भएको उनको तर्क छ ।
नेपाली काङ्ग्रेस दाङका सभापति शंकर डागीले निर्वाचनमा गठबन्धन भएका कारण असन्तुष्ट भएका कार्यकर्ताले एक भन्दा बढी चुनाव चिन्हमा मतदान गरेका थिए । यसो गर्दा बदर मतको संख्या धेरै भएको उनको अनुमान छ ।
२०७९ को आम निर्वाचनमा जनताले नयाँ पाटीलाई भोट दिन खोज्दा र मतदान गर्ने तरिकाको बारेमा प्रस्ट नहुदा बदर मत बढेको हो । एउटा मतपत्रमा एक छाप लगाउनुपर्नेमा दुइवटा चिन्हमा छाप लगायका कारण बदर मत संख्या धेरै भएको राजनीति जानकार धनीराम योगीको भनाइ छ ।
उनी थप्छन्, “मतदाता शिक्षा कर्मकाण्डी हुनु, मतदान स्थलमा कमचारीको कमी, चारवटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले मतदाता अलमलिएका हुन् ।” सामान्यतया निर्वाचनपूर्व प्रभावकारी मतदाता शिक्षाको अभाव, कर्मचारीको उदासिनता, राजनीतिक दलको अत्यधिक प्रचार जस्ता कुराले मतदाता अलमलमा परेका कारण मत बदरको संख्या धेरै भएको उनको भनाइ छ ।